प्रजिअ खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रजिअ खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ८ गते सोमबार ०७:००

खतिवडासहित नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण– १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीसहित १० जनालाई पनि प्रतिवादी बनाएको आयोगका प्रवक्ता भोला दाहालले बताउनु भयो ।

चार लाख भ्रष्टाचार गरेको अभियोग

काठमाडौँ– ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खतिवडा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युतीकरण गर्ने कार्यमा भ्रष्टाचार भएको भन्दै विशेष अदालत काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन ७ गते मुद्दा दर्ता गरेको हो ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडासहित नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण– १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीलाई पनि प्रतिवादी बनाएको आयोगका प्रवक्ता भोला दाहालले बताउनु भयो । उहाँका अनुसार आयोगले उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दिपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठी माया, विद्युत प्राधिकरणका ओखलढुंगा वितरण केन्द्रका तत्कालीन भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोपराइटर संजीव कुमार यादवलाई पनि प्रतिवादी बनाएको छ ।
सम्झौता खरिद भनेर उल्लेख भएको ४ लाख ७७ हजार ८९९ को सामग्री विद्युत प्राधिकरण ओखलढुङ्गाबाट निःशुल्क प्राप्त गरेको देखिएको छ ।
अख्तियारले आर्थिक वर्ष २०७५÷७६ मा सिद्धिचरण नगरपालिका– १० मा विद्युतीकरणको काम गर्दा वास्तविक भन्दा बढी लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार गरेको दाबी गरेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रजिअ खतिवडा भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः निलम्बनमा परेका छन् । खतिवडाले भने, ‘पहिला म त्यहाँ हुँदा अरुले गज्याङगुजुङ गरे छन्, मैले त होइन, त्यस्तो भएपछि त निलम्बन गरिहाल्छ नि !’

प्रकाशित मिति २०८० श्रावण ८, सोमबार ०७:०० गते
हजुरको प्रतिक्रिया