लमजुङ– जिल्लाका तीन कार्यालयहरू प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र कृषि विज्ञ केन्द्रले संयुक्त रुपमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेका छन् । जिल्ला सदरमुकाम स्थित समन्वय समितिको सभाहलमा सो कार्यक्रम असार ३१ गते गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन कार्यालय लमजुङ/मनाङका प्रमुख अजय अधिकारीको अध्यक्षतामा भएको हो ।
सो अवसरमा प्रस्तुतिका साथ प्रश्न र सुझाव समेत सुन्नु भएपछि कार्यक्रमका प्रमुख अतिथि गुरुङले कार्यक्रममा प्राप्त सुझावहरू समेटी आउँदो वर्ष सुधारका थप उपलब्धीपूर्ण काम हुने छन् भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले जिल्लाका सबै कार्यालय र आठै पालिकासँग समन्वय गरी यसरी कार्यप्रगतिको समीक्षा गर्ने कार्यमा समन्वय समितिको तर्फबाट समेत भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको सुरुमा कृषि विज्ञ केन्द्रका प्रमुख सुदीप खतिवडाले सो कार्यालयबाट आव २०७९/८० को अवधिमा भए गरेका कार्यहरूको प्रगतिका बारेमा एक कार्यपत्र प्रस्तुत गर्दै वर्षभर जिल्लामा सञ्चालन गरिएका कार्यक्रमका बारेमा जानकारी दिदै, कुल बजेट, शीर्षक अनुसारको कार्यक्रमको प्रगति त्यसको बजेट र खर्चको स्थिति र उपलब्धी अर्थात प्रगतिको स्थितिका बारेमा जानकारी दिनु भएको थियो ।
उहाँले कार्यालयको समग्र प्रगतिको स्थिति ६८ प्रतिशत रहेको जानकारी दिनुभयो ।
उहाँले लमजुङमा कुल नजसंख्या एक लाख ५५ हजार ८५२ रहेकोमा २५.७ प्रतिशत पुरुष र ३१.२ प्रतिशत महिला कृषिमा आवद्ध रहेको उल्लेख गर्नु भयो । उहाँका अनुसार कृषि योग्य भूमिमा ७५ हेक्टरमा सिंचाई सुविधा रहेको छ । त्यस्तै, प्रगति कम भएका कार्यक्रमहरूको विवरण र ती कार्य प्रगति गर्न नसक्नाका कारणहरूसमेत उहाँले प्रस्तुत गर्नु भएको थियो ।
कृषि विज्ञ केन्द्रका प्रमुख खतिवडाले आफ्नो कार्यालयको काम समन्वय गर्ने भूमिकाको हो तर यदि कसैले त्यसमा असहयोग ग¥यो भने पनि त्यस वापत हुने के हो ? भन्ने प्रष्ट कानुन नहुँदा पनि कार्यसम्पादनमा समस्या सिर्जिने गरेको र त्यसको असर प्रगतिमा पर्ने गरेको कटुसत्य सुनाउनु भएको थियो ।
यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको कार्य प्रगति सो कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक रुपेश श्रेष्ठले गर्नु भयो । उहाँले सो कार्यलयबाट चालु आवको अवधिमा सम्पन्न भएका कार्यक्रमको प्रगति विवरण र वस्तुस्थितिका बारेमा एक कार्यपत्रमार्फत प्रष्ट्याउनु भएको थियो ।
उहाँले लमजुङ मूलतः बाख्रा पालनका लागि उपयुक्त हावापानी भएको जिल्ला रहेको जानकारी दिनुभयो र त्यस्ता कार्यक्रममा प्रयास गरिएको छ भन्नुभयो । दोस्रो चरणमा भैंसी पालन व्यवसाय रहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, लमजुङमा सांस्कृति एवम् धार्मिक मान्यता अनुसार पनि भेडाको पालन हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले घले पनिरवारमा भेडाको मात्र मासु खाने परम्परागत संस्कार, संस्कृति तथा धार्मिक मान्यता भएका कारणले गर्दा अन्य जिल्लामा भेडा लोप भइसक्दा पनि लमजुङमा भने यो व्यवसाय अझै जारी रहेको उल्लेख गर्दै भेडाको संख्या १३ हजार हाराहारी रहेको जानकारी दिनुभयो ।
उहाँले आवको सुरुमा वंगुरहरूमा स्वाइन फिभरको प्रकोप फैलिएको र पछिल्ला महिनामा लम्पी स्किन रोगको प्रकोप बढेका कारणले चौपायमा ठूलो क्षति भएको जानकारी दिनुभयो । स्वाइन फिभरका कारणले केही पकेट कार्यक्रम समेत प्रभावित भएको जानकारी दिनु हुँदै पछिल्ला दिनमा फैलिएको लम्पी स्किन रोगको भ्याक्सिन ढिला आउँदा चौपाया बचाउन कठिन भएको उल्लेख गर्नुभयो ।
उहाँले कार्यालयमा प्राविधिक संख्या दरबन्दी कम छ, भएको दरबन्दी पनि पूर्ति हुन सकेको छैन, यो विज्ञ केन्द्र प्रदेश अन्तरगतको हो तर जिल्लामा रहेको हुँदा हिजोका दिनको जिल्ला पशु सेवा कार्यालय जस्तै यो कार्यालयबाट पनि आशा, अपेक्षा राखिने गरेको हुँदा पनि हामीप्रति गुनासा बढी आउने गरेको कटुसत्य खोल्नु भयो । उहाँले यो कार्यालयको नेचर बुझिदिन समेत सरोकारवालाहरूलाई आग्रह गर्नु भयो । उहाँले स्थानीयस्तरमा पशु सेवाको काम गर्ने पालिकाहरू हुन्, छन् र त्यहाँ पशुपन्छी शाखा समेत सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
सो अवसरमा रैथानेबालीको संरक्षण र प्रवद्र्धनका प्रयास गरिएको जानकारी दिदै कुषिबाट कोटो, फापर आदि खेली लगाउन उत्प्रेरित गरिएको तथा पशु विज्ञ केन्द्रबाट स्थानीय जानका कुखुरा र च्वाँचे पालनमा जोड दिइएको जानकारी दिइएको थियो ।
यसैगरी, कार्यक्रमका सभाध्यक्ष एवम् प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका प्रमुख अजय अधिकारीले आफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले आफ्नो कार्यालयको यस्तो कार्यक्रमका लागि बजेट नभए तापनि कृषि र पशुसँग मिलेर यो कार्यक्रममा सहभागी भएको जानकारी दिनुभयो । उहाँले सो कार्यालयबाट लमजुङ र मनाङमा गरिएका कार्यक्रमको संक्षिप्त विवरण एवम् प्रगति प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा विभिन्न पत्रकारहरू तथा किसानहरूले विविध प्रकारका जिज्ञासा राख्दै जानकारी माग गर्नुका साथै सुझाब समेत दिएका थिए ।
प्रश्न राख्दै सुझाव दिनेहरूमा पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, महासंघका पूर्वकेन्द्रीय सदस्य किसान संगीत, निवर्तमान जिल्ला अध्यक्ष आश गुरुङ, पूर्वजिल्ला अध्यक्ष कृष्ण केसी, निवर्तमान गण्डकी प्रदेशका सदस्य कमला केसी सहित हुनुहुन्थ्यो ।
यसैगरी, किसानहरू केशलाल तामाङ, शोभा अधिकारी सहितले जिज्ञासाका साथमा सुझाव समेत राख्नु भएको थियो । तामाङले प्रगति तथा अनुदान आजका दिनमा पनि फिल्डमा भन्दा कागजमा बढी केन्द्रीत हुने गरेको औल्याउनु भयो । त्यस्तै, अधिकारीले आफू व्यवसायिक कृषि पेशामा लागेको तीन वर्ष भयो तर पालिकामा पनि कृषि तथा पशु सेवाका काम हुन्छन् भन्ने आजसम्म थाहा पाएको थिइन भन्नुभयो । उहाँले आफूहरूलाई तालिम तथा भ्रमणको खाँचो रहेको औंल्याउनु भयो ।
त्यस्तै, कार्यालयहरूले तथ्यांकमा आधारित परिणाम मुखी प्रगति देखाउन नसकेको, बजारीकरणमा ध्यान नदिएको, कोशेली घरको आवश्यक रहेको, जिल्लामा मासु, दूधको आत्म निर्भरताको कुरा उठेता पनि फलफूल, तरकारी र खाद्यान्नको स्थिति प्रष्ट नभएको, कृषकको क्षमताको पहिचान गरेर साझेदारी कार्यक्रम ल्याउनु पर्नेमा त्यस तर्फ ध्यान नदिएकै कारण कृषकहरू सेवाबाट बञ्चित हुन पुगेको, पालिकाहरूसँग समन्वयको अभाव रहेको, प्रधानमन्त्री आधुनिकीकरण परियोजना भएर पनि नमूना लायक काम काम गर्न नसकी परम्पागत शैलीमा रुमलिएको लगायतका प्रश्न र सुझावहरू दिइएको थियो ।
सो अवसरमा उत्कृष्ठ कार्य सम्पादन गर्ने तीन वटै कार्यालयका कर्मचारीलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका डा. सुनिल न्यौपाने अधिकृत आठौं, टुकबहादुर बोहरा चालक, कृषि विज्ञ केन्द्रका विजयराज पौडेल अधिकृत छैटौं(बाली संरक्षण), मित्रबहादुर गुरुङ कार्यालय सहयोग र यमवीर गुरुङ चालक तथा प्रधानमन्त्री आधुनिक परियोजनाका हरि मिजार अधिकृतस्तर सातौं, नवीन श्रेष्ठ नाप्रास र भगवत बोगटी चालक रहेको पशु सेवा प्राविधिक सुस्मिता अधिकारीले बताउनु भयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका अर्थ विज्ञ मदन रेग्मीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभएको थियो भने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका डा. सुनिल न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।
सो अवसरमा जिल्लामा धान रोपाईँ के कति भएको हो ? भन्दै राखिएको प्रश्न भने अनुत्तरित नै रहेको थियो ।
प्रकाशित मिति २०८० असार ३१, आईतवार १९:२१ गते