कृति परिचय : कुसुमाक्षर !

कृति परिचय : कुसुमाक्षर !

गोविन्दबहादुर कुँवर

@antaranganews

२०८० असार १७ गते आईतबार ०७:५९

प्रकाशकीयमा ६२ र बिषयसूचिमा ४७ कविता उल्लेख भए पनि खाँटी ६१ ओटा कविताहरू कुसुमाक्षरमा संग्रहित रहेका छन् ।
‘कुसुमाक्षर’मा ५० छन्दका कविताहरू छन् ।

‘कुसुमाक्षर’ छन्द कविता संग्रह कवि गायत्रीकुमार चापागाईंको दशौँ कृति हो ।

‘कुसुमाक्षर’ छन्द कविता संग्रह कवि गायत्रीकुमार चापागाईंको दशौँ कृति हो । यो कृति २०७९ मा शब्द यात्रा प्रकाशनबाट प्रकाशित भएको पाइन्छ । यसको पृष्ट संख्या १२१+१५ रहेको छ भने मूल्य २००।– तोकिएको छ ।
दिङ्ला, भोजपुरमा २०१२/०७/०८ मा जन्मेका चापागाईँले नेपाली एम ए प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । उनले २०३०– २०५५ सम्म अरुण मा.वि. दिङ्लामा र २०५५–२०७३ सम्म सरस्वती मा वि, झोराहाट, मोरङमा अध्यापन गरेको देखिन्छ । २०५५ मा मोरङ झरे पछि उनको सामाजिक
जीवनले गति लिएको पाइन्छ । ९/१० ओटा संस्थामा उनको आबद्धता देखिन्छ । ५ कृतिको सम्पादनमा उनको सहभागिता रहेको छ ।
शुभकामना मन्तव्य राख्ने क्रममाझशास्त्रीय कवित्वको सुमधुर ‘प्रवाह’ शीर्षकमा डा शैलेन्दु प्रकाश नेपालले भनेका छन्, ‘कवि गायत्रीमा कलात्मक सौन्दर्य बोधको चेतना पर्याप्त छ । कविताहरू अनेक प्राकृत, सामाजिक, सांस्कृतिक एवम् काल्पनिक विम्बहरूले सजिएका छन् ।’
लेखकीयमा ‘कुसुमाक्षर भित्रका अक्षरहरू’ शीर्षकमा आफ्नो छन्द कविता लेखनको पृष्टभूमि कवि चापागाईंले उल्लेख गरेका छन् । प्रकाशकीयमा हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनको २१२ औँ प्रकाशनपुष्पको रुपमा ‘कुसुमाक्षर’ प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रकाशकीयमा ६२ र बिषयसूचिमा ४७ कविता उल्लेख भए पनि खाँटी ६१ ओटा कविताहरू कुसुमाक्षरमा संग्रहित रहेका छन् ।
‘कुसुमाक्षर’मा ५० छन्दका कविताहरू छन् । कविको कवितामा स्वदेशी प्रकृति, संस्कृति, समाज, जाति, समानता, स्वतन्त्रता, सुधारवादी चेत र भ्रातृत्वको भावसँगै व्यङ्ग्यात्मक स्वर पनि पाउन सकिन्छ ।
संग्रह भित्रका केही कवितांशहरूबाट कविताको ओज र भावभूमिको अन्दाज गर्न सकिन्छ ।
००००
बाला विभिन्न थरका भरियून् गरामा
माला गाँसेर हरमा उनियून् धरामा
माली उठून् रहरले बल तागतैले
साहित्यको सर फुलोस् कुसुमाक्षरैले
(कुसुमाक्षर)
द्यौसे नाचे छमछम गरी आँगनै टम्म घेरी
भाका फेरे तर तरहका गीत संगीत फेरि
भैलेनीको मधुर स्वरले भन्छ ढोका उघार
कस्तो राम्रो सुखद क्षणको चाड राम्रो तिहार
(तिहार)
धर्ती मेरी ! मृदमय धरा जीवनी मूल पानी
पृथ्वी मेरी ! अनुपम उचा सृष्टि हुन् जान ज्ञानी
हावा पानी रविकिरणको दृष्टि चोखो परेत
पाए माया प्रमुदित कला सृष्टि हाँस्ने रहेछ
(सृष्टि हाँस्ने रहेछ)
मेरो प्यारो हिम चुचुरिमा घाम सिन्दुर छर्छन्
मेरो आफ्नो हरित वनले रम्य शोभा कहन्छन्
मेरो रातो मुटु ढुकढुकी जून छाँया नियाल्छन्
मेरो माटो श्रम र सीपको दृष्टि बर्साद खोज्छन् ।।
(कोशी र म)
मेरो गर्जन पाखुरी र पसिना डाँडा कटायौ किन
मेरो क्रन्दन आँसुभित्र असिना वर्षा गरायौ किन
मेरो पौरख बालीका निधिहरु बाँझो बसायौ किन
मेरो गौरव शानका विधिहरु थारो बनायौ किन ।।
(किन ?)
नव जो वनका हरियालि मुना
नव पल्लवका पिपिरा मुना
नव आकृतिमा दुलही धरती
नव जागृतिको पिरती छँरदी ।।
(जागरण)
उचालि – खुट्टा पथ माथि चढ्नु छ
पछारि – खुट्टा तल सम्म झर्नु छ
चलाई आफ्ना बल बैँश पाखुरा
पहाड मेरो मनमा हराभरा ।।
(पहाड)
मुखले राम जप्दैछ बोकी बगलीमा छुरा
समृध्दिको ढुसी नारा स्वप्न बाँड्ने कति कुरा
(तमासा)
वसन्त छायो हरिया मुनामा
सुसाइ भाका वन कन्दरामा
आभा सुनौलो हिउँको हिमाल
आस्था अनौठो दिलमा समाल ।।
(नव वर्षको वसन्त)
तातो तातो बाफ गर्मी पचाएँ
सारो गारो सास मात्रै बचाएँ
मर्दै बाँच्दै जीवनीधार खोज्छु
खाडी भित्रै देशको प्यार रोज्छु  ।।
(खाडीको मर्म)
‘कुसुमाक्षर’ कविता संग्रह पठनीय एवम् सग्रहणीय कृति हो । कवि चापागाईँलाई सुन्दर काव्यकृतिका लागि बधाई छ । आगामी दिनमा अझै स्तरीय कृतिको अपेक्षा गर्दै कवि चापागाईँलाई हार्दिक शुभकामना !

प्रकाशित मिति २०८० असार १७, आईतवार ०७:५९ गते
हजुरको प्रतिक्रिया