कुनैबेला महिलाको सुन्दरतालाई बस्तु बनाएर व्यापार गरेको भनि ‘मिस नेपाल’को चौतर्फी विरोध भएको थियो । त्यसप्छि यो कार्य रोकिएको छ । तर गाउँ शहरमा सामाजिक सञ्जालले जोडिएका बेला केही धार्मिक, सांस्कृतिक परम्परा भडिकलो र फजुल खर्चले तीब्रता हुदै गएको छ । बहु साँस्कृतिक, भाषिक, जातीयताको संरचना भएकाले हाम्रो समाजमा बाह्रै महिना कुनै न कुनै पर्व पर्दछ । बडादशैं हिन्दुहरूको लागि बडादशै– तिहार । तीज हिन्दु महिला, ल्होछार गुरुङ, शेर्पा, तामाङ, माघी मगर, थारु, छन्त्याल, गौरा पर्व सुदुरपश्चिम, होली दुई दिन पहाड–हिमाल, छठ तराई मुलमा, मुस्लिमका लागि रामजन, ईद छँदै छन् । तर पनि पछिल्लो समय साउन महिना शुरुसँगै महिलाहरूको हातमा मेहन्दी र हरिया चुरा लगाउने प्रचलन सुरु भएको छ । सामाजिक सञ्जालमा हरियो चुरा लगाएको श्रीमती, दिदी–बहिनी, छोरी–बुहारी र श्रीमतीले आफ्ना लागि हरियो चुरा लगाएको भनेर शब्द, तस्वीर देखिन थालेको छ ।
समाजमा संस्कृतिको पनि परिवर्तन हुँदै गएको छ । मौलिक संस्कृितहरू हराउँदै गएका छन । देखासिकी र आयातित संस्कृतिले समाजलाई डोर्याएको छ । छिमेकी मुलुक भारतको प्रभावमा परेर केही बर्ष यता आएर महिलाहरूले साउन महिनामा हरियो चुरा र हरियो कपडाको पहिरन गर्ने प्रचलन आएको छ । विशेष गरी शहरी क्षेत्रमा यसको प्रभाव बढी भए पनि यसले ग्रामीण क्षेत्रमा समेत सालिन्दा यसको प्रभाव बढ्न थालेको छ । मानव समाज जंगली युगबाट अहिलेको आधुनिक सभ्यतामा आएको करिव ३५ हजार बर्ष भएको छ । धर्म, सस्ंकृति, रहनसहन, साजसज्जा, पहिरन आदिको विकास हुन थालेको पनि ७ हजार वर्ष पुगेको अनुमान छ । धातुहरू सुन, चाँदीका गर गहनाको सुरुवात पनि प्राचीन कालदेखिनै भएको मानिन्छ । तर त्यो समयमा हरियो चुरा, पोते र हरियो कपडाको चर्चा कतै पनि गरेको पाइन्न ।
नेपालमा चुराको प्रचलनको इतिहास राजा पृथ्वीनारायण शाहसंग जोडिएको देखिन्छ । त्यसको प्रसंग यस्तो छ– राजा पृथ्वीनारायण शाह गोरखकालीका भक्त थिए । उनलाई एक दिन गोरखकालीले सपना दिइन् । सपनामा पृथ्बीनारायणलाई गोरखकालीले भनिन्– ‘तिम्रो पूजा आजाबाट म प्रशन्न छु । तर तिम्रो पूजाआजा पूर्ण छैन । किनभने मलाई पूजा गर्दा चुरा र धागो चढाउनु पर्दछ । भने पछि पृथ्बीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस गएको बेला चार घर चुरा र धागोको व्यापार गर्ने मुस्लिम समुदायका मानिसहरू ल्याएर गोरखा बजार नजिक ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको इतिहास छ । यसबाट के बुझिन्छ भने नेपालमा त्यतिबेलासम्म चुरा र धागोको प्रचलनमा नआएको देखिन्छ । यसरी इतिहास पढ्दा त्यती बेला नेपालमा चूराको प्रचलन रहेनछ भन्ने कुरा बुझिन्छ । हरियो चुरा र पोते लगाउने धार्मीक तथा सांस्कृतीक महत्व छैन । तर सुन्दरता र फेसनको रुपमा यसको प्रयोग भएको छ ।
चुराको इतिहास इजिप्टबाट सुरु भएको मानिन्छ । नेपालमा भने भारतीय संस्कृती र वजारबाट यसको प्रचलन भएको मान्न सकिन्छ । आधुनिक युगमा चुरा श्रृङ्गारको रुपमा नारीहरूले लगाउने प्रचलन भएपनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरूमा हरियो चुरा श्रावण महिनामा लगाउनु पर्ने देखिदैन । हिन्दु धर्म अनुसार श्राबण महिनामा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख शान्ती, समृद्धि, विद्या, धन लगायतका विषयमा सफलता प्राप्त हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको संस्कृतीविद्हरूको भनाइ छ । विशेष गरी शिवजीको आरधना गर्दा साउनको सोमवार जल, दुध, भाङ्, धतुरो चढाउने वैदिक परमंपरा रहेको छ । तर आजभोलि हाम्रो संस्कृतीलाई थप व्याख्या गरेर हरियो चुरा र हरियो बस्त्र लगाएर शिवजीको आराधना गरे विवाहित महिलाहरूले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिलाले आफूले खोजे जस्तो पति पाईने विश्वासका साथ ब्रत लिने चलन बढेको छ । संस्कृत, आध्यात्मिक शास्त्रका विद्वानहरू भन्दछन्– ‘श्रावण भगबान शिवजीको अवतार भएको महिना हो । धार्मिक हिसाबले लिदा पूजा आजामा पहेलो र रातो रंग शुभ मानिन्छ । तर हरियो रंग किन प्रचलनमा आयो ? संस्कृती विदहरू भन्दछन– ‘धार्मिक रुपमा हरियो चुराको बर्णन कही कतै भेटिएको छैन ।’
हरियो चुराको यथार्त महत्व नबुझी टोल, छिमेकको वातावरणको प्रभावले गर्दा देखा सिकी गरेर साना उमेर देखि वयस्कहरूले समेत श्रावण महिनामा हरियो चुरा लगाई आफूलाई सौन्दर्यता देखाएका हुन्छन् । सौभाग्य सूचक मानिने भएकोले चुरा नारीहरूले लगाउने चलन छ । नारीहरूले आफ्नो संस्कृति अनुसार चाडपर्व, विवाह जस्ता समारोहमा अनेकौं डिजाइन र विभिन्न रंगका चुरा लगाउदछन् । सौभाग्य सूचकमा रातो चुराले प्राथमिकता पाएपनि आजभोलि नारीहरूले साउन महिनामा हरियो चुरा लगाउने प्रचलन बढ्दो छ । अहिले आधुनिक युवा युवतीहरूले हरियो रंगलाई प्रेम र वातावरणको प्रतिक मानेका छन । हरियो लुगाले प्रकृतीको सम्मान गरेको भन्ने युवतीहरू प्नि भेटिन्छन । त्यसैले साउन महिनामा महिलाहरूले हरियो चुरा, हरियो पोते र हरियो कपडा लगाएर प्रकृतीको सम्मान गरेको भन्नेहरू पनि छन । तर साउन महिनामा मात्र किन ? भनि प्रश्न ग¥यो भने त्यसको उत्तर भने आउदैन । साउन महिनाको हरियो चुरा, हरियो कपडा र हरियो पोते मात्र होइन सुनका गर गहनाले पनि उत्तिकै स्थान लिने गरेको छ । कतिपय घर परिवारमा यो फेसनले द्वन्द्व श्रृजना गरेको छ । सम्पन्न परिवारको लागि भने यो प्रचलनले केही नहोला । तर मध्यम र विपन्न वर्गमा यो पहिरनले मानसिक रुपले द्वन्द्व र झैझगडा समेत हुने गरेको छ । यसतर्फ भने कसैले ख्याल नगरेको महसुस हुन्छ । सार्वजनिक स्थलमा देखाइने यस किसिमको फेसनले समाजमा फाइदा भन्दा बेफाइदा बढी हुने गरेको छ ।
साउन महिनाको सोमबार शिव मन्दिरहरूमा हिन्दू नारीहरूले आफ्नो सौभाग्य र असल पतिको कामना गर्दै दर्शन तथा जल चढाउने गर्दछन । धार्मिक मान्यता अनुसार साउन महिना भगवान शिवलाई मनपर्ने महिना र सोमबार मन पर्ने दिन भएको मानिन्छ । साउनका सोमबारभरी चोखो बसी व्रत बस्ने तथा चोखो खाने चलन छ । साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र श्रृगारमा सजिएर उपासना गर्ने चलन छ । हिन्दु धर्म मान्ने धेरै महिला साउनका सोमबारभर व्रत बस्छन । साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले सतीलाई प्रकृतिका रुपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ । साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ ।
बिशेष गरी साउनमा रातो, हरियो र पहेलो रंगको बढी प्रयोग भएको देखिन्छ । यी सबै रंग मिसिएको झिलिमिली पहिरन, हातभरी हरिया, राता र पहेला चुराहरू, हत्केलामा रातो मेहन्दी, गलामा हरियो, रातो, पहेलो पोतेहरू अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाहरूले आफ्नो सौभाग्यको रुपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ । बिहे गरेका महिलाहरूले शिवजीको आराधनामार्फत आफ्ना श्रीमानहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन, सुसंस्कृत श्रीमान पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलन रहेको छ । अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग र संवेदना उत्पन्न गर्ने महत्वपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सात चक्र छन र ती चक्रहरूको प्रभाव सात रंगसँग छ । त्यसरी नै महिलाहरूले प्रयोग गर्ने पहिरन र गहनाहरूका रंगले बैज्ञानिक र आध्यात्मिक महत्व राख्दछन । त्यसैले जीवन जगत र पदार्थ संग रंगहरूको प्रभाव संगसंगै रहन्छ । शिवलाई कल्याणकारी, अरुको रक्षा गर्ने र शक्तिका प्रतिकको रुपमा मानिन्छ ।
इजिप्टबाट सुरु भएको चुराको प्रचलन कसरी संसार भर प्रचलनमा आयो । यो अध्ययनको विषय बन्ला ! तर मध्यकालमा हिन्दु संस्कृतिको विकाससंगै चुराको प्रयोग र महत्व संस्कृतिको रुपमा प्रचलनमा आएको पाइन्छ । चुरा लगाउने प्रचलन दक्षीण एशियाली मुलुक मात्र नभएर संसारका अन्य मुलुकमा पनि नारीहरूले आफ्नो श्रृङ्गारका रुपमा चुरा लगाउने प्रचलन छ । चुराले श्रृगार मात्र होइन बगलादेशमा प्रचलनमा आएको शङ्ख जस्तो सेतो चुराले शरिरमा क्याल्सियम उत्पादन गर्नुका साथै कफ र बाथको रोग निको पार्दछ भन्ने विश्वास समेत गर्दछन् । त्यसैगरी चुराको प्रयोगमा भारतको पञ्जाब, गुजरात, राजस्थान आदि प्रान्तमा मामाले भञ्जीलाई चुरा उपहार दिने प्रचलन छ । श्रृगारको लागि मात्र नभएर भारतकै महाराष्ट्र प्रान्तमा गर्भवती स्त्रीलाई हरियो रङको चुरा लगाई दिने प्रचलन पनि छ ।
हिजोआज सौभाग्य एवम् संस्कृतिको लागि मात्र होइन, फेसनको निम्ति पनि हरियो चुरा लगाउन थालिएको छ । आजभोलि बजारमा काँचको चुरा मात्र होइन लाख, मेटल, मोती, पत्थर रबर, सिप, प्लाष्टिक, टेराकोटा, माटो आखि बस्तुबाट बनाइएको विभिन्न रंगका चुरा पाइन्छ । बजारमा पाइने चुराहरूमा महिलाहरूको रोजाइँ बर्क गरिएका चूरा पर्दछन् । प्लेन भन्दा पनि करिङ प्लेन जरिदार मोति, स्टोन्स, कुन्दन, जडिएका चुराहरूको बढी माग छ । काँचको चुरामा बिभिन्न नामा राखि फइभ स्टार, युवराज, चाँदराज, नेनो, सातफेरे आदि बजारमा चल्तीमा आएका चुराहरू हुन् । नेपालमा भारतीय बजारबाट चुरा आयात हुने हँुदा चुराका नाम पनि भारतीय नामबाट राखिएको छ । त्यसमा पनि चुरा उद्योग र व्यवसाय हिन्दुभन्दा पनि मुस्लिम समुदायले बढी गर्ने हुदा पनि चुराको धेरै नाम उर्दू भाषाबाट रहन गएको छ । यसरी सीमा पारीबाट आउने चुराहरूको ब्राण्ड र चुरा बनाउदा प्रयोग गरिएको कच्चा पदार्थले मानव शरीरलाई कति फाइदा वा नोक्सानी दिन्छ भन्नेमा भने चुरा प्रयोग गर्ने अधिकाशं महिलाहरूलाई थाहा छैन ।
साउनमा हरियो चुरा तथा पहेलो बस्त्र लगाउने प्रचलन नेपालको संस्कृति हुँदै होइन । यो विदेशी संस्कृतिबाट व्यापारिक रुपमा नेपाल भित्रिएको हो । नेपालका आधा प्रतिशत महिलाहरूले मात्र हरियो चुरा साउन महिनामा लगाउदा बर्षेनी अरबौं रकम खर्च हुने गरेको छ । यस्तो प्रचलनले नेपाली अर्थतन्त्रमा समेत असर पु¥याउने गरेको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफा बन्ने महिनाको रुपमा लिइन्छ । हरियो चुरा र पहिरनहरूको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहेन्दी र हरिया लुगाको व्यापार पनि प्रत्येक वर्ष बढ्दै गएको छ । साउन महिनामा महिलाहरूको हरियो चुरा र पोशाकप्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरु हुनु पहिलेदेखि नै हरिया चुरा र पहिरनहरू सजाएर राख्ने गरेको पाइन्छ । पछिल्लो समय धेरै सेलिब्रेटीहरूले पनि साउनलाई फेसनको रुपमा लिएका छन भने मेहेन्दी, चुरा र हरियो पहिरन लगाएर साउनलाई हरियो फेसन बनाएका छन ।
जुनसुकै तरिकाले अथवा संस्कृतीले साउन महिनामा महिलाहरू हरियो रंगले सजिएर आफ्नो श्रृगारको पहिरन गरेपनि हरियो रंगलाई रंग विशेषज्ञहरूले हरियो रंगलाई शीतलता एवं स्फूर्ति प्रदान गर्दछ भन्ने गरेका छन । हरियो रंग उज्ज्वल हुन्छ । नयाँ जोस जागर उत्पन्न गर्ने यो रंग सकारात्मक उर्जा सञ्चार गर्न सहायक मानिन्छ । हरियो रंगमा निलो र पहेलो रंगको समिश्रण हुन्छ । हरियो रंगले आँखालाई फाइदा पु¥याउछ । हरियो रंगले विश्वासको भावना जागृत गर्न सहयोग पुर्याउछ । हरियो रंगमा वैज्ञानिक आधारका धेरै कुराहरू भेटिन्छन । तर साउन महिनामा नै हरियो चुरा, हरियो पोते र हरियो कपडाले महिलाहरू श्रृंगारमा सजिएर शिवजीको आरधनाको लागि शिवालय जाने अविवाहितले श्रीमानको बर माग्ने र विवाहित महिलाहरूले पुत्र, पुत्रीको वरदान माग्ने नयाँ सस्कृतिको भने तथ्यगत आधार केही भेटिएको छैन ।
(लेखक : स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष हुनुहुन्छ । – सं.) तस्विर गुगलबाट ।
प्रकाशित मिति २०८० श्रावण ५, शुक्रबार १७:५३ गते