८७ वर्षमा पनि सियोमा धागो उन्नु हुन्छ– मोहनकुमारी

८७ वर्षमा पनि सियोमा धागो उन्नु हुन्छ– मोहनकुमारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २२ गते शुक्रबार ०७:२८

मोहनकुमारीको त्यही परिवार हो, जसमा कविवर डिल्लीजङ गुरुङ(उहाँका ससुरा)को धनपोखरा जस्तो स्थानमा जन्म भएको थियो । त्यो जमानामा पनि कविवर डिल्लीजङले २२÷२३ वटा कृति लेख्नु भएको जानकारीमा आएको छ । १८ वटा कृतिको संगालोका रुपमा त डिल्लीजङ समुच्चयन भाग– १ र भाग– २ मा समेत प्रकाशन भइसकेका छन् । अन्य कृति पाण्डुलिपीका रुपमा रहेको कविवरकी नातिनी सुभद्रा गुरुङले बताउनु भएको छ ।

निरोगिता र सुखको राज आध्यात्मिक चिन्तन

बालुवाटार(काठमाडौं)– मानिसमा सुख, सन्तोष अनि दीर्घजीवनको राज के होला ? यो प्रश्नले सायद धेरै जनालाई हैरान बनाउछ । झट्ट सुन्दा नपत्याउने सत्यको साक्षी हुनुहुन्छ– मोहनकुमारी गुरुङ । जस्ले ८७ वर्षको उमेरमा पनि सियोमा धागो उन्ने काम सहजताका साथ गर्नु हुन्छ । मोहनकुमारी गुरुङ लमजुङको मर्स्याङदी गाउँपालिका– २ को घनपोखरा गाउँमा स्थायी बसोबास गरी हाल काठमाडौंको बालुवाटार स्थित टुसालगल्लीमा बस्दै आउनु भएको छ ।
यो पंक्तिकार केही दिन अघि उहाँको यहाँ स्थित निवासमा पुग्दा उहाँ सियो धागो खेलाउँदै हुनुहुन्थ्यो । त्यो देखेर यो पंक्तिकार आश्चर्यचकित बन्यो । त्यसपछि उहाँको उमेर सोधियो, ‘८७ वर्षमा चल्दैछु ।’ उहाँले सुनाउनु भयो । कुराकानीको सिलसिलामा उहाँले भन्नुभयो, ‘म त आजको मान्छे हैन नि !’
उहाँ हिजोआज अर्थात पछिल्लो करिब डेढ दशकदेखि लमजुङमा अकलिक कम २– ३ महिना र बढी काठमाडौं ९– १० महिना बस्ने गर्नुहुन्छ । उहाँले घरपोखरा गाउँमा बस्नु हुँदा उहाँका जवान छदाका दिनमा घरपोखराको गाउँ र बेसी जो झण्डै डेढ घण्टाको पैदल दुरीमा छ, सहजताका साथ पार गर्ने गरेको समेत सुनाउनु भयो । त्यो बेलामा पनि ६÷६ महिना गाउँ र बेसीमा बस्ने गरेको स्मरण उहाँको मानसपटलमा ताजै रहेछ ।
बाल्यकालमा मेरो घोडा चढ्ने सोख थियो उहाँले सुनाउनु भयो । आफ्ना हजुरबा रणबहादुरका साथमा लागेर आफूले त्यो सीप सिकेको समेत जानकारी दिनु भयो । उहाँ त्यो बेलामा त्यो क्षेत्रका जिम्मुवाल हुनुहुन्थ्यो तर पनि उहाँले गाउँघरको सेवामा दिलो ज्यान दिएर काम गर्नु हुन्थ्यो । बाजेले गाउँघरमा बनाउनु भएको कुलो, बाटो, पुल, पधेंरा, कुवा आदि देखेर आफ्नो पनि समाजसेवामा रुचि जागृत भएको मोहनकुमारीले उल्लेख गर्नुभयो । बाजेको जन्म थलोमा उहाँको शालिक राख्ने इच्छा छ तर पुरा गर्न सकेको छैन उहाँले गुनासो शैलीमा सुनाउनु भयो ।
उहाँको १४ वर्षकै किशोर उमेरमा कविवर डिल्लीजङ गुरुङका सुपुत्र मुनिन्द्रजङ गुरुङका साथमा शुभ विवाह भएको हो । उहाँ १६ वर्षको उमेरसम्म मामाघरमा हुर्कनु भएको रहेछ । चार छोरा र एक छोरीकी आमा उहाँ चार जना नाति र पाँच नातिनीकी धनी हुनुहुन्छ । शैलेन्द्र(भोला), सुरेन्द, मकरध्वज र पशुपति उहाँका चार भाइ छोरा हुनुहुन्छ । एक्ली छोरी सुभद्रा भने अविवाहित रहनु भएको छ । उहाँको माइती घर नयाँ कास्कीमा पर्दछ ।
उहाँले बाल्यकालको कुरा सम्झदै भन्नुभयो, ‘हाम्रो आमाहरू पाँच ओटी हुनुहुन्थ्यो, म र भाइ दुवैजना जेठी पट्टीका हौं, अन्य आमाको कोखबाट जायजन्म नै भएन ।’ भाइ पनि म जन्मेको ९ वर्ष पुगेपछि, कान्छी आमा ल्याए पछि जन्मिएको उहाँले बताउनु भयो ।
उहाँले २०२२ साल ताका महिला संगठनको चुनाव लडेर जितेको समेत याद गर्नु भयो । उहाँले भन्नुभयो, ‘राजनीतिको कुरा त थाहा थिएन । त उठूनु पर्छ भन्छन् सबैले, उठेर हुने के हो, न उठ्दा के हुने ? भन्ने नजान्दा नजान्दै पनि चुनावमा उठे र जिते पनि ।’
मोहनकुमारीसँग ‘निरोगीता एवम् खुशीको राज’का बारेमा जिज्ञासा राख्दा उहाँले आध्यात्मिक चिन्तनले आफूलाई आजको स्थानमा ल्याएको बताउनु भयो । उहाँलाई त्यस्तो आध्यात्मिक चेत क्षितिशचन्द्र चक्रवर्तीले आफ्नै गाउँ घनपोखरामा गएर दिनु भएको सुनाउनु भयो । क्षितिशचन्द्र समय समयमा आध्यात्मिक प्रशिक्षण दिनका लागि लमजुङमा पनि पुग्नु भएर दुई पटक त आफ्नै घरमा बसेको समेत याद छ उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँमा हरेक शनिबार सत्सङको कार्यक्रम हुन्थ्यो । त्यही मैले यस्तो कुरा सिक्न पाएकी हुँ ।
समाजसेवाका क्रममा उहाँको परिवारबाट घनपोखरामा निकै योगदान गर्नु भएको छ । घनपोखराको त्रिभुवन मावि रहेको हाता सबै उहाँहरूकै परिवारबाट दान दिनु भएको हो भने लाकुँरी चौतारा, हालै बनेको समाज घर, वडा कार्यालय लगायतका लागि घडेरी समेत उहाँकै परिवारको योगदानको उपज हो । यसैगरी, आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङलाई बेसीशहर नगरपालिका– ३ को रानीकुवामा आयुर्वेद केन्द्र सञ्चालनका लागि डेढ रोपनी जग्गा उहाँको परिवारले दान दिनु भएको छ ।
मोहनकुमारीको त्यही परिवार हो, जसमा कविवर डिल्लीजङ गुरुङ(उहाँका ससुरा)को धनपोखरा जस्तो स्थानमा जन्म भएको थियो । त्यो जमानामा पनि कविवर डिल्लीजङले २२÷२३ वटा कृति लेख्नु भएको जानकारीमा आएको छ । १८ वटा कृतिको संगालोका रुपमा त डिल्लीजङ समुच्चयन भाग– १ र भाग– २ समेत प्रकाशन भइसकेका छन् । अन्य कृति पाण्डुलिपीका रुपमा रहेको कविवरकी नातिनी सुभद्रा गुरुङले बताउनु भएको छ । लाकुँरी कविवर डिल्लीजंगको उत्कृृष्ट कृतिमध्येको एक मानिन्छ ।
यतिबेला कविवर डिल्लीजङ गुरुङको स्मृतिमा जन्म स्थल(घनपोखरा)मा अर्धकदको शालिक राख्नका लागि तयारी भएको छ । उहाँको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको कालीगढले बताएको समेत सुभद्राको भनाइ छ ।

प्रकाशित मिति २०८० असार २२, शुक्रबार १९:२८ गते
हजुरको प्रतिक्रिया