दोर्दीमा बन्छन् दारका विभिन्न प्रकारका उपहार योग्य वस्तुहरू

दोर्दीमा बन्छन् दारका विभिन्न प्रकारका उपहार योग्य वस्तुहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ६ गते बुधबार ०९:०३

यस्तो परम्परागत सीपको संरक्षण र प्रवद्र्धनका लागि अब गाउँपालिकाले अन्य प्रकारका मायाको चिनोहरूलाई निरुत्साहित गरी यस्ता सामग्रीलाई प्राथमिकता दिने सोचमा रहेको सोही गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो ।

यो निर्माण कला परम्परागत सीपमा आधारित

हिलेबजार(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– ८ को हिलेबजारमा दारका विभिन्न प्रकारका उपहार योग्य वस्तुहरू बन्ने गरेका छन् । त्यो परम्परागत सीपका आधारमा घरेलु उद्योगका रुपमा निर्माण गर्ने गरिएको हो ।
दार जातको एक रुखबाट ती सामग्री बन्दछन् । दोर्दी गाउँपालिका– ८ को हिलेबजार निवासी राजेन्द्र विश्वकर्माले ती सामग्री बनाउने गर्नु भएको छ । उहाँले त्यो सीप आफ्नो पारिवारिक विरासतका रुपमा पुस्तान्तरण हुँदै हस्तान्तरण गरिदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले त मेरो बा जुठे विकलाई देख्न पाइन, म दुई वर्षको हुँदा नै वित्नु भएको हो रे !’ उहाँका अनुसार ‘बा’बाट जेठो दाइ कृष्णबहादुर विकले सिक्नु भएको रहेछ । मैले उहाँसँग यो सीप सिकेको हुँ । एले दाइ बुढो ६० वर्षको हुनुभयो, आँखा देख्नु हुन्न र काम गर्न सक्नु हुन्न तर नयाँ नयाँ डिजाइन उहाँले नै हामीलाई यसरी गर भनेर सिकाउनु हुन्छ राजेन्द्रले बताउनु भयो ।
उहाँको परिवारमा पनि उहाँले मात्रै व्यवसायिक रुपमा त्यो काम गर्नु हुन्छ । अन्यमा कहिलेकाही बैनी ज्वाइँ सोमबहादुर विकले गर्नुहुन्छ उहाँले सुनाउनु भयो । काइला दाइले कहिलेकाहीँ अर्डर आयो भने र चाडबाड मनाउने खर्च चाहिदा बनाउने गर्नु हुन्छ । अरु त यो वरपरमा यस्तो काम गर्ने व्यक्ति मैले थाहा पाएको छैन राजेन्द्रले उल्लेख गर्नु भयो ।
उहाँका अनुसार दारको रुख यी सामग्री बनाउन योग्य हुनका लागि कम्तिमा २० वर्ष उमेरदेखि माथिको वर्षको हुनुपर्छ । दारको रुख जत्ति बर्ष पुरानो भयो, तीबाट बनाइएका सामग्री त्यति बढी बर्ष खप्ने÷टिक्ने हुन्छन्, ३० वर्षसम्म पुरानो रुख हामीले प्रयोग गरिरहेका छौं उहाँले अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘दारको रुखको साइज हेरेर सबैभन्दा सानो रुखलाई पाँच हजार, ठीकैको रुखलाई १० हजार रुपैयाँ र सबैभन्दा ठूलो रुखलाई १५ हजार रुपैयाँसम्ममा आफूले किन्ने गरेको राजेन्द्रले सुनाउनु भयो ।
एउटा ठेकी एकमाना(आधा लिटरको) देखि चार मानासम्मका लागि एउटै मूल्य पर्दछ । किनकि जत्ति सानो भयो उत्ती बनाउन मेहनत गर्नु पर्ने हुन्छ राजेन्द्रले भन्नुभयो । उहाँका अनुसार पाँच मुठीको पनि ठेकी बनाउन सकिन्छ तर त्यो महंगो पर्छ । ती ठेकीलाई सरदर एक हजार पाँच सय रुपैयाँ पर्ने हुन्छ । त्यसपछि, माथिको क्षमता अनुसार प्रतिमाना २५०का दरले मूल्य पर्छ उहाँले बताउनु भयो । कही दिन अघि मात्र ३६ मानाको यौटा बनाउन लागेको मेसिननै भाँच्चियो ।
बजारको समेत समस्या रहेको उहाँले सुनाउनु भयो । उहाँका अनुसार बनायो र घर गाउँ डुल्दै विक्री गर्ने हो । उहाँले भन्नु्भयो, ‘बेसीशहरको एक पसलमा तीन पटक गरेर डेढ लाख जतिको सामन लगेर छाडेको सुका पैसा पनि दिएन।, ऐले त पहिलेको ठाउँमा पसल पनि छैन । फोन पनि उठाउँदैन उहाँले दुखेसो पोख्नु भयो ।’
दारको त खेती नै गर्नु पर्छ होला नि ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘म त सुकुम्बासी हो, पोहोर सालको बाढीले बनाएको घर, मेसिन सबै लग्यो ।’ राहत पाउनु भएन ? भन्ने जिज्ञासामा ऐलेसम्म कसैले केही सहयोग गरेको छैन । २० बोरा जति चामल विभिन्न संघसंस्था, व्यक्तिबाट र प्रदेश सरकारबाट १० हजार रुपैयाँ भोलिपल्टै पाएको हो, त्यसपछि केही पाइनौं उहाँले थप सुनाउनु भयो ।
उहाँले काठका सामग्री बनाउने मेसिनलाई जडान गर्दा एक लाख खर्च भएको र त्यो पनि ऋण गरेर किनेको बताउनु भयो । उहाँको परिवारमा तीन छोरा श्रीमती र आफू रहेको जानकारी दिनुभयो । कान्छो छोरा भरखर जन्मेको र अरु दुईवटा कक्षा– ८ र ३ मा पढ्ने गर्दछन् उहाँले जानकारी दिनुभयो । उनीहरू सबैलाई उहाँकै कमाईका भरमा लालन पालन गर्ने गरिआएको बताउनु हुन्छ ।
उहाँले बनाउने सामग्रीमा दारको ठेकी बाहेक, करुवा, एकमाना १५ मुठी जाने बन्छ । यो उपहारका लागि राम्रो हुने उहाँको तर्क छ । त्यस्तै, अर्को उपहारकै लागि योग्य हुने वस्तुमा ग्लास पनि छ । ग्लासमा बिर्को भएको र नभएको हुन्छ । विर्को नभएको मूल्य पाँच सय र बिर्को भएमा आठ सय पर्दछ उहाँले भन्नुभयो । ती बाहेक पुचैं (स्थानीय रक्सी खाने भाडो), आलेपुङ (यो पनि रक्सी खाने भाडोनै हो) तर अलिक अग्लो ठेकी जस्तो हुन्छ । विवाह, मन्दिरमा चढाउने वस्तु पनि हो यो । यी सबै आफूले बनाउने गरेको उहाँले सुनाउनु भयो । आलेपुङको मूल्य पन्ध्र सयदेखि दुई हजारसम्म पर्ने उहाँको भनाइ छ । यस पेशालाई व्यवसायिक बनाउन उहाँले गत वर्ष कृष्ण हस्तकला उद्योगका नाउँमा सो उद्योगको पर्यटन तथा घरेलु कार्यालयमा दर्ता समेत गरेको बताउनु भयो । यसरी दर्ता गर्नुको उद्देश्य कतैबाट सहयोग पाइन्छ कि भन्ने उहाँको आशा पनि रहेछ तर यो समाचार तयार गर्दाका दिनसम्म कतैबाट पनि सहयोग नपाएको उहाँ बताउनु हुन्छ ।
यस्तो परम्परागत सीपको संरक्षण र प्रवद्र्धनका लागि अब गाउँपालिकाले विभिन्न कार्यक्रममा वितरण गरिने अन्य प्रकारका मायाको चिनोहरूलाई निरुत्साहित गरी यस्ता सामग्रीलाई प्राथमिकता दिने सोचमा रहेको सोही गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार आउँदो आवमा यसका लागि योजना समेत बनाउँदै छौं । उहाँले भन्नुभयो, ‘यी सामग्रीको उचित प्रचारप्रसार पनि हुन सकेको छैन । अब हामी यसलाई स्थायित्व दिनका लागि योजना बनाउँछौं ।’

प्रकाशित मिति २०८० असार ६, बुधबार २१:०३ गते
हजुरको प्रतिक्रिया