जिल्लामा फैलिदै लम्पी स्किन रोग, प्रकोपबाट ३५ चौपाया मरे ११ सय बढी प्रभावित

जिल्लामा फैलिदै लम्पी स्किन रोग, प्रकोपबाट ३५ चौपाया मरे ११ सय बढी प्रभावित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १४ गते बिहिबार ०९:३१

उक्त रोग नियन्त्रणका लागि आठवटै पालिका र पशुसेवा निर्देशनालय, गण्डकी प्रदेशसँग समन्वय गरी खोप कार्यक्रम थालिएको छ ।

रोग आठवटै पालिकामा फैलिएको छ, २० गोरू र १५ गाई मरे

बेसीशहर– लमजुङमा लम्पी स्किन रोगको प्रकोपका कारणले पशुपालक किसानलाई चिन्तित बनाएको छ । विगत केही समय यता यो रोगले पशुहरू धमाधम बिरामी पर्ने र मर्ने हुन थालेपछि किसानहरूमा चिन्ता छाएको हो । हालसम्म यस रोगका कारण ३५ वटा चौपाया मरेको तथ्यांक प्राप्त भएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।
जिल्लाका सबै स्थानीय तहमा यो रोग फैलिएको छ । जिल्लामा ११ सय भन्दा बढी पशुमा यो रोगको प्रकोप देखिएको केन्द्रका सूचना अधिकारी डा. सुनिल न्यौपानेले बताउनु भयो । उहाँका अनुसार यो रोगको प्रकोपबाट ३५ वटा पशु चौपाय मरिसकेका छन् । उहाँले भन्नुभयो, ‘लम्पी स्किन रोगबाट गोरु २० र गाई १५ वटा गाई मरिसकेका छन् ।’
जिल्लाका मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा यो रोगको प्रकोप उच्च छ विज्ञ केन्द्रका सूचना अधिकारी डा. न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मध्यनेपालमा मात्रै पाँच सय र दोर्दीमा ४५० को हाराहारीमा गाई गोरु यो रोगबाट विरामी परेका छन् । उहाँले यो रोगको प्रकोप अरु फैलिन नदिन जिल्लाभर स्थानीय तहको समन्वय र सहयोगमा पशुहरूलाई खोप लगाउने अभियान सञ्चालन गरिएको छ ।

लम्पी स्किन रोग लामखुट्टे, कीर्ना, माखा आदिको माध्यमबाट सर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यो रोगबाट १५– २० वटा भैंसी पनि विरामी परेका छन् । उहाँले भन्नुभयो, ‘तर भैंसी मरेको खबर ऐलेसम्म सुन्नु परेको छैन, गोरु बढी मर्नुको कारण ऐले खेती लगाउने मौसम, विरामी भएको बेलामा पनि जात्ने काममा प्रयोग गर्नाले हो ।’ यो रोगी पशु र निरोगी पशुलाई एउटै भकारोमा बाध्ने, एकै भाँडामा कुँडो दाना खुवाउने गर्दा रोग सर्ने डर हुन्छ । उहाँका अनुसार यो रोगको लक्षणमा उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, पशुको घाँटी, पुच्छर वरिपरीको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना साना गिर्खाहरू देखिने तथा सुन्निने, मुखबाट फिंज काड्ने, खान नसक्ने आदि हुन्छ ।
यो रोगको पहिचान भएपछि विरामी पशु चौपायको उपचारका सक्दो प्रयास गरिएको जानकारी दिदै गोरुले जोत्न नसक्ने हुने भएकाले सावधानी अपनाउनु पर्ने उहाँको सल्लाह छ । उहाँले भन्नुभयो, ‘यो रोगको मृत्युदर २ प्रतिशत मात्र रहने भएको हुँदा बढी आतिनु पर्ने अवस्था छैन । रोगले गाँजेपछि गाई भैंसीले दूध नदिने हुन्छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको मध्यनेपाल नगरपालिका नायव पशु स्वास्थ्य प्राविधिक दिपेन्द्र पौडेलले यस रोग मध्यनेपाल नगरपालिकामा नियन्त्रण बाहिर गएको प्रतीत भएको बताउनु भयो । उहाँका अनुसार मध्यनेपाल भित्र लम्पी स्किनको प्रकोपले ७ वटा गोरु, एउटा जर्सी गाई, एउटा स्थानीय जातको गाई, २ वटा बाच्छी र एउटा बाच्छो गरी १३ वटा पशु मरिसकेका छन् ।
उहाँले भन्नुभयो, ‘गत बैशाख ५ गते पहिलो पटक मध्यनेपाल नगरपालिकामा यो रोग देखिएको हो ।’ यो सरुवा रोग भएकाले कोरोनाकालमा मान्छेहरू आइशोलेनमा बसैझैँ यो रोग देखिएका पशुहरूलाई आइशोलेसनमा राख्नु बुद्धिमानी हुने केन्द्रले जनाएको छ ।
रोग नियन्त्रणका लागि भ्याक्सिन नै मुख्य उपाय रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्थानीय तह, प्रदेशको पशु स्वास्थ्य निर्देशनालय र विज्ञकेन्द्रको समन्वयमा उपचार र भ्याक्सिन लगाउने काम धमाधम भइरहेको छ ।
यो रोगको भ्याक्सिन एक मात्राको सुरुमा अभाव हुँदा २१० रुपैयाँ पनि पर्यो । ऐले १४० देखि १६५ रुपैयाँ पर्छ विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार कम्पनी अनुसारको भ्याक्सिनको दर फरक छ ।
यौटा पशुमा रोगदेखा परेपछि उपचारमा सरदर दुई हजार खर्च हुने विज्ञ केन्द्रका सूचना अधिकारी डा. न्यौपानेले बताउनु भयो । उहाँका अनुसार रोग लम्बियो, गिर्खाहरू फुट्न थाले भने खर्च बढ्न पनि सक्छ ।

प्रकाशित मिति २०८० असार १४, बिहीबार ०९:३१ गते
हजुरको प्रतिक्रिया