दुई अग्रज व्यक्तित्वका अनुभूति

दुई अग्रज व्यक्तित्वका अनुभूति

नवराज पहाडी

@antaranganews

२०८० असार २२ गते शुक्रबार ०७:३१

उहाँहरू बीचको भलाकुसारीको निचोड थियो, ‘गाउँमा मान्छे छैनन्, प्रकृति छ, शहर बजारमा मान्छे पनि छैनन र प्रकृति पनि छैन ।’ जुन सुनेर यो पंक्तिकार दङ्ग पर्दै मथिङ्गल खल्बल्याउन बाध्य भएको थियो ।

उहाँहरूको भलाकुसारीको निष्कर्ष थियो, पञ्चतत्व जसका कारण हामीले यो शरीर पाएका छौं– प्रति कृतज्ञ हुनुपर्छ ।

बेसीशहर– लमजुङका दुई अग्रज व्यक्तित्वको अनुभूति, चिन्ता र चासोले नेपाली समाज कता जादैछ ? भन्ने संकेत गरेको छ । दुराडाँडा क्षेत्रका दुई व्यक्तित्वहरूको यहाँ भएको भेटको बसाईका क्रममा भएको कुराकानीमा त्यस्तो चिन्ता र आध्यात्मको महत्व बारेमा परिचर्चा असार २१ गते भएको हो ।
उहाँहरू लमजुङको दुराडाँडाको धारापानी निवासी ८८ वर्षीय दिननाथ न्यौपाने र ७५ वर्षीय दामोदर अधिकारी हुनुहुन्छ । उहाँहरूले आपसमा गर्नु भएको भलाकुसारीमा त्यस्तो चिन्तान र चासो व्यक्त गर्नु भएको हो । कुराकानीका क्रममा ‘गाउँमा मान्छे छैनन्, प्रकृति छ, शहर बजारमा मान्छे पनि छैनन र प्रकृति पनि छैन ।’ उहाँहरू बीचको भलाकुसारीको निचोड थियो । उहाँहरूको त्यो आध्यात्म चेतले भरिएको भनाईले यो पंक्तिकारको समेत मथिङ्गल खल्बलिन पुग्यो । उहाँहरूका कुरा सुन्न पाएकोमा दङ्ग पर्दै र जीवनमा क्रम भङ्गको आवश्यकता अनुभव गर्यो यो पंक्तिकारले ।
उहाँहरूका बीचमा ‘ॐशान्ती’, ‘राधे राधे’ जस्ता समाजमा आध्यात्मिक अभियान चलाउँदै आएका जो बेसीशहरमा पनि छन््– को समेत प्रसङ्ग उठ्यो । उहाँहरू दुबै जना ती दुवै संस्थाका गतिविधिबाट यो पंक्तिकारजस्तै सन्तुष्ट रहन नसक्नु भएको रहस्य समेत खुल्न आयो ।
अग्रज व्यक्तित्व न्यौपाने विगतका केही वर्षदेखि बेसीशहरमा छोरा, बुहारी, छोरीका साथमा रहनु भएको छ भने अधिकारी यतिबेला राष्ट्रि भूमि आयोगको जिल्ला अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । सो क्रममा अधिकारीले आफू त गाउँमै रमाइरहेको बताउनु भयो । न्यौपानेले पनि मलाई पनि गाउँमै बस्न मन थियो, बाध्यताले यहाँ बस्नु पर्ने भएको सुनाउनु भयो ।
मोवाइल नलिने सोच बनाउनु भएका न्यौपानेले त्यो पनि बाध्यताबस लिएको दुई वर्षमात्र भयो भनेर सुनाउनु भयो । उहाँले गुनासो शैलीमा भन्नु भयो, ‘कस्लाई फोन गर्ने र ? कुरो मिल्दैन, त्यसैले कहिलेकाही तपाईलाई गर्छु, तपाई पनि व्यस्त जस्तो लाग्छ ।’ उहाँका अनुसार मोवाइलमा दुई महिनामा दुई सय रुपैयाँ खर्च हुन्छ, फोन नगरेपनि । त्यसैले सकेसम्म त्यो पैसा खेर नजाओस् भन्ने ठान्छु, कहिलेकाही मात्र सकिन्छ ।
उहाँहरूका बीचमा भएको भलाकुसारीका क्रममा गर्भ गीताको बारेमा पनि परिचर्चा भयो । त्यसलाई दामोदार अधिकारीले नरिबलको उदाहरण दिदै व्याख्या गर्नु भएको थियो । उहाँले नरिबलको बाहिरी बोक्रा सहितको पुरा फल पनि नरिवल, त्यो झिकेपछिको जटासहितको फल पनि नरिवल, त्यसलाई हटाउँदाको कडा खबेटा भएको पनि नरिवल, त्यो फोरेपछि आउने फल पनि नरिवल यस्तै विचित्र छ यो संसारको बनोट भन्नुभयो । तर हिजोआजका मान्छेले यस्तो महत्व र गहिराईमा पुग्न सकेकै छैनन् । त्यस्तो गहिरो अध्ययन गर्ने संस्कार नै छैन आजका मान्छेहरूमा । यसको कारक परिवार पनि हो । किनकि, बाजले, बाबु, बाबुले छोरालाई सिकाउनु पर्नेमा त्यो प्रवृत्ती छैन, न त नयाँ पुस्ता यस्ता विषय सिक्न चासो पनि राख्दैन । अनि ऊ आफ्नै शब्द र अर्थ लगाउन पुग्छ, त्यस्को वास्तविक भावार्थ र लक्ष्यार्थ समाउन सक्दैन तर मनगढन्त व्याख्या गर्न थाल्छ अनि त्यस्तैमा रमाउँछ । यस्तो विडम्बना पूर्ण स्थितिमा उनीहरूलाई उन्कै संसारमा रमाउन दिनुको विकल्प पो के छ र हामीसँग ? अधिकारीले भन्नुभयो ।
सो अवसरमा उहाँहरूले आ–आफ्नो स्वास्थ्य स्थितिका बारेमा चासो समेत व्यक्त भयो । न्यौपानेले गएको वर्षसम्म त दिनहुँ घुम्थे, यो वर्ष अलिक नसकेको जस्तो भएको छ एक्लै हिडेको छैन भन्नुभयो । त्यसमा पञ्चतत्वको बारेमा उल्लेख गर्नु हुँदै अधिकारीले घाम प्रकाश(अग्नि) तत्व, देवी वायु तत्व, शिव पानी तत्व, गणेश पृथ्वी तत्व र नारायण आकाश तत्व हुन् । यिनीहरूको कहाँ कतिबेला गडबडी चल्छ के भन्न सकिन्छ र ? त्यसमा पनि उमेर ढल्केपछि मनले चाहे जस्तो शरिरले गर्न नसक्दो रहेछ भन्नुभयो ।
उहाँहरूको भलाकुसारीको निष्कर्ष थियो, पञ्चतत्व जसका कारण हामीले यो शरीर पाएका छौं– प्रति कृतज्ञ हुनुपर्छ ।

प्रकाशित मिति २०८० असार २२, शुक्रबार ०७:३१ गते
हजुरको प्रतिक्रिया