
भोटेओडार(लमजुङ)– सिर्जनात्मक साकोसद्वारा युटुभको गत जेठ ३० गते प्रकाशित समाचार भ्रामक र कपोलकल्पित भएको हुँदा भ्रममा नपर्न आफ्ना सेयरधनीहरूमा आग्रह गरिएको छ । उक्त साकोसका अध्यक्ष रामजी कँडेल र सचिव मेनबहादुर घलेले संयुक्त रुपमा दस्तखत गरी जारी गर्नु भएको प्रेस विज्ञप्तिमार्फत असार ४ गते त्यस्तो जानकारी दिइएको हो ।
यो संस्था यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी र शुभचिन्तकहरूको प्रयासबाट २०५३ सालमा स्थापना गरिएको हो । यो संस्था यस क्षेत्रका आम जनाताको आर्थिक उन्नती, प्रगति र सम्वृद्धि गराउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको र हाल करिव पाँच हजार शेयर सदस्यहरूको ढुकढुकी बन्न सफल भएको यहाँहरूको माझ जग जाहेर छ भन्दै उहाँहरूले वर्तमान सञ्चालक समितिले संस्थागत सुशासन र पारदर्शितामा विशेष जोड दिदै साकोसलाई जिल्लाकै अग्रणी संस्था बनाउने प्रयास गर्दै आएको यहाँहरू माझ स्पष्ट गराउँदछौं भन्नुभएको छ ।
सो समाचार उक्त सकोसबाट एक लाख रुपैयाँ ऋण लिएर नतिर्ने नियत चेक समेत बाउन्स गरी राखेका स्थानीय विद्यालयमा शिक्षक समेत रहेका एक व्यक्तिको कथित प्रयासबाट सो साकोसका बारेमा जिल्लामा कार्यरत पत्रकारहरूलाई समेत भन्नेसम्म हिम्मन नगरी बाह्य जिल्लाका पत्रकारलाई दमौलीदेखि कार भाडामा लिई ल्याएर होटलमा राखेर गलत कुरा पढाएर संस्थाको बदनाम गर्ने नियतका साथ गरिएको सो साकोसका एक अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् । ती अधिकारीका अनुसार भोटेओडारको होटलमा ती पत्रकारले खाएको खाना खाजा आदिको पैसासमेत यो समाचार तयार गर्दासम्म तिर्ने काम गरिएको छैन । यसबाट पनि उक्त समाचार के कति कसरी प्रयोजित गरिएको हो भन्ने थप पुष्टि हुन आएको ती अधिकारीको दावी छ ।
सो साकोसका अध्यक्ष कँडेल र सचिव घलेद्वारा जारी दुई पेज लामो विज्ञप्तिको पूर्ण पाठ– तनहुँको दमौली बस्ने पत्रकार अमरराज नहर्कीको व्यक्तिगत यूट्युव च्यानलबाट सुन्दरबजार नगरपालिका– ९ स्थित यस सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लि.का बारेमा प्रशारित समाचारप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त समाचार पूर्ण रुपमा भ्रामक र कपोकल्पित रहेको सम्पूूर्ण शेयर सदस्यलगायत सरोकारवाला सबैमा अवगत गराउँदै भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं ।
अग्रजहरूले जुन उद्देश्यका साथ खोलिएको थियो त्यो उद्देश्य प्राप्त गर्न वर्तमान सञ्चालक समिति कटिवद्ध भएर लागेको सहर्ष जानकारी गराउँदछौ । हालसम्म यस सहकारीमा आवद्ध भएका शेयर सदस्यहरूले आफ्नो दुःख सुखको अभिभावकको रुपमा स्वीकार गरी यस संस्थाको विकासमा महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ । जिल्लाकै उत्कृष्ट सहकारीहरूको रुपमा उभ्याउदै महत्वपूर्ण योगदान दिनुहुने आम शेयर सदस्य लगायत शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्तगर्दछौं । मुलुकमा फैलिएको कोभिड– १९ प्रभाव वर्तमान परिस्थितिमा मुलकमा देखिएको आर्थिक मन्दीको समयमा समेत संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको छिपेका छैन, वर्तमान सञ्चालक समितिले संस्थागत सुशासन र पारदर्शितामा विशेष जोड दिदै साकोसलाई जिल्लाकै अग्रणी संस्था बनाउने प्रयास गर्दै आएको यहाँहरू माझ स्पष्ट गराउँदछौं । तर संस्थाको हित नचाहने केही व्यक्तिहरूको मिलेमतोमा गत जेठ ३० गते अमरराज नहर्कीको यूट्यूव मिडियाबाट प्रशारित भ्रामक समाचारलाई बुँदागत रुपमा स्पष्ट गराउँदछौं ।
– ऋषिराम अधिकारीको चरित्रहत्या हुने गरी २५ लाख रुपैयाँ ऋण लिएको भनिएको झुटो भएको र धितो जमानत, शेयर र वचतको कारोवारको आधारमा संस्थाको नियम अनुसार निजलाई ऋण लगानी गरिएको छ ।
– तीन करोड रुपैयाँ नाफा गरी ६५ लाख रुपैयाँमात्र नाफा देखाएको भन्ने पनि सत्य नभई वास्तविक नाफा दुई करोड ४८ लाख ८९ हजार ५११ रुपैयाँ भएको संस्थाको लेखापरीक्षण प्रतिवेदनले पुष्टि गरेको समेत शेयर सदस्यरूले साधारण सभा मार्फत प्राप्त प्रतिवेदनबाट जानकारी गराइएको ।
– अडिट रिपोर्टमा सि.ए.ले हस्ताक्षर नगरेको भन्ने आरोपमा सत्यता नभएको र साधारण सभाबाटै रजिष्टर्ड अडिटरबाट गर्ने निर्णय बमोजिम अडिट गरिएको ।
– सुमिता कडेलको नाममा ऋण प्रवाह सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुसार प्रक्रिया पुरा गरी ऋण लगानी गरिएको ।
– चितवनको जग्गा लिएको सम्बन्धमा १० लाख रुपैयाँमा किनेर २६ लाख रुपैयाँ लिई समितिले नाफा खाएको भन्ने आरोप तथ्यहीन भएको र डुब्न लागेको ऋण अशुली गर्नको लागि प्रति गठ्ठा २६ लाख रुपैयाँका दरले किनिएको जानकारी गराउँदछौं ।
अन्त्यमा,
यस संस्थाको हित नचाहने, व्यक्तिगत स्वार्थबाट प्रेरित, कही खराव ऋणीहरूको मिलेमतोमा यो समाचार यूट्यूव च्यानलबाट प्रसारण गरेको स्वयम् पत्रकारबाट समेत खुल्न आएको र विभिन्न तथ्यहरू समेत संकलन भएको यहाँहरूको माझमा जानकारी गराउदै, हामी सबैको साझा संस्था यस सहकारीलाई अझ थप मजवुत बनाई सहज र सरल रुपमा सेवाप्रवाह गरी नमुना सहकारी बनाउन हामी सबैको दायित्व भएकोले यस्तो भ्रामक समाचारहरूको पछाडि नलागी सत्य तथ्य बुझ्न संस्थाका आधिकारिक अधिकारीहरूसंग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । साथै यहाँहरूको बचत र शेयर रकम पूर्ण रुपमा सुरक्षित रहेको र राख्ने सम्पूर्ण जिम्मेवारी संस्था र सञ्चालक समिति लिन प्रतिवद्ध रहेकोले सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला सवैमा ढुक्क भई कारोवार गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
प्रकाशित मिति २०८० असार ५, मंगलवार १५:३० गते