विद्यालय पाठ्यपुस्तकमा बालसाहित्यको अवस्था विषयक गोष्ठी

विद्यालय पाठ्यपुस्तकमा बालसाहित्यको अवस्था विषयक गोष्ठी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १५ गते शुक्रबार ०९:०३

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले आफ्नो अध्यक्षीय मन्तव्यमा पाठ्यपुस्तक लेखक एवम् सम्पादक एकातिर र बालसाहित्य लेखक अर्कोतिर हिँडिरहेको अवस्थामा एउटा मिलनबिन्दु खोज्नुपर्ने अवस्था रहेको र त्यसमा अब ढिला गर्नु हुँदैन भन्नुभयो ।

पाठ्यपुस्तकले बालबालिकालाई प्रश्न गर्नसक्ने बनाउनु पर्नेमा जोड

काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख आतिथ्यतामा सो गोष्ठी असार १५ गते यहाँ भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा गोष्ठीको उहाँे उद्घाटन गर्नुभएको हो । गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो ।
सो कार्यक्रममा उपकुलपति एवम् बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बालसाहित्य बालबालिकाका लागि बीजतत्त्व भएको बताउँदै बालबालिकालाई अघि नबढाएसम्म कुनै पनि क्षेत्रमा अघि बढ्न नसकिने धारणा राख्नुभयो । उहाँले विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण हुने पाठ्यपुस्तकको लेखन र सम्पादन उत्तिकै गम्भीर र विचार पु¥याएर गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विषयविज्ञ एवम् वरिष्ठ समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले ‘विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै पाठ्यपुस्तकले बालबालिकालाई प्रश्न गर्नसक्ने बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले आलोचनात्मक शिक्षणकलाका लागि बालसाहित्य आवश्यक पर्ने बताउँदै उहाँले पाठ्यपुस्तक लेखन र स्वतन्त्र साहित्य लेखनबीच ठूलो फरक रहेको स्पष्ट पार्नुभयो ।
अवधारणापत्रमा टिप्प्णी गर्दै समालोचक डा. शैलेन्दुप्रकाश नेपालले पूर्वीय मान्यता, विचार र परिवेश फरक रहेको परिप्रेक्षमा पाश्चात्य मान्यता, विचार र परिवेशका आधारमा मात्र हामीले हाम्रा धारणा बनाउन नहुने विचार व्यक्त गर्नुभयो । पाठ्यपुस्तकले बालबालिकाको व्यक्तित्व विकास र आत्मबल बढाउनु पर्नेमा जोड दिँदै उहाँले बालबालिकाका उपयुक्त रचना पाठ्यपुस्तकमा राख्न सकिन्छ कि सकिन्न ? भन्ने प्रश्न पनि राख्नुभयो । अर्का टिप्पणीकार नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य डा. कौशिला रिसालले बालबालिकाका पाठ्यपुस्तक कसले लेख्ने भन्ने निश्चित मापदण्डको आवश्यकता औंल्याउँदै पछिल्लो समयमा रचनाको गुणस्तरभन्दा आफ्ना नजिकका लेखकका रचना पाठ्यपुस्तकमा राख्ने गरिएको र कक्षा अनुसारको पाठ्य सामग्री नहुने गरेको अनुभव सुनाउँदै आफ्ना धारणा राख्नुभएको थियो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले आफ्नो अध्यक्षीय मन्तव्यमा पाठ्यपुस्तक लेखक एवम् सम्पादक एकातिर र बालसाहित्य लेखक अर्कोतिर हिँडिरहेको अवस्थामा एउटा मिलनबिन्दु खोज्नुपर्ने अवस्था रहेको र त्यसमा अब ढिला गर्नु हुँदैन भन्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाज मिलेर वर्षभरि चार वटा उद्देश्यमूलक गोष्ठी, एकपटक बालपुस्तक प्रदर्शनी र एकपटक बालबालिकाबीच कविता प्रतियोगिता जस्ता कार्यक्रम गर्ने जानकारी दिनुभयो । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले बालसाहित्य, बालबालिकाको सिर्जनात्मक प्रतिभा र बालसाहित्यकारहरूको क्षमता अभिवृद्धिका लागि समाजको वर्तमान कार्यसमिति सक्रिय र समर्पित रहेको बताउनुभयो ।
गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरि, बालसाहित्यकारहरू भाग्यशाली अधिकारी, छायादत्त न्यौपाने, विजयराज न्यौपाने, यम बाँस्तोला र नारायण तिवारी तथा पुस्तकालय विज्ञ इन्दिरा दलीले विभिन्न प्रश्न र विचार राख्नु भएको थियो ।
उक्त गोष्ठीमा प्राज्ञहरू, बालसाहित्यकारहरू, बालपाठ्यपुस्तकका लेखक एवम् सम्पादकहरूको समेत सहभागिता थियो ।

प्रकाशित मिति २०८० असार १५, शुक्रबार २१:०३ गते
हजुरको प्रतिक्रिया