सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित सयपत्री आमाविले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा समेत सिकाउने उद्देश्यले रोपाई महोत्सव गरेको छ । तनहूँको भानु नगरपालिका– ११ स्थित मानेचौकमा सो रोपाई महोत्सव असार १५ गते गरिएको हो ।
सो अवसरमा छात्र, छात्रा तथा शिक्षक दौड प्रतियोगिता गर्नुका साथै धान रोपाईका लागि आवश्यक विविध कार्य समेत गरिएको थियो । विद्यालयले सरकारले तोकेको नाराका अतिरिक्त आफ्नो नारा ‘संस्कार र संस्कृतिको जगेर्ना गरौं– आफ्नै उत्पादनमा भार पारौं’ समेत तय गरी उक्त महोत्सव गरेको सो विद्यालयका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले बताउनु भयो ।
उहाँका अनुसार विद्यार्थीलाई व्यवहारिक र प्रयोगात्मक शिक्षा समेत सिकाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । उहाँले भन्नुभयो, ‘कार्यक्रममा विद्यार्थी, शिक्षक मात्र नभई, व्यवस्थाप समिति र अभिभावकहरूको समेत सहभागिता रहेको छ ।’

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षका बाबुराम अधिकारीले विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक शिक्षाको समेत खाँचो अनुभव गरेर धानको उत्पादन के कसरी हुन्छ, के गर्नु पर्ने रहेछ ? भन्ने ज्ञान उनीहरूले प्रयोगात्मक रुपमा सिकुन् भनेर कार्यक्रम गरिएको बताउनु भयो ।
यसैगरी, विद्यार्थी अनुसा अधिकारी ७ ले विद्यालयमा यसरी प्रयोगात्मक शिक्षा लिने अवसर पाएका थिएनौं, यसले हामीलाई पढाईप्रति थप रुचि जागृत गर्ने छ भन्ने विश्वास लिएको बताइन् ।
त्यस्तै, अर्की छात्रा सन्ध्या श्रेष्ठ ८ले साथीहरू, सर, मिसहरू सबै मिलेर धान रोप्दा दौड समेत हुँदा धेरै रमाइलो भयो, नयाँ कुरा सिक्न पायौं, खुशी लागेको छ भनिन् । त्यस्तै, शिक्षिका रुक्मिणा शर्माले विद्यालय स्थापनाको लामो अवधिसम्म पनि यस्ता खालका कार्यक्रम भएका थिएनन् ।
विद्यालयको यस्तो प्रकृतिको पहिलो कार्यक्रमले हामीलाई हौसला दिएको छ भन्नुभयो ।
सो अवसरमा सञ्चालन गरिएको हिले दौडमा छात्र विजय दुरा– ६, छात्रा अनुसा अधिकारी र सन्ध्या श्रेष्ठ तथा शिक्षकतर्फको दौडमा तुलसी पौडेल पहिलो हुनु भयो ।
उहाँहरूलाई पुरस्कार स्वरुप कप र प्लेट प्रदान गरिएको थियो ।
प्रकाशित मिति २०८० असार १६, शनिबार १८:३८ गते