तीन सातादेखि सार्वजनिक भएका छैनन् चीनका विदेश मन्त्री किन ?

तीन सातादेखि सार्वजनिक भएका छैनन् चीनका विदेश मन्त्री किन ?

एजेन्सी

@antaranganews

२०८० साउन २ गते मङ्गलबार ०८:५१

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन । यसबाट पनि कम्युनिष्ट शासनमा बन्द घेरा हु्न्छ र उनीहरूको प्रतिकुल समाचार सार्वजनिक हुँदैनन् भन्ने यो घट्ना पछिल्लो उदाहरण बनेको छ ।

कहाँ छन् चिनियाँ विदेशमन्त्री छिन काङ ? भन्ने सर्वत्र चासो

काठमाडौं– चिनियाँ विदेशमन्त्री छिन काङ करिब तीन साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यतिबेला उनी कहाँ छन् ? भन्ने सर्वत्र चासोको विषय बनेको साउन २ गते खुलासा भएको हो । ५७ वर्षीय काङ अहिले कहाँ छन् भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन ।
चिनियाँ विदेश मन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । सो पत्रिकाका अनुसार कोरोना महामारीको प्रभाव कम भएको र चीनले बेइजिङ र संसारभरि कूटनीतिक गतिविधि बढाइरहेका बेला विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अडकलबाजी हुन थालेको हो । समाचारमा भनिएको छ, ‘गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन् ।’
जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो । बोरेलको बेइजिङ भ्रमण रद्द भयो ।

उनी सीका विश्वासपात्र मानिन्थे :
उनी सीका विश्वासपात्र मानिन्थे । अन्यथा चीन जस्तो देशको विदेश मन्त्रीको पद पाउन सहज हुँदैनथ्यो । गत साता इन्डोनेसियाको जकार्तामा भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ भाग लिन गएनन् । उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो । वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक जना प्रवक्ताले स्वास्थ्यका कारण काङ इन्डोनेसिया जान नसकेको बताएका थिए ।
हिजो (१ गते) यही विषयमा जिज्ञासा राख्दा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन् । उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि पनि सामान्य रूपले चलिरहेको बताइन् ।
तर, विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ । चीन बाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन । यसबाट पनि कम्युनिष्ट शासनमा बन्द घेरा हु्न्छ र उनीहरूको प्रतिकुल समाचार सार्वजनिक हुँदैनन् भन्ने यो घट्ना पछिल्लो उदाहरण बनेको छ ।
को हुन् विदेश मन्त्री काङ ?
सन् १९६६ मा जन्मिएका काङले १९८८ मा सर्भिस ब्युरो फर डिप्लोम्याटिक मिसनमा काम सुरू गरेका उनी सन् १९९२ देखि १९९५ सम्म विदेश मन्त्रालयको पश्चिम युरोप मामिलासम्बन्धी विभागमा काम गरेका थिए ।
राष्ट्रपति सीका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउनमा उनको प्रमुख भूमिका हुन्थ्यो । यो बीचमा उनी सीका विश्वासपात्र बनेका थिए ।
बेलायतको राजदूत हुनुअघि उनले त्यही दूतावासमा काम गरेका थिए। दुई पटक चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दा उनी निकै कडा रूपमा चीनको आन्तरिक र बाह्य नीतिको रक्षा गर्थे । चीनको ‘वुल्फ वारियर’ कूटनीतिज्ञमध्ये एक जना उनी पनि हुन् ।
२०१७ मा उनी चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल विभागका महानिर्देशक भएका थिए भने २०१८ देखि २०२१ मा उनले उपविदेश मन्त्रीको जिम्मेवारी पाएका थिए ।
कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले काङलाई राजदूत बनाएर अमेरिका पठाएका थिए । १७ महिना अमेरिकामा राजदूत हुँदा उनले दुई देशको सम्बन्धबारे आफ्नो स्वभावअनुसार तीखो टिप्पणी गरेनन् बरू दुई देशको सम्बन्ध बलियो बनाएर अघि बढाउन साझा धरातल रहेको बताएका थिए ।
अमेरिकामा रहँदा उनले सिन्जियाङ, हङकङ र ताइवान मुद्दामा आफ्नो कुरा खरो रूपमा राख्थे ।
सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता काङले ट्विटरका नयाँ मालिक एलन मस्कसँग गाडीमै कुराकानी गरेको तस्बिर पनि सार्वजनिक गरेका थिए ।
संयुक्त राज्य अमेरिकाका लागि पूर्वराजदूत समेत रहेका काङ चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट नेता मानिन्छन् । पछिल्ला दिनमा अमेरिकी अधिकारीको उच्चस्तरीय भ्रमणमा महत्त्वपूर्ण भूमिका खेल्दै सम्बन्ध सुधार गर्नेतर्फ उनले काम गर्ने ठानिएको थियो । सीसँगको निकटताका कारण काङ निकै छिटो समयमै विदेश मन्त्रालयको जिम्मेवारीमा आइपुगेको बताइन्छ । गत अक्टोबरको राष्ट्रिय सम्मेलनले काङलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनाएको थियो ।
पछिल्ला वर्षहरूमा चिनियाँ कूटनीतिमा नयाँ ‘आक्रामक’ शैली ल्याउने ‘वल्फ वरियर’का रूपमा काङले चर्चा पाएका थिए ।
उनी यसरी हराउनुको नतिजा कुन किसिमको हुन्छ भन्नेमा विभिन्न टीकाटिप्पणी गरिन थालेको छ । तर, सन् २०१२ मा राष्ट्रपति हुनुअघि सी पनि करिब दुई हप्ता सार्वजनिक रूपमा देखिएका थिएनन् ।

प्रकाशित मिति २०८० श्रावण २, मंगलवार २०:५१ गते
हजुरको प्रतिक्रिया