सुन्दरबजार– लमजुङको सुन्दरबजार अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभाबकारी बनाउने भएको छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटारमा अवस्थित सरकारी अस्पताल २०७४ सालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभाबकारी बनाउन स्वास्थ बिमा दर्ता अधिकारी र सहजकर्ताहरूसँग अन्तरक्रिया एवम् छलफल कार्यक्रम असार २९ गते सरेको छ ।
अस्पतालको आफ्नै सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमका अध्यक्ष एवम् सुन्दर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अस्पतालले सरोकारवाला निकायसँग समन्वय गर्ने बताउदै अस्पतालको सेवाहरू थप गर्न आजैबाट लागि पर्ने बताउनु भयो ।
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले स्वास्थ्य बीमा कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउँदै स्वास्थ्य बीमा दर्ता सहयोगीहरूको उत्प्रेरणाका लागि वडाबाट केही बजेट बिनियोजन गर्ने र नगरपालिकामा पनि पहल गर्ने जानकारी दिनु भयो । उहाँले यो कार्यक्रम अझै आकर्षित गराउन आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा स्वास्थ्य बिमा दर्ता अधिकारी यशोदा गुरुङले यस्तो कार्यक्रम प्रत्येक ३/३ महिनामा गर्नु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा सुन्दरबजार अस्पतालका मेसु डाक्टर होबहादुर गुरुङ, मेडिकल अफिस डाक्टर शिशिर वि.क., सुन्दरबजार नगरपालिकाका विभिन्न आठ वटा वडाका स्वास्थ बीमा दर्ता सहयोगिहरूको सहभागिता थियोे । सुन्दरबजार अस्पतालले पहिलोपटक गरेको स्वास्थ बीमा सम्बन्धि कार्यक्रम अत्यन्तै राम्रो भएको दर्ता सहयोगीहरूले सामुहिक रुपमा बताउँदै यस्तो कार्यक्रमको निरन्तरता हुनु पर्ने बताएका थिए ।
उक्त कार्यक्रमको समापन मन्तव्यका क्रममा अध्यक्ष श्रेष्ठले असोज, पुस, चैत्र र असार महिनामा त्रैमासिक रुपमा यस्तो कार्यक्रम गरिने र उक्त कार्यक्रममा समीक्षा र भावी योजना तय गरिने जानकारी दिनु भएको छ । उक्त कार्यक्रमको सञ्चालन सुन्दर बजार अस्पतालका कर्मचारी बुद्ध राज योङ्हाङ् लिम्बुले गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८० असार २९, शुक्रबार २०:१४ गते