सुन्दरबजार नगरपालिकाले स्थानीय खोलामा माछाका भुरा छाड्यो

सुन्दरबजार नगरपालिकाले स्थानीय खोलामा माछाका भुरा छाड्यो

विराट न्यौपाने

@antaranganews

२०८० असार २१ गते बिहिबार ०२:५९

‘अभियान राम्रो रहेको तर खोलामा भइरहेको ढुङ्गा गिटीको दोहन, करेन्ट लगाउने, बिष हाल्ने प्रचलन नरोक्किदासम्म यो अनियानले सार्थकता पाउनेमा आफू विश्वस्त हुन नसकेको’ सुन्दरबजार नगरपालिका– ४ निवासी हरिकृष्ण भुजेलले बताउनु भयो ।

खोलामा करेन्ट लगाएर, बिष हालेर माछा मार्ने क्रमलाई रोक्न नगरपालिकाले पहल गर्ने

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिकाले स्थानीय क्षेत्रमा रहेका विभिन्न खोलामा माछाका भुरा छाडेको छ । नगरपालिकाले पाउँदी, नाउँदी र किरिञ्चे खोलामा माछाका भुरा असार २० गते छाडेको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले माछाको भुरा छाड्ने काम गर्नु भएको हो । उहाँले सो क्रममा अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि यो कार्यक्रम गरेको बताउनुभयो । उहाँले खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नु भयो । मेयर कोइरालाले यो सुन्दरबजार नगरपालिकाको पहिलो प्रयास हो, खोलामा करेन्ट लगाएर, बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसंग परामर्श गरेर अगाडि बढ्ने उल्लेख गर्नु भयो ।
नगरपालिकाको पशु सेवा शाखाको आ.ब. २०७९/८० को कार्यक्रम अन्तर्गत स्थानीय जातका सहर ५२०, रहु र नैनी एक हजार ३२० गरी एक हजार ८४० वटा माछाका भुरा छाडेको शाखाका पशु चिकित्सक बुद्धिबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार स्थानीय पाउँदी खोलाको वडानं. १० काँडेपानी, वडा नं. ३ लामिखेत, वडा नं. ४ र ५ सीमा क्षेत्रमा रहेको किरिञ्चे दोभान तथा वडा नं. ६ खत्रीठाँटी र नाउँदी खोलाको टुहुरे पसल नजिक ती भुरा छाडिएको हो ।
‘ती भुरा मत्स्य बिकास केन्द्र बेगनास कास्कीबाट ल्याइएको र यस्ता जातका माछाहरू खोलाहरूमा निकै प्रभावकारी तरिकाले उत्पादन हुने, छिटो बढ्ने’ पशु सेवा शाखाका प्रमुख लोकराज कोइरालाले जानकारी दिनु भयो । यसको संरक्षण कार्यमा जनप्रतिनिधिहरूको विषेश भूमिका रहने कुरा पनि उहाँले बताउनु भयो । सुन्दरबजार नगरपालिका– ४ निवासी हरिकृष्ण भुजेलले ‘अभियान राम्रो रहेको तर खोलामा भइरहेको ढुङ्गा गिटीको दोहन, करेन्ट लगाउने, बिष हाल्ने प्रचलन नरोक्किदासम्म यो अनियानले सार्थकता पाउनेमा आफू विश्वस्त हुन नसकेको’ बताउनु भयो । खोलामा अत्यधिक मात्रामा ढुङ्गा गिटी बेचेर माछा बस्ने स्थानसम्म नरहेको अवस्थामा माछाको संरक्षण हुनेमा स्थानीय ढुक्क हुन सक्ने स्थिति नभएको उहाँको भनाइ थियो ।
खोलामा भुरा छाड्ने अभियानमा सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरू, पालिकाका कर्मचारीहरू, स्थानीयहरू लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति २०८० असार २१, बिहीबार १४:५९ गते
हजुरको प्रतिक्रिया