बेसीशहर– लमजुङको दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ एम्बुलेन्स सेवा सुरु भएको छ । भारत सरकारले भारतीय दूतावासमार्फत गरेको एम्बुलेन्स सहयोग पालिकामा प्राप्त भएसँगै दुवै पालिकामा सो सेवा साउन १ गतेबाट सुरु भएको हो ।
भारतले दुवै पालिकालाई ख वर्गको एम्वुलेन्स प्रदान गरेको जानकारीमा आएको छ ।
दुवै पालिकामा अध्यक्ष तथा मेयरको पहलमा ती एम्बुलेन्स प्राप्त भएका हुन् । दोर्दी गाँउपालिका अध्यक्षले उक्त एम्बुलेन्स मार्फत गाउँपालिका अन्र्तगत बासिन्दाले सहज र सर्वसुलभ तवरले प्रयोग गर्न पाउने वाताबरण सिर्जना गरिने बताउनु भएको छ । उहाँका अनुसार गाँउपालिका भित्रका गर्भबती, सुत्केरी महिला, गरिबी, असहायहरूको लागि निःशुल्क सेवा प्रदान गरिने छ । उहाँले भन्नुभयो, ‘गाँउपालिकाले एम्बुलेन्स व्यवस्थापनमा सहजिकरणका लागि सहयोग गर्नुहुने अर्चलबोट निवासी समाजसेवी पूर्णबहादुर कुँवर र भारत सरकार तथा भारतीय दूतावासलाई गाउँपालिकाले हार्दिक आभार व्यक्त गर्दछ ।’
उता मध्यनेपाल नगरपालिकामा प्राप्त भएको एम्बुलेनस मध्यनेपाल नगरपालिका– १० को नेटा स्वास्थ्य चौकीको मातहातमा सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले नेटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी गरेको छ । उक्त सेवालाई प्रभावकारी एवम् उपलब्धीपूर्ण बनाउन एम्वुलेन्स सेवा आवश्यक भएको हुँदा सञ्चालनमा ल्याइएको हो ।
मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले नागरीकलाई स्वास्थ्य सेवामा सहज बनाउन एम्बुलेन्सको व्यवस्था गरेको जानकाी दिनु भएको छ । उहाँका अनुसार विशेष गरी नगरपालिका भित्रका गरीब, विपन्न, जेष्ठनागरिक र असक्त व्यक्तिहरूलाई सुलभ रुपमा सेवा प्रदान गरिने छ ।
भारत सरकारले नेपाल स्थित आफ्नो दुतावासमार्फत दोर्दी गाउँपालिका तथा मध्यनेपाल नगरपालिका समेत नेपालका विभिन्न जिल्लामा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस सहयोग गरेको जनाएको छ ।
स्मरणीय छ, मध्यनेपाल नगरपालिकालाई भारत सरकारबाट यसअघि दुई वटा एम्वुलेन्स उपलव्ध गराइसकेको छ । सो मध्ये एउटा एम्वुलेन्स वडा नं. ४ स्थित दुई पिप्ले स्वास्थ्य चौकी र अर्को चिसंकु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुँदै आएका छन् ।
प्रकाशित मिति २०८० श्रावण २, मंगलवार ०६:५४ गते