एजेन्सी– मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)– २०२३ को अन्तिम प्रतिस्पर्धा आज जुलाई २२ अर्थात साउन ६ गते न्यूयोर्कमा ग्रान्ड फिनाले हुने भएको छ ।
त्यसका लागि १८ जना प्रतियोगीहरू छनौट भएका छन् । उनीहरूको तालिम न्यूयोर्कमै भएको हो ।
क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरू प्रतिस्पर्धामा भाग लिन न्यूयोर्क आई पुगेका छन् । मिस नेपाल नर्थ अमेरिका– २०२३ को लागि पूर्वनेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षण) रहेको हुँदा उनले तालिम दिएकी हुन् । अन्तिम समापनको एक दिन अघि अर्थात अघिल्लो दिनसम्म तालिम चलेको थियो ।
उनीहरूको बन्द शिविर साउन २ गतेदेखि नै सञ्चालन भएको हो । अन्तिम प्रतिस्पर्धाका लागि अमेरिका र क्यानडा गरी कूल १८ जना प्रतिस्पर्धीहरूले भाग लिने भएका छन् ।
मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र आज समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुने भएको हो ।
विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन राखिएको आयोेजकको भनाइ छ ।
सो प्रतियोगिता ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्कले आयोजना गरेको हो । ‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा सो प्रतियोगिताको आयोजना गरिएको हो ।
यस पटक कार्यक्रममा अतिथिहरू प्रियंका कार्की, मिरुना मगर, आयुषमान देशराज जोशी, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको सहभागिता हुनेछ ।
यस पटकको विजेतालाई नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगिता– २०२४ मा प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने तय गरिएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८० श्रावण ६, शनिबार ०८:१३ गते