नौथर(लमजुङ)– दोर्दी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ६५३ जनाले लाभ लिएका छन् । नौथर सामुदायिक स्वास्थ्य ईकाईको हातामा सञ्चालन गरिएको उक्त शिविर साउन ६ गते सञ्चालन गरिएको हो ।
दोर्दी गाउँपालिका, ज्ऋम्क् नमूना सामुदायिक अस्पताल, लायन्स क्लब अफ लमजुङ, लायन्स क्लब अफ बेसीशहर र बविता क्लिप्स इन्टरटेन्मेन लमजुङको संयुक्त आयोजनामा उक्त शिविर भएको हो ।
शिविरमा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे सेवा, दन्त परीक्षण, मानसिक मनोपरामर्श, छाला रोग सम्बन्धी, प्यालेटिभ केयर सम्बन्धि परामर्श तथा जानकारी उपलब्ध गराइएको थियो ।
ज्ऋम्क् नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा सो अस्पतालका सात जान र दोर्दी गाउँपालिकाको स्वास्थ्य शाखाका पाँच जना गरी १२ जनाको चिकित्सक टोलीले शिविरमा आएका सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराएको ज्ऋम्क् नमूना सामुदायिक अस्पतालकी मनोपरामर्शदाता शोभा ठकुरीले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा ५५/५५ जनाले दन्त परीक्षण र छालाको रोगका बारेमा, महिला रोगका बारेमा ६५ जनाले, सामान्य परीक्षण १३५ जनाले, भिडिओ एक्सरे सेवा २१५ जनाले, ९५ जनाको रगत जाँच तथा मनोपरामर्श र दाँत उखेल्ने सेवा १५/१५ जनाले लिनु भएको थियो । उहाँले भन्नुभयो, ‘कुल सेवा लिएका ६५३ जना मध्ये ४०५ जना महिला र २४८ जना पुरुष थिए ।’
प्रकाशित मिति २०८० श्रावण ६, शनिबार २१:४५ गते