राइनासकोट(लमजुङ)– लमजुङमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको छ । जिल्लाको पूर्वीक्षेत्रमा रहेको राइनास नगरपालिका– ९ र १० लाई जोड्ने गरी सो पदमार्गको निर्माण गरिएको हो ।
ग्रामीण पर्यटनको हब बनिरहेको लमजुङमा पर्यटकहरूलाई आकर्षणका नयाँ नयाँ आकर्षण थप गर्ने कार्य पनि एक पछि अर्को गरी निर्माण गरिएको छ । यसै क्रममा राइनास नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको सो नगरपालिकाका मेयर खड्ग गुरुङले बताउनु भयो । उहाँका अनुसार राइनास नगरपालिका– ९ मोहोरीयाकोट स्थित भक्तिपार्कदेखि वडा नं. १० प्यारजुङको प्यारजुङ भञ्ज्याङसम्म साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको हो ।
चालु आर्थिक वर्षको गौरवको योजनाको रुपमा राइनास नगरपालिका– ९ मोहोरीयाकोट र वडा नं. १० प्यारजुङले बजेट बिनियोजन गरी उक्त टे«ल तथा पदमार्ग निर्माण गरेका हुन् । सो कार्यका लागि वडा नं. ९ ले १० लाख र वडा नं. १० ले ६ लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ लागतमा टे«ल तथा पदमार्ग निर्माण गरिएको राइनास नगरपालिका १० का वडा अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । प्रचार प्रसारको अभावमा ओझेलमा परेका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको प्रवर्दन तथा संरक्षणका लागि ट्रेल तथा पदमार्ग निर्माण गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
राइनास नगरपालिका– ९ को मोहोरियाकोट स्थित भक्ति थापा पार्कदेखि, राइनासकोट तथा वडा नं. १० को पात्लेपानी, ऐतिहासिक दरबार, कोके गाउँको गोरखनाथ मन्दिर, लामा गाउँको साल्मेकोट, जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङसम्म करिव सात किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको राइनास नगरपालिका ९ का अध्यक्ष लुविन्द्र गुरुङले जानकारी दिनुभयो ।
यसलाई भक्ति पार्कबाट ठूलीपोखरी, बिजयपुर डाँडा, बगुवा, हर्राबोट हुंदै धर्मनाथ धाम मस्र्याङ्दी नदी किनारसम्म तन्काउन सकिन्छ पर्यटनकर्मी एवम् समाजिक अभियन्ता कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार मध्य पहाडी लोकमार्गसंग जोडिएको र नेपालको इतिहासमा एकीकरणको शिलान्यास भएको ठाउँ, गुरु गोरखनाथले द्रव्य शाहलाई आशीर्वाद दिएको ठाउँ, भक्ति थापाको बहादुरी बापत बिर्ता पाएको ठाउँ सहित डांँडै डांँडाबाट मौसम अनुसार लालीगुंराँस, काफल, ऐलेलुका जङ्गल छिचोल्दै हिमाली दृश्य सहितको यो ट्रेक साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थल रहेका छन् । उहाँले भन्नुभयो, ‘प्यारजुङ भञ्ज्याङबाट, दूधपोखरी गाउँपालिकाको प्रवेश नाका गौंडा हुँदै जोर्ने, इलमपोखरी, दोर्दी गाउँपालिकाको लिपे निस्केर दाम्राङ पोखरी हुँदै सो गाउँपालिकाको कार्यलय रहेको स्थल नौडर हुँदै डुम्रे– बेसीशहर सडक खण्डको सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार या बेसीशहर नगरपालिका– १ को उदीपुर खण्डसम्म बढाउन सकिन्छ । ओलियाले भने, ‘त्यसरी अगाडि बढाउँदा यो पदमार्गको उत्कृष्टता अझ उच्च हुन जान्छ, प्रकृतिलाई सजाउने र भजाउने हो दोहन गर्ने होइन ।’
उक्त नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले नवनिर्मित साइकल ट्रेल तथा पदमार्गको एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो । उहाँले साइकल ट्रेल तथा पदमार्ग पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्ने विश्वास गरेको बताउँदै आउँदो वर्ष उक्त साइकल ट्रेलमा नगरपालिकाकाले प्रतियोगिताको आयोजना गर्ने समेत जानकारी दिनु भयो ।
उपप्रमुख पुष्पराज खनालले आर्थिक मेरुदण्डका रुपमा पर्यटन हो भन्ने नगरपालिकाले स्विकार गरिसकेको छ । त्यसै अनुरुप हामी योजनाबद्ध रुपमा अघि बढेका छौं खनालले जानकारी दिनुभयो ।
यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले नगरपालिकालाई कृषि, पशुपालन र पर्यटनमार्फत उठाउन सकिन्छ भन्ने विश्वास जागृत भएको बताउनु भयो । उहाँले त्यसकै लागि साइकल पर्यटन प्रवद्र्धनका लागि साइकल ट्रेल निर्माण गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘तल्लो क्षेत्रमा कृषि र पशुपालन गर्दै माथिल्लो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन जुटेका छौं ।’ राइनासकोट बाहेकका गाउँमा पनि पर्यटकीय सम्भावनाको खोजी गरी होमस्टे विस्तारका लागि पनि योजना बनाएको उहाँको भनाइ छ ।
सो अवसरमा साइकल दौड पनि गरिएको थियो । साइकल दौडको नेतृत्व गरी त्यसमा भाग लिन पोखरादेखि आउनु भएका स्थानीय युवा ध्रुव गुरुङले जिल्लामा पहिलो साइकल ट्रेल बनाएर नगरपालिकाले उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, आउँदो वर्ष नगरपालिकाले प्रतियोगिता समेत गर्ने भनेको हुँदा हामी बढी उत्साहित भएका छौं । उहाँका अनुसार आज भाग लिन आएका २२ जनामा चार जना राष्ट्रियस्तरका खेलाडी समेत छन् । यसको संरक्षण र विस्तारमा नगरपालिकाले के कति ध्यान दिन्छ, त्यसमै यसको स्थायित्वले निर्भर गर्छ गुरुङले उल्लेख गर्नुभयो ।
राइनासकोटमा भूकम्पले भत्काएको घर पुनर्निर्माण गरी १४ घरमा होमस्टे सञ्चालन गरिएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार १६:३० गते