लमजुङमा पर्यटन प्रवर्द्धनसँगै ओखर र स्याउको व्यवसायिक खेती सुरु

लमजुङमा पर्यटन प्रवर्द्धनसँगै ओखर र स्याउको व्यवसायिक खेती सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ६ गते बुधबार ११:३८

‘हामी उत्साहित छौं, त्यहाँको सम्भावना देखेर, लगानी गरेकोमा कुनै पछुतो छैन ।’ लगानी अनुसारको आशातित प्रतिफल पनि कसो नपाइएला ? उहाँहरूले प्रतिप्रश्न गर्नु भयो ।

करोड लगानी, वार्षिक ६० लाख आम्दानी गर्ने लक्ष्य

धिचे(लमजुङ)– लमजुङमा नगदेबालीका रुपमा ओखर, स्याउ र टिमुरको व्यवसायिक खेती सुरु भएको छ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि जुटिरहेका चार जना युवाले संयुक्त रुपमा त्यस्तो कार्यको थालनी गर्नु भएको हो । ओखर, स्याउ र टिमुरको व्यवसायिक बगैंचा प्रवर्द्धनका लागि करिब एक करोड लगानी गरिएको र ती विरुवाले फूलफेजमा उत्पादन दिन थालेपछि बार्षिक ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ ।
लमजुङको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ४ को घिचे लेकमा ओखर र स्याउ मात्र हैन टिमुरको समेत व्यवसायिक खेती थालिएको छ । दोर्दी गाउँपालिकाको अध्यक्ष समेत रहनु भएका युवराज अधिकारीको नेतृत्वमा अन्य युवाहरू राजेन्द्र वस्ती, श्याम बराली र राम पाण्डेले संयुक्त लगानीमा ७५ रोपनी जग्गा खरिद गरेर ओखर, स्याउ र टिमुरको समेत व्यवसायिक खेतीको थालनी गर्नु भएको हो ।
दाम्राङ एग्री इको टुरिजम प्रा. लि. नामको संस्था गत वर्ष दर्ता गरेरै सो संस्थामार्फत उहाँहरूले जिल्लामा पहिलो पटक ओखर र स्याउको व्यवसायिक खेतीको थालनी गर्नु भएका हो । लमजुङमा टिमुरको भने ठूलो स्केलमा नभए पनि विभिन्न गाउँमा परम्पारगत रुपमा पनि व्यवसायिक खेती गरिदै आएको थियो । अधिकारीले भन्नुभयो, ‘ओखर, स्याउ र टिमुरको बगैंचा प्रवद्र्धनका लागि करिब एक करोड लगानी गरिएको र फूलफेजमा उत्पादन भएपछि बार्षिक ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ ।’ उहाँका अनुसार लमजुङमै सम्भावना खोजौं, रोजगारी प्रवर्द्धन गरौं भन्ने उद्देश्य छ । हामीले ओखरका विरुवाबाट खरिद गरी ल्याएका हौं ।
सो खेतीका लागि आफूहरूले तत्काल करिब एक लाख रुपैया लगानी गरेको र त्यसबाट यो फार्मले फूलफेजमा उत्पादन दिन थालेपछि प्रतिवर्ष ६० लाख रुपैयाको आम्दानी हुने आंकलन गरिएको सो कम्पनीका अर्का सञ्चालन राजेन्द्र वस्तीले बताए । उनका अनुसार यसको बजारका लागि यसै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनु भयो ।
यहाँ ल्याई पु¥याउँदा दाँते ओखरका विरुवाको प्रतिगोटा दुई सय रुपैयाँ मूल्य परेको छ । त्यस्तै, स्याउ मनाङमा उत्पादित विरुवा हो, यो कृषि ज्ञान केन्द्रमार्फत हामीले निःशुल्क प्राप्त गरेका हौं उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘टिमुरका दुई सय विरुवा लमजुङकै डिभिजन वन कार्यालयले निःशुल्क उपलब्ध गराएको हो ।’
सो स्थानको बाँकी रहेको ७५ रोपनी जग्गामा रुद्रक्ष लगायत उच्च पहाडी क्षेत्रमा हुने नगदे जातका विरुवाको परीक्षण गर्ने तयारीमा रहेको वस्तीले बताउनु भयो । उहाँका अनुसार यो अवधारणा २०७० सालमा लिवर्टी हाइड्रोको जग्गा खरिदको क्रममा त्यो क्षेत्रमा जाँदा विकसित भएको हो । दाम्राङ पोखरी हेर्न गएर तर पोखरी मासिएको रहेछ । त्यहाँ यसप्रकारको खेती गरेर दाम्राङ पोखरीको पुनरोत्थान सहित नयाँ अवधारणाका साथ पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना देखेपछि हामी त्यो कार्यक्रमा जुटेका हौं वस्तीले भन्नुभयो ।
उहाँका अनुसार स्याउँ फल्न थालेको छ । यो वर्षको फूल हामीले मास्यौं, २, ४ दाना टेष्ट गर्ने हिसावले राखेका छौं, फल हातभरीको भएको छ । अब त्यो पाकेपछि स्वाद के कस्तो हुन्छ हामी चाख्छौं, चिसो हावापानी भएको हुँदा स्वाद मीठो हुनुपर्छ भन्ने हाम्रो आंकलन छ वस्तीले भन्नुभयो । उहाँका अनुसार ओखरका विरुवाले तीन वर्षमा उत्पादन दिन थाल्छ, विरुवाले उत्पादन भने पाँच वर्षमा दिन्छ । हामीले दुवैथरीका विरुवा रोपण गरेका छौं उहाँले भन्नुभयो । त्यो ठाउँ तरकारीको बीउ र मौरी पालनका लागि पनि अति उपयोगी हुन सक्ने हामीलाई लागेको छ । उहाँले थप भन्नुभयो, ‘हामी उत्साहित छौं, त्यहाँको सम्भावना देखेर, लगानी गरेकोमा कुनै पछुतो छैन ।’ लगानी अनुसारको आशातित प्रतिफल पनि कसो नपाइएला ? उहाँले प्रतिप्रश्न गर्नु भयो ।

प्रकाशित मिति २०८० असार ६, बुधबार ११:३८ गते
हजुरको प्रतिक्रिया