सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित एचसिडिएस नमूना सामुदायिक अस्पतालमा दुई दिने विपद व्यवस्थापन र जलवायु परिवर्तनका बारेमा प्रशिक्षण सञ्चालन गरिएको छ । सोही नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा असार १६ गते प्रशिक्षणको प्रयोगात्मक कक्षा सुरु भएको हो ।
सो अवसरमा प्राथमिक उपचार, टेण्ट बनाउने विधि, ग्यास सिलिण्डर पड्केमा त्यसको व्यवस्थापन, अग्नि नियन्त्रण यन्त्र सञ्चालन विधि, विरामी ओसारपसार आदि विषयमा प्रशिक्षण सञ्चालन भइरहेको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार प्रशिक्षणमा सुन्दरबजार नगरपालिका– २, ५, ६ र ७ का वडाध्यक्ष, वडासदस्यहरू, स्वयम् सेवकहरू प्रतिवडा तीन जनाका दरले, अस्पताल विकास समितिका अध्यक्ष सहितका सदस्यहरू, अस्पतालका स्टाफहरूको सहभागिता रहेको छ । उहाँले भन्नुभयो, ‘प्रशिक्षणका क्रममा हिजो सैद्धान्तिक ज्ञान दिने काम गरिएको थियो र आज प्रयोगात्मक अभ्यास गरिदैछ ।’
सो प्रशिक्षणमा विपत प्रतिकार्यका बारेमा सशस्त्र प्रहरी बलको प्राविधिक सहययोग रहेको छ । बलका असई रामबहादुर जिसी सहितका १० जनाको टिमले प्रशिक्षण दिदै छ भने अन्य विषयमा सोही अस्पतालका डा. आशीष गिरि, एचडिसिएसको परियोजना प्रमुख सहारा मिश्रले प्रशिक्षण दिइरहनु भएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सो परियोजना अन्तरगत लमजुङ र मनाङमा समेत काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘यसअघि लमजुङको दोर्दी गाउँपालिकामा गएको पहिरोको परियोजनाकातर्फबाट स्थलगत अध्ययन गरिएको थियो ।’
प्रशिक्षणमा सहभागी हुन वडाबाट छनौट भएर आउनु भएका स्वयम् सेवकहरूले आफ्नो वडामा फर्केपछि आफ्नो वडाको समुदायस्तरमा पनि सो प्रशिक्षण दिनु हुनेछ भन्ने विश्वास गरिएको सो अस्पतालका प्रमुख श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रशिक्षणमा सहभागी भएका चार वडालाई विपत व्यवस्थापनका लागि तालिमको समापनका अवसरमा प्रतिवडा ८० हजार रुपैयाँ बराबरका सामग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० असार १६, शनिबार १४:४१ गते