काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको एकतर्फी बहस सकिएर अन्तिम चरणमा पुगेको छ । हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जेठ २१ सुरु भइ ३२ गते एकतर्फी बहस सकिएको हो ।
सो प्रकरणको मुद्दाको सुरुमा सरकारी वकिलको तर्फबाट भएको थियो । त्यसपछि १८ जना प्रतिवादीको तर्फबाट भएको लामो बहस आज सम्पन्न भएको हो । सो बहसमा सबैभन्दा धेरै वकिलहरूको लाम बालकृष्ण खाणको पक्षमा देखियो ।
सो मुद्दाको प्रतिवादमा भोलि प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरूमाथि केन्द्रित रहेर सरकारी वकिलहरू ४ जनाले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई आदेश दिइसक्नु भएको छ । त्यसपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश भोलि नै आउने अपेक्षा छ ।
जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । उक्त प्रकरणमा रु २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ ।
उक्त घटनामा संलग्न भनिएकाहरू विरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेको दावी गरिएको छ । जसमा ३० जना प्रतिवादी छन् ।
उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् । १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल समेत छन् ।
इजलासमा टेकनाथ रिजाल : भावुक बहस थालेर अन्तिममा झोक्किए
यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले इजलासमा आफू दोषी नभएको जिकिर गरे । उनको पक्षमा १० जना वकिलले बहस गरेका थिए । त्यसपछि पनि उनी आफै बहसमा उत्रिएका रिजालले आफू भुटानको नरकीय जेलबाट ज्यूँदो निस्किन सफल व्यक्ति भएको दावी गरे । उनले भने, ‘म भुटानको जेलबाट ज्यूँदो निस्केको मान्छे हो श्रीमान् । एकाएक पक्राउ गरेर मलाई बोरामा कोचेर त्यहाँको जेलमा हाले । त्यहाँबाट बाँचेर आएको हुँ, मैले कसैको एक पैसा खाएको छैन ।’
उनले थप भने, ‘भुटानी राजाले यस्तो यन्त्र लगाए, त्यो यन्त्रले मलाई जहाँ जाँदा पनि छाड्दैन, मैले कसैको एक पैसा खाएको छैन । बरु मलाई नेपालले राजनीतिक शरण दिएर गुन लगाएको छ ।’
रिजालले भने भुटानी शरणार्थी प्रकरणमा चलखेल हुँदैछ भनेर आफूले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको जिकिर गर्दै भुटानी नेपाली भाषीले निकै सास्ती पाएको बताए । तर, देउवा ‘ती व्यक्ति ठग हुन् भनेर त्यसै चुपचाप’ बसेको उनले आरोप लगाए । अघिसम्म इजलासमा भावुक बनेका रिजालले एकाएक आक्रोशित हुँदै भने, ‘देउवा किन किन चुप लागेर बसे ? देउवाले हामीलाई न्याय दिनका लागि भुटानसँग वार्ता गर्छु भने । तर खै ?’
अहिले पनि आफू छ हजार भुटानीको बीचमा रहेको भन्दै त्यही भुटानी देखाएर कतिपयले अनेक प्रपञ्च रचिरहेको बताए । आफूलाई सरकारी वकिलले बयान लिने क्रममा औँला उठाएको भन्दै इजलासमा उनी थप जंगिए ।
उनका वकिलहरूले उनी उपरको आरोप लगाइएपनि त्यसबारे कहीँ कतै पुष्टि हुन नसक्ने जिकिर गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग थियो ।
एक प्रतिवादीले रिजालले ११ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् तर त्यसको पुष्टि हुने आधार भने देखिएको छैन ।
पृथ्वी शाह पनि जोडिए : डा. स्वर्णिमले
उता, अवैध आम्दानीका कारण अनुसन्धानमा रहेका पृथ्वी शाह पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा डा. वाग्लेले देशकै छवि धुमिल पार्ने नक्कली शरणार्थी काण्डमा शाहको ‘फ्रड केस’ पनि जोडिएको दावी गर्नु भएको हो ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहँदा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ’ डा. वाग्लेले भन्नुभयो । त्यसमा अनुसन्धान हुनुपर्ने माग उहाँको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ३२, बिहीबार १८:१९ गते