भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १० गते बुधबार ०२:५७

अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अल्पमतमा रहेका विपक्षीले अविश्वास प्रस्ताव पास हुने विश्वास गरेको छैन तर पनि प्रस्ताव पेश गरेको हो ।

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव साउन १० गते पेस गरेका हुन् ।
मोदी सरकारविरुद्ध विपक्षी गठबन्धन ‘‘इन्डिया’ अर्थात् इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्सले अविश्वास प्रस्ताव दर्ता गरेको हो । यो विषयमा अघिल्लो दिनमा नै निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ । यद्यपि, विपक्षी सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका थिए । विपक्षीहरूले बैठकमा हो–हल्ला गरेपछि संसदको कारबाही दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास गरेको छैन । किनकि भारतको संसदमा सत्तारुढ गठबन्धन प्रस्ट बहुमतमा छ । तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीहरूले पेस गरेको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘‘पहिला उहाँहरू मणिपुर मामिलामा छलफल चाहनुहुन्थ्यो, हामी त्यसमा तयार भयौँ, पछि उहाँहरूले नियमको मुद्दा उठाउनु भयो । अहिले फेरि नयाँ मुद्दाका रुपमा प्रधानमन्त्रीको जवाफ मागिरहनुभएको छ ।’
सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरूसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

प्रकाशित मिति २०८० श्रावण १०, बुधबार १४:५७ गते
हजुरको प्रतिक्रिया