नागढुङ्गा– सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्रै पुरा गरिने

नागढुङ्गा– सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्रै पुरा गरिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ३ गते बुधबार ०६:२५

थपिएको समयअनुसार यही गतिमा काम भइरहेमा २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।

मुख्य टनेल करिब चार सय मिटर खन्न

काठमाडौँ– नागढुङ्गा– सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्रै पुरा गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको अनुगमनका क्रममा साउन २ गते त्यस्तो जानकारी दिइएको हो ।
मन्त्री ज्वालाले सो क्रममा सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनु भएको हो । निरीक्षण पछि मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने समेत उहाँले बताउनु भयो ।
सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिनु भएको थियो । उहाँका अनुसार अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । उहाँले भन्नुभयो, ‘आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ, अब ५२५ मिटर खनेपछि नागढुंगा सुरूङ ‘ब्रेक थ्रु’ हुन्छ ।’
यस मार्गमा नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । काठमाडौंको सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङ अब ५२५ मिटर खनेपछि ‘ब्रेक थु्र’ हुने भएको हो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ ।
१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ । पेटी दुवैतर्फ एक÷एक मिटर उल्लेख गरिएको छ ।
आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ । सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ ।
यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ । त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ ।
सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ । यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने समेत विश्वास गरिएको छ ।
आयोजनाको पछिल्लो प्रतिवेदन (१४ जुलाई अर्थात गत असार २८ गतेसम्म) को प्रगति विवरण अनुसार सुरूङको प्रगति ८०.५ प्रतिशत भएको देखिन्छ । सो प्रतिवेदन अनुसार समग्र आयोजनाकै भौतिक प्रगति ५५.१३६ प्रतिशत सकिएको छ । यसको वित्तीय प्रगति ५८.७० प्रतिशत भएको छ ।
आयोजनाको मुख्य सुरूङ दुई हजार ६८८ मिटर लामो छ । प्रतिवेदन अनुसार यस सुरूङको पूर्व (काठमाडौं) तर्फ ९६९.८ मिटर र पश्चिम (नागढुंगा) तर्फबाट एक हजार १९३.२० मिटर गरेर जम्मा २१६३ मिटर खनिसकिएको छ । अब ५२५ मिटर खन्न बाँकी छ ।
त्यस्तै ‘इभ्याकुएसन’ सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ । यसको दुई हजार ५०१.८० मिटर सुरूङ खनिएको छ ।
त्यसमा एक हजार ३०१.७० मिटर र पश्चिमबाट एक हजार २००.१० मिटर सुरूङ खनिएको छ । यसरी कुल दुई हजार ५०१.८० मिटर खनिएको छ । यसको भौतिक प्रगति ९७.८ प्रतिशत सकिएको छ । यो सुरूङ छिट्टै ‘ब्रेक थ्रु’ हुने आयोजनाको दावी छ ।
तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको, बक्स कलभर्ट चार वटै निर्माण सकिएको, एउटा ओभरपास पनि निर्माण भइसकेको, तीन वटै पुल निर्माण सकिएका, फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको प्रतिवेदनमा उल्लेख छ ।
क्रस– प्यासेजको भने ११०.९० मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ ।
नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका)को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो ।
आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ । यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो । जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो ।
कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ । बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ । सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ ।
जाइकाले उपलब्ध गराएको रकम भने ठेक्का मार्फत् आयोजना निर्माणमा खर्च भइरहेको छ ।
कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ । कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो । आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो । म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो ।
यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो । २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ ।
अहिलेकै गतिमा काम हुने हो भने तोकिएकै अवधिमा सकिने आयोजना प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको औपचारिक निर्माण २०७६ कार्तिक २८ गतेदेखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो ।
थपिएको समयअनुसार यही गतिमा काम भइरहेमा २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।
सुरुङमार्गको स्थलगत निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीहरू सहभागी थिए ।

प्रकाशित मिति २०८० श्रावण ३, बुधबार ०६:२५ गते
हजुरको प्रतिक्रिया