
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीको लमजुङका सहसंयोजक अशोक सापकोटाले देश र प्रकृति बचाउने अभियानमा जुटेको बताउनु भएको छ । सो पार्टीको दोस्रो स्थापना दिवस एवम् पहिलो वार्षिकोत्सवका अवसरमा बृक्षारोपण कार्यक्रममा मन्तव्य राख्दै उहाँले असार १ गते त्यस्तो बताउनु भएको हो ।
सहसंयोजक सापकोटाले रोपिएका बिरुवाहरूको संरक्षण गर्ने जिम्मा स्वतस्फूर्त रूपमा स्थानीय टेकबहादुर थापा लगायत युवाहरूले लिनु भएको छ । वडा कमिटीले निरन्तर रुपमा उहाँहरूसंग समन्वय गर्नेछ । आगामी दिनमा रास्वपाका पदाधिकारीहरू, सदस्यहरू र शुभेच्छुकहरूको जन्मदिन बृक्षारोपण गरेर मनाऊने सहमति भएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा जन्मदिनमा बृक्षारोपण कार्यक्रमका अध्यक्ष वासुदेव सेढाईले जन्म दिनको पावन अवसरमा बृक्षारोपण अभियान सञ्चालन गरेकोमा रास्वपालाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले अभियानमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
यसैगरी, बास नेपालका जिल्ला अध्यक्ष लक्ष्मी धितालले बास नेपालले सुशासनका पक्षमा पैरवी गर्दै आएको बताउनु भयो । उहाँले वातावरण संरक्षण चुनौति बनिरहेको वर्तमान्मा बृक्षारोपण कार्य गर्नु सराहनीय भएको बताउनु भयो ।
यसैगरी, वरिष्ठ पत्रकार नवराज पहाडीले आफू पेशाले पत्रकार भएको र पत्रकारहरू स्वभावैले प्रकृति प्रेमी, मानव अधिकारवादी, सुशासन प्रिय, न्यायको पक्षघर र निमुखाहरू अर्थात आवाज बिहीनहरूको आवाज भएको उल्लेख गर्नु भयो । उहाँले रास्वपा र आफ्नो स्वभाव र कार्यशैली मिलेको हुँदा आफू पनि यो अभियानमा सँगै भएको बताउनु भयो ।
सो कार्यक्रमका अध्यक्ष एवम् बेसीशहर नगर सभापति कृष्णबहादुर राउतले विरुवा हुर्किएपछि तिनले दिने फल जस्तै रास्वपाले पनि देश र आम सर्वसाधारण नागरिकका लागि मीठो फल दिने छ भन्दै बृक्षरोपणमा सहभागी सबै प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
सो अवसरमा ८५ वर्षीय जेष्ठ नागरिक टुकमान थापाले बेलको विरुवा रोपण गरी उक्त कार्यक्रमको थालनी गर्नु भएको थियो । उहाँले नयाँ पार्टीको भविष्य राम्रो देखेको छु त्यसैले म पनि यसैको साथमा छु मेरो आशीर्वाद छ भन्नुभयो ।
सो अवसरमा रास्वपाको बेसीशहर नगर समितिको आयोजनामा नगरसभापति कृष्णबहादुर राउतको नेतृत्वमा बृक्षारोपण गरिएको हो । सो कार्य बेसीशहर नगरपालिका– २ को कोकले(कल्यण) डाँडा स्थित कालिका मन्दिर परिसरमा भोलिका दिनमा विरुवा हुर्काएर जंगल बनाउने उद्देश्यका साथ बृक्षारोपण गरिएको नगर सभापति राउतले बताउनु भयो । उहाँका अनुसार उक्त बृक्षारोपण कार्यक्रममा बेल, बर, पिपल, जामुन, अम्बा, मेङ्गोस्टेक, कागति, आँप लगायतका विरुवा रोपण गरिएको छ ।
विरुवाका साथमा असारे, गुलाफ, खुर्साने फूलका विरुवा करिब एक सय रोपण गरिएको बेसीशहर नगरसमितिका कोषाध्यक्ष रञ्जना तिवारी क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा रास्वपाका बेसीशहर नगरपालिका– २ तथा ६ का वडा समितिका पदाधिकारीहरू ७ का संयोजक राजकुमार घिमिरे, ८ ध्रुव ढकाल र ९ का वडा संयोजक सहितका पदाधिकारी तथा सदस्यहरू र शुभचिन्तकहरूको सहभागिता थियो ।
सुन्दरबजारमा सो नगरका सभापती श्याम के.सी.को संयोजनमा, मर्स्याङ्दी गाउँपालिका– ८ को लाम्पाटामा सो दलका गाउँ समितिका सचिव चन्द्रप्रसाद घिमिरेको संयोजनमा बिरुवा रोपण :
यसैगरी, सोही पार्टीको सुन्दरबजारमा सो नगरका सभापती श्याम के.सी.को संयोजनमा वार्ड नं– ९ को फूलबारी फुटबल खेल मैदानको प्राङ्गणमा मेङ्गोस्टेक लगायत बिरुवा रोप्ने काम भएको छ ।
त्यस्तै, मर्स्याङ्दी गाउँपालिका– ८ को लाम्पाटामा सो दलका गाउँ समितिका सचिव चन्द्रप्रसाद घिमिरेको संयोजनमा एक सय बिरुवा रोप्ने काम भएको जिल्ला सहसंयोजक सापकोटाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८० असार १, शुक्रबार २१:२२ गते