काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी शोकमा पर्नु भएको छ । उहाँकी सहधर्मीणी सीता दाहालको असार २७ गते निधनभए सँगै उहाँ पत्नी शोकमा पर्नु भएको पर्नु भएको हो । स्वर्गीय सीता ६९ वर्षीया हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सो खबरसँगै अस्पताल परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ ।
बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिनु भएको थियो । उहाँका अनुसार प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई आजै बिहान अस्पताल ल्याइएको थियो । प्रा. डा. युवराज शर्मा प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक हुनुहुन्छ । उहाँका अनुसार सीतालाई हृदयघात भएको हो ।
छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरू, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरू, शुभेच्छुकहरू र पार्टीका कार्यकर्ताहरू समेत अस्पताल पुगेका छन् । सीताको निधनको समाचार संकलनका लागि पत्रकारहरूको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ ।
स्वर्गीय सीताको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ । आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनु भएको छ ।
नेताहरूद्वारा अस्पतालमा श्रद्धाञ्जली अर्पण :
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीलगायत शीर्षस्थ नेताहरूले अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना व्यक्त गर्नु भएको छ । सीताको निधनको खबर पछि अन्य विशिष्ट व्यक्तित्वहरू र पार्टी कार्यकर्ताहरू पनि अस्पताल परिसर पुगेका छन् ।
छोरा प्रकाशको निधनपछि उहाँको स्वास्थ्य स्थिति झनै खस्कियो :
२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् सीतालाई रोगले गाँज्दै लगेको थियो । पछिल्लो समय उहाँ लामो समयदेखि ओछ्यान पर्नु भएको थियो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो । करिब दुई वर्षदेखि अचेत अवस्थामा रहनु भएकी प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सास फेर्न कठिन भएपछि बिहान नर्भिक अस्पताल थापाथली ल्याइएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार थालिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
स्वर्गीय सीता माओवादीको सल्लाहकार हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्ड पत्नीसँगै नर्भिक अस्पताल पुग्नु भएको थियो ।
वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।
सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनु भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनु भयो । उहाँका अनुसार सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनु भएकी सीता सो दलले घोषणा गरेको जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत हुनु भएको थियो । पार्टीभित्रका संकट र विवाद समाधानमा उहाँले समन्वयकारी भूमिका निर्वाह समेत गर्ने गर्नु भएको बताइन्छ ।
सीता दाहालको निधनबाट अपूरणीय क्षति : माओवादी केन्द्र
यसैबीच, नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै त्यस्तो जानकारी दिनु भएको हो, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनु भएको छ ।’
गुरुङले वक्तव्यमा थप लेख्न् भएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’
प्रकाशित मिति २०८० असार २७, बुधबार ११:४६ गते