
काठमाडौं– प्रचण्ड’की पत्नी सीता दाहालको अन्तिम विदाई गरिएको छ । सीताको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डसहित दुई छोरीले दागबत्ती दिनु भयो । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई ‘राजकीय’सम्मानका साथ अन्तिम बिदाई गरिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले असार २७ गते त्यस्तो निर्णय गरेको हो ।
दाहाललाई राजकीय सम्मानका साथ बिदाई गरिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँका अनुसार बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोप्रति आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए ।
प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन् ।
सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।
दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रिया विहीन हुनुहुन्थ्यो ।
२०७४ साल मंसिरमा छोरा प्रकाशको निधन भए यता उहाँ खासै होस््मा आउन सक्नु भएको थिएन । प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको उहाँको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बताउनु भयो । उहाँका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई सास फेर्न कठिन भएपछि नर्भिक अस्पताल ल्याइएको थियो ।
सीता दाहाललाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु :
यसैबीच, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडाको कार्यालय प्राङ्गणमा आयोजित शोकसभामा उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाउँदै गर्दा उहाँका आँखाबाट आसु झरिरहेको प्रष्टै देखिन्थ्यो ।
उपस्थितहरूले श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।
शोकसभामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त :
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको मृत्युप्रति दुःख व्यक्त गर्दै सीता दाहालको मृत्युले आफू मर्माहत भएको बताउनु भएको छ । प्रधानमन्त्री मोदीले ट्विट गर्दै त्यस्तो उल्लेख गर्नु भएको हो ।
मोदीले प्रचण्डप्रति हार्दिक सम्वेदना व्यक्त गर्दै भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’
प्रधानमन्त्री मोदीले नेपाली र अंग्रेजी दुबै भाषाबाट संवेदना व्यक्त गर्नु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली :
यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त भएको छ । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाउनु भएको हो ।
पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० असार २७, बुधबार १५:३७ गते