काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा आज प्रमुख प्रतिपक्षी दलहरूप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भयो । आफ्नै अभिव्यक्तिबाट विवादित बनेपछि जवाफ दिन संसदको रोस्टममा उभिनु भएका उहाँले प्रमुख प्रतिपक्षी दलले संसदीय अभ्यास मिचेको दावी गर्दै प्रश्न गर्ने तर स्पष्टीकरणको मौकासमेत नदिने प्रतिपक्षी दलको व्यवहारप्रति असार २५ गते आशंका व्यक्त गर्नुभएको हो ।
संसद अवरुद्ध गरिएकोप्रति व्यङ्ग्यका साथ स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेकोप्रति आपत्तिका सात प्रतिपक्षसँग प्रश्न गर्दै भन्नुभयो, ‘अहिले माननीय सदस्यले स्पष्ट पार्न पर्दैन भनेर बडो गम्भीर ढंगले बोल्नुभयो, म त सुरुदेखि स्पष्ट पार्न भनेर पर्खेर बसेको थिएँ, मलाई थाहा छैन किन संसद अवरुद्ध गरियो, राजीनामा नआएसम्म संसद चल्न दिइँदैन किन भनियो ? मैले बुझ्न सकेको छैन । के यही हो संसदीय अभ्यास ?’
भारतीय नागरिक प्रितम सिंहको किताब विमोचनका क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक– पटक दिल्ली गएको अभिव्यक्ति दिनुभएको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितले संसद अवरुद्ध गर्दै आएको थियो । आज प्रमुख तीन दलबीच सहमति जुटेपछि प्रधानमन्त्री संसदको जवाफका लागि सदनमा उपस्थित हुनुभएको हो ।
विवादित अभिव्यक्तिबारे आफूले सदनमा बोल्न पाउनुपर्ने माग गरे पनि त्यो अवसर नपाएको गुनासो गर्दै भन्नुभयो, ’एउटा पुस्तक विमोचनका सन्दर्भमा मेरो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीले संसदमा उठाएको प्रश्नमा मेरो गम्भीर ध्यानाकर्षण सुरूदेखि नै भएको छ । यो प्रश्न यति गम्भीर छ भने सबैभन्दा पहिला प्रधानमन्त्रीलाई रोस्टममा उभिएर बोल्न दिनुपर्छ भनेर, त्यो अवसरका निम्ति माग गरेको थिएँ ।
प्रचण्डले भन्नुभयो, ‘स्पष्ट सोचका बाबजुद त्यो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । यसअघिका कतिपय टिप्पणीहरू, वक्तव्यहरूमा देखिने भावहरूमा यस सम्मानीत सदनसमक्ष दुःख व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले थप भन्नुभयो, ’प्रतिपक्षलाई प्रश्न सोध्ने हक छ । म त्यो मान्छु । माननीय राजेन्द्र लिङ्देनलेजस्तो नैतिकताको प्रश्न पनि उठाउन सकिन्छ । राजीनामा दिन भन्न पनि सकिन्छ । तर संसदीय अभ्यास र पद्धति के हो ? मलाई लाग्छ, हाम्रो प्रमुख प्रतिपक्षी दलका नेता साथीहरूलाई राम्रोसँग थाहा छ । स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो यो ? के मैले एकचोटि यो सम्मानित सदनसमक्ष उभिएर यथार्थ के हो ? मेरो कमजोरी भयो भने कहाँ नेर भयो भनेर भन्न पाउनु पर्दैन ? ’के प्रतिपक्षीले राजनीमा माग्ने वितिकै दिनुपर्ने हो ? यही हो लोकतान्त्रिक परम्परा विधि ? के प्रतिपक्षले प्रश्न उठ्नेवितिकै प्रधानमन्त्रीलाई सदनसमक्ष स्पष्टीकरणको मौका पनि दिन नहुने हो ?’ उहाँको प्रतिप्रश्न थियो ।
त्यसो त प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षीप्रति आक्रामक बन्दै गर्दा आफू प्रतिवाद गर्न उभिएको होइन भन्दै स्पष्ट पार्नु भएको थियो । ‘यो मेरो प्रश्नमात्रै हो ? प्रतिवाद होइन । म काउन्टर अट्याकका लागि उभिएको होइन । म स्पष्टीकरणका लागि उभिएको हुँ’ भन्ने सुझाउनु भयो ।
उहाँले ‘कमजोरी भएको ठाउँमा इफ, बट नलगाई विगतमा स्वीकार गरेको’ स्मरण गर्दै उनले आफ्नो कमीकमजोरीको सबालमा आत्मसमीक्षा गर्ने, स्वीकृति गर्ने र सच्याउनेमा पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आफूले भनेका अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभई छोरीको बुबा भएर भावनात्मक भएर बोल्न पुगेको हुँ ।’
प्रधानमन्त्रीले मनले भन्दा दिमागले बढी बोल्नुपर्ने हो । यो बोल्नुपर्छ भन्नेमा सैद्धान्तिक ज्ञान नभएको होइन । मान्छेको स्वत्त्व, जीन, प्रवृत्ति र विशेषता जो अलग अलग बनेको हुन्छ । त्यसैले हामी फरक छौं । सबैका आफ्ना स्वत्त्व छन्, त्यसभित्र मेरो पनि पर्छ । म दिमाग र मन दुबैले बोल्छु । कहिले मन अगाडि हुन्छ, कहिले दिमाग अगाडि हुन्छ । दिमाग अगाडि हावी भएको बेला विज्ञान हावी भएको हुन्छ । मन हावी भएको बेला आवेग वा भावना हामी भइराखेको हुन्छ । यो कुरा सैद्धान्तिक रुपमा ज्ञान नभएको होइन ।
मलाई यो विषयमा आफ्नै पार्टी नेता र अरु पार्टीका नेता साथीहरुले पनि सुझाव नदिएको होइन । यो ६९÷७० वर्षमा बदल्ने भन्ने कुरा फलामको चिउरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्दै जाँदा आई हाल्छ । मैले यही तथ्य संसदमा राख्नु बाहेक अरु केही छैन उहाँले उल्लेख गर्नु भएको थियो ।
सदनमा प्रधानमन्त्रीले जवाफ दिनुअघि प्रतिपक्षी तीन दलका नेताहरूले प्रश्न सोधेका थिए । बैठकमा एमालेको तर्फबाट सांसद गोकुल बाँस्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न गर्नु भएको थियो ।
यसैबीच, नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनु भयो ।
उहाँले सञ्चारकर्मीसँग प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहो¥याउने प्रतिबद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन त सकेको देखिएन । समग्रमा प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई एमालेले सकारात्मक रूपमा लिएको छ ।’
यसैगरी, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले गरेको स्वीकारोक्तिका लागि धन्यवाद दिनु भएको छ । प्रधानमन्त्रीले संसदमा आएर आफ्नो गल्ती स्वीकार गर्नु सकारात्मक रहेको उहाँको तर्क छ ।
पहिलो दिन एमालेका तर्फबाट राजीनामा माग गर्नु हुने सांसद रधुजी पन्तले भने गल्ती स्वीकार गरेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्ने अडान दोहोर्याउनु भएको थियो ।
झण्डै आधी सातादेखिको संसद् अवरोध आजबाट हटेको छ । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को विपादास्पद अभिव्यक्तिको विरोध गर्दै राजीनामा दिनुपर्ने बटमलाइन राखेको थियो । एमाले आफ्नो अडानबाट पछि हटेसँगै संसद्को अवरोध हटेको हो ।
संसद बैठक बस्नु अघि सिंहदरबारमा भएको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा प्रधानमन्त्रीले स्पष्टीकरण दिएर अवरोध हटाउने सहमति भएको थियो ।
रास्वपाका सभापति रवि लामिछानेले मिटर ब्याजको अध्यादेश किन ढिलो ल्याएको ? भन्दै प्रश्न गर्नु भएको थियो । उहाँले आफ्नो पार्टी स्वतन्त्र अस्तित्वका साथ उभिएको बताउँदै प्रमुख प्रतिपक्षीले ’जे बोल्यो त्यही नै रास्वपाको भाष्य’का रूपमा व्याख्या गर्नेे गरेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले संसद्लाई तीन दलले बन्धक बनाउन खोजेको दावी गर्नु भयो । त्यस्तै, प्रचण्डले बेलाबेला आपत्तिजनक अभिव्यक्ति दिने गरेको स्मरण गर्दै रविले भन्नुभयो, ‘छिमेकी राष्ट्रले प्रधानमन्त्री बनाउने, लडाकुको विषयमा छुट्टाछुट्टै कुरा गर्ने’ गरेकोले आफ्नै भनाइमा स्पष्ट हुन प्रधानमन्त्रीलाई सुझाव रविले दिनु भएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजको अध्यादेश निष्क्रिय हुनु र सदन अवरोध हुनु संयोगमात्रै भएको बताउनु भयो । प्रधानमन्त्रीले कुन प्रसंगमा हो भन्ने कुरामा हेक्का राख्न अनुरोध गर्नुभयो ।
राजेन्द्र लिङ्देनले सुरूवातमै प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गर्नु भएको प्रति इंगित गर्र्दै प्रधानमन्त्री दाहाल नैतिकताको कुरा ठीकै भए पनि यसअघि क–कसले नैतिकता देखाए भन्दै विगत हेर्न सुझाउनु भएको थियो ।
जवाफ दिने क्रममा प्रचण्डले सरकार भ्रष्टाचारीलाई उम्कन नदिने र निर्र्दाेषी नफसोस् भन्नेमा सतर्क रहेको स्मरण गर्नुभयो । उहाँले भ्रष्टाचारको जरासम्म पुग्ने गरी काम गर्नुपर्ने भन्दै सबैलाई त्यही अनुसार अघि बढ्न आह्वान गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० असार २५, सोमबार २१:५५ गते