
भूलभूले(लमजुङ)– वातावरण संरक्षणका लागि विशेष ठोस र योजनावद्ध काम गर्दै आएको मर्स्याङदी गाउँपालिकाले अर्को ऐतिहासिक निर्णय गरेको छ । सो पालिकाले पालिका क्षेत्रमा वातावरण प्रदुषण गर्ने प्लास्टिकका प्लेट, ग्लास र चम्चा प्रयोगमा पूर्ण रुपमा निषेधको घोषणा गरेको जेठ ३२ गते सूचना जारी गर्दै जानकारी दिएसँगै त्यस्तो खुलासा भएको हो ।
मर्स्याङदी गाउँपालिकाको गाउँकार्यपालिका बैठकले नै निर्णय गरी पालिका क्षेत्र भित्र प्लास्टिकका प्लेट, ग्लास र चम्चा प्रयोगमा पूर्ण रुपमा निषेध गरेको हो । गाउँपालिकाले सुरु गरेको सफा मर्स्याङदी अभियान अभियानलाई थप टेवा पुर्याउने उद्देश्यले त्यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार ‘वातावरणका क्षेत्रमा नयाँ आयाम थपौं– गाउँपालिकालाई सफा स्वच्छ हराभर बनाऔं ।’ भन्ने अर्को नारा थप गरेर मर्स्याङदी सफा अभियान अघि बढाइएको छ । उहाँले भन्नुभयो, ‘हामी पालिकामा प्लाष्टिक जन्य वस्तुहरूको न्यूनीकरण गर्दै लग्छौं, तत्कालका लागि टुना, टपरी, स्टिलको भाडाले काम चाउन सकिने भएको हुँदा प्लाष्टिकका प्लेट, ग्लास र चम्चाको प्रयोगमा निषेध गर्ने निर्णय गरिएको हो ।’
यही जेठ २५ गतेका दिन बसेको गाउँकार्यपालिका बैठकको निर्णय नं– ८ मा त्यस्तो निर्णय गरिएको मर्स्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताउनु भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ३२, बिहीबार १४:१७ गते