काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का श्रीमती सीता दाहाल उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ । अस्वस्थ्य भएपछि उहाँलाई नर्भिक अस्पतालमा जेठ २९ गते भर्ना गरिएको हो ।
स्वास्थ्यमा सामान्य खराबी देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार उहाँलाई आज दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उहाँलाई नियमित जाँचका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जनाएको छ । सो स्रोतका अनुसार उहाँको ‘जाँच चलिरहेको छ ।’
उहाँ लामो समयदेखि लगभग अचेत अवस्थामा रहनु भएको बताइन्छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो ।
प्रधानमन्त्री पत्नी सीता दाहाल लामो समयदेखि जटिल प्रकारको रोग पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित हुँदै आउनु भएको छ ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित उहाँ छोरा प्रकाशको निधनपछि झनै कमजोर हुनु भएको छ ।
चिकित्सकका अनुसार यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरूमा यो समस्या बढी देखिने गर्छ । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने हुन्छ ।
नर्भिक अस्पतालले सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको छ । थप जानकारी औपचारिक रुपमा गराइने अस्पताल प्रशासनको भनाइ छ ।
प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार १९:५२ गते