आयुर्वेद उपचार अस्पतालहरूको विकल्प : स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, गण्डकी प्रदेश

आयुर्वेद उपचार अस्पतालहरूको विकल्प : स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, गण्डकी प्रदेश
२०८० साउन ७ गते आईतबार ०७:३७

मन्त्री सिम्खडाले भन्नुभयो, ‘लमजुङ पनि जडिबुटीका विकासको सम्भावना रहेको ठाउँ हो, त्यसैले एउटा अध्ययन टोली नै बनाएर हाम्रै कार्यकालमा आयुर्वेदमा केही देखिने काम गरौं ।’
मन्त्री सिम्खडाको सो भनाइलाईमा समर्थन गर्दै उक्त अवसरमा सहभागीहरूले गडगडाहट तालीले समर्थन गरेका थिए ।

मुलुकमा भ्रष्टाचार बढ्नुको एक कारण महंगो उपचार पद्दति पनि हो

बाँझखेत(लमजुङ)– गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आयुर्वेद अस्पतालहरूको विकल्प हो, यसको प्रवर्द्धनमा सबै जुट्नु पर्छ भन्नुभएको छ । उहाँले यहाँ स्थित आयुर्वेद स्वास्थ्य केन्द्रको निरीक्षण एवम् अनुगमन पछि त्यस्तो धारणा साउन ६ गते व्यक्त गर्नुभएको हो ।
आयुर्वेदमा वास्तविक जीवन छ भन्ने ऐले बजारमा पाइने पोलिसवाला सेतो चामल त वास्तवमा बंगुरका लागि हो तर हामीलाई त्यो थाहा छैन र हामीले खाइरहेका छौं भन्दै आयुर्वेदलाई ऐलेका अस्पतालको विकल्पको रुपमा उपयोग गर्न सक्नु पर्छ भन्नुभयो । उहाँले मुलुकमा भ्रष्टाचार बढ्नुको एक कारण अस्पतालको महंगो उपचार पद्दति पनि हो, त्यसैले यसको विकल्प खोज्नु पर्छ त्यो भनेको आयुर्वेदको विकासबाट मात्र सम्भव छ भन्नुभयो । हाम्रो स्वास्थ्य कस्तो बनाउने हामीमै निर्भर छ भन्नुहुँदै उहाँले हामीले आफ्नो जीवनमा खान नहुने, नपर्ने धेरै चिजहरू खाइरहेका छौं, त्यसलाई रोक्ने भनेको आयुर्वेद नै हो भन्नेमा जोड दिदै यसको विकासका लागि के गर्न सकिन्छ पहल गरौं, मन्त्रालयबाट सहयोग गर्न तयार छौं भन्नुभयो । उहाँले आयुर्वेदको सेवा विस्तार गर्न सक्दा अस्पतालहरूमा हुने विरामीको चाप पनि घटाउन सकिन्छ, यसतर्फ लाग्नु आवश्यक छ भन्नुभयो । उहाँले स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्कालाई आयुर्वेदको विशेष कार्यक्रम बनाउनका लागि आग्रह गर्नुभयो ।
मन्त्री सिम्खडाले भन्नुभयो, ‘लमजुङ पनि जडिबुटीका विकासको सम्भावना रहेको ठाउँ हो, त्यसैले एउटा अध्ययन टोली नै बनाएर हाम्रै कार्यकालमा आयुर्वेदमा केही देखिने काम गरौं ।’
मन्त्री सिम्खडाको सो भनाइलाईमा समर्थन गर्दै उक्त अवसरमा सहभागीहरूले गडगडाहट तालीले समर्थन गरेका थिए ।
स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले आफू निर्देशनालयमा आउँदा ताकाका सुरुवाति दिनको स्मरण गर्दै त्यो बेलामा आयुर्वेदका साथीहरू मनोवल निकै गिरेको अवस्था थियो, समीक्षा गोष्ठीमा जाँदा समेत यौटा कुनामा थन्किएर बस्नु हुन्थ्यो तर ऐले भने कार्यालयहरूमा कम्युटरहरू समेत राखेर तथ्यांकहरू राख्ने, रिपोर्टिङहरू समयमा गर्ने आदि गरिरहनु भएको छ, केही मनोबल उठेको छ उहाँहरूको रिपोर्टिङहरू समेत राम्रो छ भन्नुभयो । उहाँले निर्देशनालयमा रिपोर्टिङ गर्नेमा सबैभन्दा अगाडि आयुर्वेदका साथीहरू हुनुहुन्छ त्यसपछि स्वास्थ्य कार्यालयहरू छन् । अस्पतालहरूलाई त जत्ति भने पनि हुँदैन, आजका दिनमा पनि धेरै अस्पतालको रिपोर्ट निर्देशनालयमा आउँदैन उहाँले भन्नुभयो ।
उहाँले जीवनको स्रोतसाधन आयुर्वेद हो तर त्यसको हाामीहरूलाई पत्तो छैन, यसलाई आधुनिकीकरण गर्न जरुरी छ, हाम्रा जडिबुटी इण्डियामा गएर सिटामोेल बनेर आउँछन् अनि हामी त्यसको गुणस्तरका बारेमा चासो राख्छौं भन्नुभयो ।
उहाँले हामी दुई विशाल देशको बीचमा छौं, आयुर्वेदमा भारतले समेत फड्को मारी सकेको छ भने चीनका एक वैज्ञानिकले तीतेपातिको तेलबाट मलेरिया विरुद्ध तयार गरेको औषधिमा नोवेल पुरस्कार पाएको चार वर्ष मात्र हुँदैछ तर हामी यस्ता विषयमा धेरै पछाडि छौं भन्नुभयो । तोरीको तेलको उदाहारण दिदै उहाँले हामीले खानपिन र जीवनशैली बदल्न आवश्यक छ तर सुरु कहाँबाट गर्ने भन्ने अन्योल छ र पनि हाम्रो केही गर्ने चाहना छ सबैले प्रयास गरौं महानिर्देशक खड्काले भन्नुभयो ।
सो अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख प्रेमप्रसाद पौडेलले सो कार्यालयको कार्य प्रगति प्रस्तुत गर्दै चालु आर्थिक वर्ष पनि गत आवकै कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । उहाँले गत आव २०७९/८० को अवधिमा कार्यालयको प्रदेश समानीकरण चालुतर्फ भौतिक प्रगति ९४.४ प्रतिशत र वित्तीय प्रगति ८४.२ प्रतिशत रहेको त्यस्तै, प्रदेश समानीकरण पूँजीगततर्फ भौतिक प्रगति सय प्रतिशत र वित्तीय प्रगति ९९.९ प्रतिशत रहेको तथा संघको सशर्त तर्फ भौतिक प्रगति सय प्रतिशत र वित्तीय प्रगति ९९.९८ प्रतिशत रहेको जानकारी दिनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रका निप्रमुख पौडेलले आयुर्वेद स्वास्थ्य केन्द्रबाट दिइने सेवा तथा उपचार सबै निःशुल्क हुने गरेको जानकारी दिदै गत आवमा गरिएका मुख्य कार्यक्रम तथा सेवामा आठ हजार ७११ को उपचार गरिएको, निःशुल्क प्रयोगशाला सेवा ६३३ जनालाई, पञ्चकर्म/पूर्वकर्म सेवा एक हजार ३७८ जना, जेष्ठ नागरिक सेवा एक हजार ५५३जना, स्तनपायी सेवा १९३ जना, निःशुल्क स्वास्थ्य शिविर २८३ जना, क्षारसुत्र सेवा चार जना र अग्नि कर्म सेवा तीनजनालाई दिएको बताउनु भयो ।
सो आवमा सम्पन्न गरिएका अन्य कार्यक्रममा धन्वन्तरी मन्दिर निर्माण, नयाँ भवनबाट पुरानो भवनमा जाने अपाङ्गमैत्री ट्र्याक निर्माण, सिसिटिभी जडान, जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम, महिला स्वास्थ्य स्वम्सेविकाहरूका लागि आयुर्वेद सम्बन्धी अभिमुखीकरण गरिएको पन्थीको भनाइ छ । यसैगरी विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, स्थानीय जडिबुटी अभिमुखकिरण, योग तथा जीवनशैली परिवर्तन कार्यक्रम गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय योग कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भूपाल दनाईसहित समितिका पदाधिकारीहरू तथा सदस्यहरू, लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ सदस्य बासुदेव थापा लगायत, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८० श्रावण ७, आईतवार ०७:३७ गते
हजुरको प्रतिक्रिया