काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा आजदेखि रोक लगाउने भएको छ । महानगरका मेयर बालेन शाहले महानगरका सिनेमा हलमा आज आसर ४ गतेदेखि हिन्दी सिनेमा चल्न नदिने जानकारी दिनु भएको हो ।
भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनाएको हो । यसअघि महानगरका मेयर बालेन साहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिनु भएको थियो ।
मेयर बालेनले नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै भारतीय सिनेमा चल्न नदिने स्पष्ट्याउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ, उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सिनेमाको सुरु दृश्यमै देखिन्छ– ‘यो कथा कसैको जीवनसँग मेल खान गएमा संयोग मानिन्छ ।’ ‘आदिपुरुष’ माथि नेपालमा यति बेला चर्को बहस भइरहेको छ । त्यस सिनेमामा ‘सीता’बारे प्रयुक्त संवादलाई नेपाली दर्शक र सार्वजनिक वृत्तले संयोग मात्रै मान्न सकिरहेको छैन ।
रामायणबाट प्रभावित भनिएको उक्त फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले आजतकसँगको अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको विवादित बयान दिएपछि त परिस्थिति झन् गिजोलिन गएको हो ।
भारतीय संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा काठमाडौंले व्यक्त गरेको असन्तुष्टिको बाछिटा फिल्म ‘आदिपुरुष’ प्रकरणसम्म परेको हो । काठमाडौं मेयर बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि माहोल गर्माउन पुगेको थियो । भारतीय मिडियाले समेत सो विवादलाई भारत भर्सेस बालेन विवाद अर्थ लाग्ने गरी देखाइरहेका छन् । भारतका सोसल मिडिया प्रयोगकर्तामा बालेन नाम ट्रेन्डिङ भइरहेको छ ।
बालेनको काममा सत्ता र प्रतिपक्षमा रहेका ठूला पार्टीकै कतिपय कार्यकर्ताले सही थापिरहँदा नेतृत्व भने उहाँको कार्यशैलीमा उत्तेजना देखिएको दाबी गर्छ । जबकि विगतमा एमाले कार्यकर्ताहरूले रंगिला सिनेमा नेपालमा देखाउन रोक लगाउनु पर्ने माग राखेका थिए । माओवादीले भने युद्ध थाल्ने बेला भारतीय सिनेमा, हिन्दी गीत आदिलाई नेपालमा प्रतिबन्ध लगाउनु पर्ने लगायत माग नै राखेर त्यो आन्दोलनको घोषणा गरेको थियो । संयोग नै मानौं, त्यही माओवादी यतिबेला संघीय सरकारको नेतृत्वमा रहेका बेला स्थानीय सरकारका मेयरसँग यो विषयलाई लिएर नरम टकरावसहित दृश्यमा देखा परेको छ ।
निर्देशक निर्माता नवल खड्काले आदिपुरुष लेखक तथा गीतकार मुन्तशिरको अभिव्यक्तिका बारेमा प्रतिक्रिया दिदै भन्नुभएको छ, ‘भारतीय शासक र तिनका समर्थकले नेपालको स्वतन्त्रता र सार्वभौमिकता विरोधी गराइ र भनाइका विरुद्ध सरकारले तुरुन्त ‘आदिपुरुष’ र भारतीय चलचित्रहरूको प्रदर्शन रोकी भारत सरकारसँग आफ्नो अडान स्पष्ट गरोस् ।’
संवाद फेर्ने संकेत ः
उता, ‘आदिपुरुष’ चलचित्रमा संवादका लेखक मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८० असार ४, सोमबार ०६:५७ गते