हाम्रो समाज संस्कृतिमा हुर्केको समाज हो । घरद्वार निर्माणदेखि लिएर खेतीपाती गर्दा पनि हामी नेपालीहरूको आ–आफ्नै संस्कृति रहेका छन् । असार १५ गते दही चिउरा खाने, साउनमा खिर खाने प्रचलन पनि हाम्रो संस्कृति भित्र कै हो । खेत रोपाई गर्दा असारे भाकाको सुरीलो स्वरमा बाजा गाजाका साथ गीत गाउदै, हातको बिउ हिलो माटोमा छुपु, छुपुको आवाजसंगै रोपाराहरूले रोप्ने पनि संस्कृति नै हो । असार १५ गते हामी नेपाली किसानहरूको दही चिउरा खाने सस्कृति अथवा चाड पनि हो । असार १५ लाई कृषकहरूले मौलिक चाडको रुपमा पनि हिलो खेल्ने, दही र चिउरा खाने परम्परा छ । बुढापाकाहरूले असार १५ गतेको दिनलाई मानु खाएर मुरी उब्जाउने दिनको रुपमा पनि लिने गर्दछन ।
तर अहिले यो संस्कृति पनि हराउँदै जान थालेको छ । शहरी क्षेत्रमा बसाइ सराइको बढदो क्रम, कृषि व्यवसायमा कम रुचि, जागिरे मनस्थितिमा युवाहअसारको सोच र यस्तै अन्य कारणले गर्दा खेती योग्य जमिनहरू बाँझो हुन थालेको छ । शहरी क्षेत्र र शहर उन्मुख क्षेत्रमा प्लटिङ व्यवसायीहरूले कृषि योग्य जमिनहरूमा खोलाका ग्रेग्रान माटो थुपारेका छन । हिजोको समयमा धान झुल्ने खेतहरू आज त्यहाँ महल ठडिएका छन । बढ्दो शहरीकरणले गर्दा कृषि क्षेत्रमा क्रमिक रुपले मानिसहरूको रुचि कम हुँदै गएको छ । कृषि क्षेत्रलाई क्रमिक रुपले जलवायु परिवर्तनले समेत ठूलो नोक्सानी पु¥याउँदै आएको छ । समयमा पानी नपर्ने, प¥यो भने त्यसले बिनास गर्ने, बेमौसमी पानी र हुरी बतासले समेत कृषकहरू मारमा पर्दै आएका छन ।
अहिले बढ्दो जनसंख्या एउटा गम्भीर समस्या बनेको छ । बढ्दो जनसंख्याका लागि खाद्यान्न आपूर्ति गर्न मानिसले विभिन्न प्रकारका रासायनिक मलहरू तथा विषालु कीटनाशकहरूको उपयोग गरिरहेको छ । राज्यले पनि त्यसको प्रचार– प्रसार गर्दै आएको छ । रासायनिक मल तथा किटनाशाकले प्रकृतिका जैविक र अजैविक पदार्थहरू बीच हुने आदान–प्रदानको चक्र इकोलोजी सिस्टमलाई प्रभावित पारेको छ । जसले गर्दा जमिनको उर्वरा शक्ति बिनास भएको छ । वातावरण प्रदूषित भएको छ, र मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पुगेको छ । यस किसिमको कुराहरूलाई कृषि क्षेत्रमा लाग्ने कृषकहरूले ख्याल गरेको पाइन्न । त्यसैगरी राज्यले समेत यस्ता कुरामा ख्याल गरेको देखिदैन । जुन कारणले आज मुलुकभरका कृषकहरू राशायनिक मलको भरमा खेती गर्न बाध्य भएका छन ।
जैविक खेतीको विधि रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन दिन्छ अर्थात जैविक खेतीले कृषकहरूको उत्पादन बढाउछ । जैविक खेतीको विधि पनि अधिक लाभदायक छ । जैविक विधिद्वारा खेती गर्नको लागि उत्पादनको लागत त कम हुन्छ नैं यसका साथै कृषकहरूलाई आय आर्जनमा फाइदा पुग्छ । जसको फलस्वरुप सामान्य उत्पादनको अपेक्षामा कृषकहरू अधिक लाभ प्राप्त गर्न सक्छन्। । बढ्दो जनसंख्या, पर्यावरण प्रदूषण र जमिनको उर्वरा शक्तिको संरक्षण एवं मानव स्वास्थ्यका लागि जैविक खेती अत्यन्त लाभदायक छ । तर यो कुरा सबै क्षेत्रका कृषकहरूलाई कृषि क्षेत्रका विज्ञहरूले र राज्यले बुझाउन नसकेको अवस्था छ ।
जैविक खेती प्रणाली प्राचिन कालसंग जोडिएको छ । प्राचीन कालमा मानव स्वास्थ्य अनुकूल हुने तथा प्राकृतिक वातावरण अनुरुप खेती गरिएको थियो । यसबाट जैविक र अजैविक पदार्थहरूका बीच आदान–प्रदानको चक्र निरन्तर चलिरहेको थियो । जुन कारणले जल, भूमि, वायु तथा वातावरण प्रदूषित हुँदैन थियो । कृषि क्षेत्रमा गाईभैंसी पाल्ने प्रचलन पनि हाम्रो समाजमा प्राचिन कालदेखि हुदै आएको हो । जसका प्रमाण हाम्रो इतिहासमा उल्लेखित गोपाल र महिषपालहरू हुन । कृषि एवं पशुपालन र वातावरणका लागि जैविक खेती प्रणाली अत्यन्त उपयोगी हुन्छ । आजभोलि कृषि क्षेत्रमा रसायनिक मल र कीटनाशकहरूको प्रयोग हुँदैछ । जसको फलस्वरुप जैविक र अजैविक पदार्थहरूका चक्रको संतुल्लन बिग्रदैं गइरहेछ, र वातावरण प्रदूषित भएर, मानव जातिका स्वास्थ्यलाई प्रभावित गर्दैछ । अब हामी रसायनिक मलहरू, विषालु कीटनाशकहरूका उपयोगका स्थानमा, जैविक मलहरू उपयोग गरेर, अधिकभन्दा अधिक उत्पादन प्राप्त गर्ने तर्फ हाम्रो सोचको बिकास हुन जरुरी छ ।
हाम्रो ग्रामीण अर्थ व्यवस्थाको मुख्य आधार कृषि छ र कृषकहरूको मुख्य आयको साधन पनि खेती हो । हरित क्रान्तिका समयदेखि बढ्दो जनसंख्यालाई हेर्दा एवं आयको दृष्टिले उत्पादन बढाउनु आवश्यक छ । अधिक उत्पादनका लागि खेतीमा अधिक मात्रामा रासायनिक उर्वरको एवं कीटनाशकको उपयोग गरि राखेका छौं । जसले गर्दा साना कृषकहरूलाई कृषिमा अत्यधिक लागत लाग्ने गरेको छ । त्यति मात्र होइन जल, भूमि, वायु र वातावरण पनि प्रदूषित भएको छ । साथै कृषिबाट उत्पादन पदार्थ पनि विषालु भइरहेका छन । जुन खाद्य पदार्थ हामीहरूले खादै आएका छौं । पछिल्लो समय हामी कहाँ व्यवसायिक खेतीको लहर सुरु भएको छ । यो राम्रो संकेत हो, शिक्षित युवाहरू, जागीरबाट रिटायर्ड भएकाहरू मात्र होइन, विदेशबाट अनुभव हाँसिल गरेर फर्केकाहरू समेत व्यवसायिक खेतीतर्फ आकर्षित भइरहेका छन । विभिन्न गैरसरकारी संस्थाको पहलमा गठन भएका विपन्न तथा महिला कृषक समूहहरूले समेत व्यवसायिक कृषिको लहर ल्याएका छन । यसबाट गाउँघरमै स्वरोजगारको सिर्जना भइरहेको छ । कृषि प्रधान मुलुक भइकन पनि तरकारी र फलफूल माथि समेत आयात गर्नु पर्ने विडम्बनापूर्ण बाध्यता कम हुँदै गइरहेको छ । साथै, थोरै भए पनि स्वदेशी मुद्रा विदेशिनबाट रोकिएको छ ।
तर जति पनि खेती भइरहेको छ, परम्परागत रुपमा मात्र भइरहेको छ । जिल्लामा भएका कृषि ज्ञान केन्द्र तथा कृषि सेवा केन्द्रहरूमा कृषि प्राविधिकहरूको उपलब्धता कमी भएको र भएकाहरूले समेत समर्पित भएर सेवा दिन नसकेको अवस्था छ । कृषि क्षेत्रमा सरकारको ठोस नीतिको अभावमा उत्पादन हुन छाडे पछि आजभोलि कृषकहरूलाई, कृषि श्रमिकहरूलाई ज्याला दिएर खेत रोपाई गर्न नसक्ने अवस्थामा कृषकहरू पुगेका छन । वैदेशिक रोजगारको लागि युवाहरू विदेश पलायन हुने क्रक बढ्दो छ । काम गर्ने युवा शक्ति गाउँघरमा नहुनाले ज्याला दिएर पनि कृषि मजदुर पाउन मुस्किल परेको छ कृषकहरूलाई । भरपर्दो बिउ र मल समयमा नपाउने र उत्पादन भएको खाद्यान्नले उचित मूल्य पाउन नसक्दा कतिपय कृषकहरू कृषि पेशा बाटनै पलायन हुदै गएका छन । युवाहरूमा कृषि कार्यलाई कामनै हैन भन्नेको सख्या बढदै गएको छ । जसले गर्दा नेपालमा गरिवी न्यूनिकरण गर्न चुनौतीपूर्ण कार्य भएको छ ।
प्रकृतीको धनी नेपाल आफैमा सवल हुँदाहँुदै पनि यहाँको शासकहरूको दुरदर्शी नीति नबन्दा कृषि क्षेत्रमा आश्रीत हुने मानिसहरू झन–झन गरिब बन्दै गएका छन । नयाँ प्रविधिको कृषि प्रणालीबाट उत्पादन लिन नसक्दा अहिले अधिकांश आफूलाई बेराजगार भन्ने युवाहरू विदेशी भूमिमा कामको लागि जान परेको छ । हामी नेपाली कृषि प्रदान देशका धनि भन्दछौं । सरकारी तथ्याकले पनि नेपालमा ६५ प्रतिशत नेपालीको मुख्य पेशा कृषिलाई देखाउछ । नेपालको यो तथ्याक हेर्दा र हाम्रो अहिलेको कृषि प्रणाली र त्यसमा आश्रीत मानिसको अवस्था हेर्दा त्यो तथ्याक नै झुटो सावित भएको छ । कृषिको आधारमा जीवन चलाउने मानिसहरूको लागि यो पेशाबाट जीवन धान्न मुस्किल भएको छ । राज्यको दीर्घकालीन भू–नीति बन्न नसक्दा हजारौं हेक्टर जमिन प्लटिङ भएका छन । शहरी क्षेत्रका मात्र नभएर ग्रामीण बस्तीका खेतीयोग्य जनिमा प्लटिङ हुदै सडक खुलेका छन । बालुवा र गिट्टी बिछाइएका छन । बाढी, पहिरोबाट बर्षेनी हजारौं हेक्टर जमिन बगरमा परिणत भएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र वरपरका कृषकले प्रत्येक बर्ष उत्पादित खाद्यान्न वन्य जन्तुरूले नोक्सानी बनाई दिएको छ । चितवन, झापा र बर्दियामा हात्ती एवं बाघले कृषकहरूको ज्यानै लिने गरेको छ । बर्षै देखि कृषकहरूले यसबारे आवाज उठाउदै आउँदा पनि राज्यले सुनुवाई गरी उनीहरूको उचित प्रवन्ध मिलाउन सकेको छैन ।
खेती गर्ने कृषकले राज्यबाट पाउनु पर्ने सुविधा पाएका छैनन् । कृषिका लागि आवश्यक पूर्वाधारहरू सिचाई, आधुनिक प्रविधिको सहयोग, मल, विउ, किटनाषक औषधी समयमा पाउन सकेका छैनन । खेतीको सिजनमा बल र बिऊको सधैं हाहाकार हुन्छ । खास कृषकसंग खेती गर्ने जमिन छैन । भूमिहिन, मुक्तकमैया र सुकुम्वासीहरूले जमिन पाउन सकेका छैनन । जो कृषक होइन उसैको नाममा जमिन छ । टाठो बाठो जमिन्दारले अझै पनि जमिन कागजी रुपमा आफ्ना नातेदारहरूको नाममा राख्दै आएका छन । भूमि सम्बन्धी द्वैत स्वामित्वको कानुनले पनि ती वर्गहरूलाई छुन सकेको छैन । यस्तो अवस्थामा राज्यले असार महिनामा धान दिवस मनाउने गरेको छ । यस्तो अवस्थामा हामी संस्कृित बचाउन भन्दै शहरको महलमा बसेर दही र चिउरा खाएर पन्घ्र असार महिनाको संस्कृति जोगाउन खाजेका छौं । कागजी योजना कृषकहरूलाई देखाएर अझै पनि सोझा कृषकहरूलाई सरकारले ढाट्ने र छल्ने काम गर्दै आएको छ ।
सरकारी तथ्याक अनुसार मुलुकको झन्डै १४ लाख हेक्टर जमीनमा धान खेती हुँदै आएको छ । तर के गर्ने यो लकडाउनको समयमा मात्र पाचँ अर्व भन्दा धेरै रकमको खाद्यान्न मुलुकमा आयात भएको छ । नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छौं ? अरु त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौं । खेती योग्य जमिन बाझो छ, खाद्यान्न परनिर्भर छ तर हामी कहाँ युवा वेरोजगारी छन् । कृषिको तथ्याक लिने हो भने कुल ३९ लाख हेक्टर खेती योग्य जमिनमध्ये १३ लाख हेक्टर बाँंझो भएको छ । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिशतमा झरेको छ । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छौं । आज हामी तरकारी, फलफूल, खाद्यान्न लगायत जिविको पार्जनका अधिकांश वस्तुको लागि छिमेकी देशमा निर्भर भएका छौं ।
कृषि पेशामा लागेका कृषकहरूको कृषि पेशामा रुचि देखिदैन । यो पेशालाई बाध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरू खेती गरेर लगानी नउठने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरू अरुको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गा धनीलाई बुझाउन बाध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हँसिया मात्र छ । बर्षमा १० दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाध्यता छ । सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बिउ, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैन । बेच्ने बजार छैन तर किन्ने बजार छ । कृषि कार्यालयमा अत्यन्त सिमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेती किसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुँचमा बितरण हुने गरेको छ । कस्तोसम्म पनि देखिएको छ भने जस्को जमिन छ तर उ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा टेक्ट्रर दिने कार्यक्रम भयो भने पहुचको भरमा उसले टेक्ट्रर पाउछ र अरुलाई बेच्दछ । कृषिको अहिलेको यो अबस्था सुधार गर्नु पर्दछ ।
कृषिलाई आधुनि प्रणालीमा लैजाने नीति लिएर राज्यले कृषि विकासको कार्यालय प्रत्येक जिल्लामा स्थापना गर्दै कृषिको छुट्टै मन्त्रालय समेत बनायो । कृषिको क्षेत्रमा अहिलेसम्मको खर्चको हिवास गर्ने हो भने खरवौं रुपैया भन्दा पनि बढी खर्च भै सकेको छ । गाँउपालिकादेखि प्रदेश हुँदै मन्त्रालयसम्म दशांै हजार कर्मचारी कृषि क्षेत्रको उत्थान गर्न राज्यले लगानी गरेको छ । खै त कृषिको प्रणालीमा सुधार हुन सकेको ? अहिलेसम्म के ग¥यो कृषि विकासका निकायले यसको जवाफ राज्यसंग छैन । उन्नत विउ विजनको नाममा स्थानीय विउ, विजन पाइन छाडेको छ । रासायनिक मलले माटोमा अम्लीयपन श्रृजना भएको छ । माटोकै कारण दुरदराजको कृषकले स्थानीय विउबाट खेती ग¥यो भने उसको उत्पादन हुँदैन । उत्पादन नभए पछि बाध्य भएर उसले उन्नत विउको खोजी गर्दै एग्रोभेट खोज्दै हिडन पर्ने भएको छ । अनि हुन्छ कृषिको विकास ?
(लेखक ः स्वतन्त्र पत्रकार संघ नेपालको निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.) स्रोत : अन्तरङ्ग ।
प्रकाशित मिति २०८० असार १५, शुक्रबार ०७:१३ गते