
काठमाडौं– व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’लाई बिदाइ गरिएको छ । युवा तथा खेलुकद मन्त्री डिगबहादुर लिम्बू, एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ, नेपालका लागि जरायली राजदूत हनन गोदरले मन्त्रालयमा आयोजित एक कार्यक्रममा साउन ३ गते बिदाइ गर्नु भएको हो ।
मन्त्री लिम्बुले साम्बा नेपाली फुटबलमा ठूलो संभावना बोकेको खेलाडी रहेको भन्दै भन्दै ईजरायलमा पनि राम्रो खेल प्रदर्शन गर्न शुभकामना दिनु भयो । यसैगरी, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपालको खेलाडीले युरोपको क्लबमा खेल्न पाउनु खुसीको अवसर रहेको बताउँदै शुभकामना दिनुभयो ।
नेपालका लागि इजरायली राजदूत हानन गोदरले यो खुशीको क्षण भएको र सावित्राको खेल हेर्न सबै प्रतिक्षारत रहेको उल्लेख गर्नु भयो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड लमजुङे चेली सावित्रा भण्डारी साम्बालाई इजराइलको हापोएल रानानाबाट व्यावसियक फुटबल खेल्नका लागि बिदाइ गरिएको हो । साम्बा १ अगस्ट अर्थात साउन १६ गते इजराइल जानेछिन् । उनी गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन् ।
हापोएल रानानाले सावित्रासँग सम्झौता गरिसकेको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।
बिदाइमा साम्बाले युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको बताइन् । साथै उनले नयाँ चुनौतीका लागि आफू तयार भएको पनि बताइन् । युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको भन्दै सावित्राले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘मेरा लागि यो फरक र नयाँ गन्तव्य हो, मेरा लागि यो नयाँ चुनौती हो, म त्यसका लागि तयार छु’, भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन् । उनले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागि पर्ने उनको भनाइ छ । आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बददल्न आवश्यक रहेको उनले बताइन् ।
उनले भनिन्,‘मन्त्रज्युबाट यो खालको अपेक्षा गरेकी थिइनँ । त्यहीमाथि एन्फाको अध्यक्ष आउनुभएको छ, इजरायल दुतावासबाट आउनु भएको छ, परिवार आउनुभएको छ, मैले उहाँहरूबाट यस खालको सम्मानको अपेक्षा गरेकी थिइनँ, मैले बंगलादेशबाट भिसाको अपिल गर्ने त्यसपछि गइहाल्छु भन्ने सोचेकी थिएँ, बंगलादेशबाट अस्ति आएँ, हिजोको दिन बाँकी थियो, यति छोटो समयमा यति ठूलो कार्यक्रम राखिदिनुभयो । मन्त्रीज्यूप्रति आभार व्यक्त गर्दै साम्बाले भनिन्, ‘एशियाबाट युरोप लिगमा खेल्दैछु, मेरा लागि चुनौति छ, तर म सहजै स्वीकार्न तयार छु । जसरी मैले दक्षिण एशियामा प्रमाणित गरेकी छु, यो मेरो लागि महत्वपूर्ण हुनेछ । यो इक्जामको लागि मेरो पहिलो चरण हो, फाइनल इक्जामसम्म आफूलाई तयार राख्ने छु । आम नेपाली महिला फ्यान्स, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका मैले खोल्दैछु । फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातारवण बनाउनेछु । देश र फ्यान्सको लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु ।’ उनले थप भनिन्, ‘यो माया, सम्मान र बिदाइ आश गरेको थिइनँ ।’
भारतीय क्लबबाट व्यावसायिक लिग खेलिसकेकी उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जित्न सफल भएकी थिइन् ।
यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिगको उपाधि जितेकी थिइन् ।
प्रकाशित मिति २०८० श्रावण ३, बुधबार २०:१८ गते