काठमाडौं– देश, उमेर, धर्म, आर्थिक अवस्था समेत केही पनि मिल्दैनथ्यो तर उनीहरूको मन मिल्यो र अन्ततः विवाह गरेका छन् । पछिल्ला दिनमा पाकिस्तानकी सीमा र भारतका सुरजको प्रेम कहानी अहिले भारत र पाकिस्तानका मिडियामा चर्चाको विषय बनेको छ ।
सीमालाई भिसाबिना गैरकानुनी रूपमा भारत प्रवेश गरेको र सचिनले उनलाई सेल्टर दिएको अभियोगमा प्रहरीले उनीहरूलाई हिरासतमा लिएको थियो । ‘मलाई त अब केही महिना जेलमै बस्नुपर्छ होला भन्ने लागेको थियो तर अदालतले धरौटीमा रिहा गरिदियो,’ सीमाले भनेकी छन्, ‘मलाई निकै खुसी लागेको छ । अब त म भारतीय भइसकें । कागजमा मात्र पाकिस्तानी छु ।’
जस्तोसुकै परिस्थिति आए पनि सचिनलाई छोडेर पाकिस्तान फर्केर नजाने उनले बताएकी छन् । पहिलाका पतिसँग आफ्नो तलाक भइसकेको उल्लेख गर्दै सीमाले औपचारकिताका लागि कागज पठाइदिने बताइन् ।
नोयडाको एउटा अदालतले पक्राउ परेका उनीहरू दुबै जनालाई धरौटीमा रिहा गर्न असार २२ गते आदेश दिएपछि कुनै चलचित्रको दृश्यझैं लाग्ने प्रेम कहानीले तत्कालका लागि सुखद मोड लिएको छ ।
कोभिड– १९ को महामारी र पब्जीले जुटाएको जोडी :
पाकिस्तानको कराँचीकी सीमा र भारत उत्तर प्रदेशका सुरज मीनाको देश, उमेर, धर्म, आर्थिक अवस्था केही पनि मिल्दैनथ्यो । तर उनीहरूको मन मिल्यो । दुबै जनाको मन मिलेपछि तीन वर्षपछि यो जोडी सँगै बस्न स्वतन्त्र भएको छ ।
सन् २०२० मा कोभिड– १९ को महामारी थियो । भारत र पाकिस्तान दुबै देशमा लकडाउन थियो । त्यही बेला सीमा र सुरज पब्जी खेल्न थाले । पब्जी खेल्ने क्रममा उनीहरूबीच चिनजान भयो । चिनजान पछि मोबाइल नम्बर साटासाट भयो । कुराकानी बाक्लिन थाल्यो । कुराकानीसँगै उनीहरू बीच प्रेम झाँगिन थाल्यो ।
झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्नु थियो तर त्यो सहज थिएन । एकातिर भारत र पाकिस्तानको राजनीतिक सम्बन्धले नागरिकहरू सहजै एक–अर्काको देशमा आउजाउ गर्न पाउँदैनन् । अर्कातिर सीमाको विवाह भइसकेको थियो । उनका चार वटा बच्चा थिए । यता सुरजको आर्थिक अवस्था मजबुद् थिएन । उनी भिसा लगाएर, जहाज चढेर पाकिस्तान जान सक्दैनथे ।
सीमाले हिम्मत गरिन् । दुबै जनाले काठमाडौंमा भेट्ने योजना बनाए । सीमा नै भिसा लगाएर काठमाडौं आउने भइन् । उनले नेपालको भिसा लगाइन् । जहाजको टिकट काटिन् । पहिलो पटक जहाज चढेर उनी दुबई पुगिन् ।
‘जहाज चढ्नासाथ मेरा दुबै कान बेस्सरी दुखेका थिए । पहिला कहिल्यै जहाज नचढेकाले होला,’ बिबिसी हिन्दीसँगको अन्तर्वार्तामा सीमाले भनेकी छन्, ‘दुबईमा ११ घन्टा कुर्नुप¥यो । मलाई धेरै डर लागेको थियो, निदाउन पनि सकिनँ ।’
मार्च १० तारिख गत फागुन २६ गतेको साँझ सीमा त्रिभुवन विमानस्थलमा झरिन् । सुरज त्यो दिन बिहानै काठमाडौं आइसकेका थिए ।
मार्च १३ गते अर्थात गत फागुन २९ गते यो जोडीले पशुपतिनाथमा हिन्दु परम्पराअनुसार विवाह ग¥यो । आफूले सीमाको सिउँदोमा सिन्दुर हालेको सचिनले बताएका छन् । उनले भने, ‘पशुपतिमा हिन्दु परम्पराअनुसार विवाह गरेपछि उनी हिन्दु भइन् । सात दिनसँगै बसेर उनी पाकिस्तान गइन्, म भारत फर्किएँ, छुट्टिएपछि थाहा भयो, हामीलाई त एक–अर्का बिना बाँच्न निकै मुस्किल रै’छ ।’
त्यसपछि सीमाले सधैँका लागि भारत आउने योजना बनाइन् । १० वर्षअघि १७ वर्षको उमेरमा विवाह भएकी सीमाका पति साउदी अरब गएका थिए । उनका बुवा आमा बितिसकेका थिए । एक भाइ र बहिनी पनि आफ्नै काम गरेर पाकिस्तानमा बसिरहेका छन् ।
उनले आफ्नो नाममा रहेको सम्पत्ति बेचिन् । आफ्ना चार जना छोराछोरीको पनि नेपाल आउने भिसा लगाइन् । गत मेमा फेरि उनी नेपाल आइन् । बच्चासँगै नेपाल आएकी उनी बस चढेर पोखरा पुगिन् । त्यहाँबाट दिल्ली पुगिन् ।
‘नेपाल–भारत सीमामा के–के चेकिङ हुन्छ भनेर मैले नेपालका महिलाहरूलाई सोध्थें । उनीहरूले मलाई सबै बताइदिन्थे,’ सीमाले भनिन्, ‘मेरा बच्चाहरू पनि देखेर होला सीमामा सुरक्षाकर्मीले मलाई अलि दया देखाए । म भारत आउन पाएँ ।’
उनी फेरि मे १३ मा भारत पुगिन् ।
सचिनले नोयडा नजिकैको आफ्नो ठाउँमा सीमालाई बस्ने सबै व्यवस्था बनाएका थिए । एक महिनासम्म उनीहरू लुकिछिपी बसे ।
पशुपतिमा विवाह गरेका उनीहरूले छोराछोरीको जन्मदर्ता र पढाइ लेखाइका लागि भारतमा कानुनी विवाह गर्नुपर्ने ठाने ।
‘हामीले एक जना वकिललाई यो कुरा भन्यौं । वकिलबाट कुरा प्रहरी कहाँ पुगेछ । प्रहरीले हामीलाई पक्राउ ग¥यो,’ सचिनले भने ।
सीमा भन्छिन्, ‘पाकिस्तान पनि एउटा देश हो । जहाँ म जन्मिएँ, हुर्किँए ठूली भएँ तर अब भारतमै बस्छु ।’ कसैले पाकिस्तान जानुपर्छ भन्यो भने बरू म विष खाइदिन्छु तर उनलाई छोडेर पाकिस्तान जान्नँ,’ उनले बताइन् ।
सचिनले पनि सीमाका बच्चालाई आफ्नै बच्चाजस्तो ठानेको बताएका छन् । ‘उनका बच्चा मेरा पनि बच्चा हुन्,’ सचिनले भने, ‘अहिले बच्चा खुसी छन्, उनी खुसी छिन्, म खुसी छु ।’
(एनडिटिभी, बिबिसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमबाट ।)
प्रकाशित मिति २०८० असार २६, मंगलवार ०६:२३ गते