करापुटारमा बालुन र ठाडोभाकाको छायांकन तयारी

करापुटारमा बालुन र ठाडोभाकाको छायांकन तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १२ गते शुक्रबार ०५:४६

बालुन ब्राह्मण÷क्षेत्री जातिको मौलिक संस्कृति हो भने ठाडोभाका लमजुङको मौलिक लोक संस्कृति हो ।

ईशानेश्वर मन्दिर परिसरमा सो छायांकन गरिने

करापुटार(लमजुङ)– लमजुङमा ठाडोभाका र बालुनको छायांकनको तयारी गरिएको छ । बहुचर्चित सांगीतिक कार्यक्रम ‘इन्द्रणी’को टिमले सो कार्य लमजुङको मध्यनेपाल नगरपालिका– ७ को करापुटारमा गर्ने भएको हो । ईशानेश्वर बालुन समूहले उक्त छायांकन कार्यक्रमको आयोजना गरेको हो । ईशानेश्वर मन्दिर परिसरमा हुने सो छायांकनमा बालुनका अतिरिक्त ठाडोभाकाको समेत छायांकन साउन १५ गते गरिने भएको छ । छायांकनको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ ।
त्यसका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपालको कलाकार टिमलाई सहभागी हुन संस्थागत रुपमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई निमन्त्रणा गरिएको आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार सो कार्यका लागि इन्द्रणीको टिम, ठाडोभाकाको गायन टोली १४ गते साँझमा नै करापुटारमा आइपुग्ने बन्दोबस्त मिलाइएको छ ।
इन्द्रणी टिमको नेतृत्व त्यस कार्यक्रमका संस्थापक सञ्चालक कृष्ण कँडेल आफैले गर्ने हुनुभएको छ । त्यस्तै, ठाडोभाका टिमको नेतृत्व प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी तथा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले गर्नु हुने भएको जानकारीमा आएको छ ।
बालुन ब्राह्मण÷क्षेत्री जातिको मौलिक संस्कृति हो । संस्कृतिको जगेर्नामा ब्राह्मण क्षेत्रीहरूले उस्तो ध्यान नदिने गरेले हुँदा बालुन लोपोन्मुख अवस्थामा छ । त्यसको जर्गेनाको एक कडीको रुपमा यो कार्यक्रमलाई लिइएको छ ।
के हो बालुन ?
बालुनको इतिहास र विशेषताका बारेमा आयोजक ईशानेश्वर बालुन समूहका गुरु वासुदेव सुवेदीसँग राखिएको जिज्ञासामा उहाँले यसको इतिहास एक सय वर्ष पुरानो रहेको उल्लेख गनुृभयो । उहाँका अनुसार विसं १९८० मा गुरु भद्रकृष्ण सुवेदी(मेरो हजुरबा)ले यो क्षेत्रमा पहिलो पटक बालुन खेलाउनु भएको किंबदन्ती पाइन्छ । तर त्यो बेलाको लिखत भने केही भेटिदैन ।
विसं २०१६ बाट गुरु स्व. बासुदेव घिमिरेले २०५२ सालसम्म धान्नु भएको, त्यसपछि केही वर्ष रोकियो, २०६१ सालमा गुरु तीर्थराज घिमिरेबाट सञ्चालनमा आयो र २०६२ बाट हालसम्म म आफैले गुरुको काम गरिआएको वासुदेव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बालुन राम लीलामा आधारित लोकसंस्कृति हो । यसमा गीत, श्लोक, नाच, व्यङ्ग्य, अभिनय जस्ता कलाको समिश्रण छ । राजा दशरथद्वारा शिकारका क्रममा श्रवणकुमारका बा–आमाको हत्या, उनीहरूबाट राजा दशरथालाई श्राप र पुत्रेष्टी गरी पुत्रलाभ भएको, राम लक्ष्मणको जनकपुर भ्रमण, रामले जनकको धनुष भाँचेर सीतासँग विवाह गरेको, रामको १४ वर्ष वनबास, सीताको हरण र रावणको बध आदि विषय समेटिएको छ । उहाँले भन्नुभयो, ‘हामीले गुरु वामदेवले टिपेका टुक्राटाक्री जोडर बनाएका हौं, त्यो भन्दा अघिको लिखत केही भटिदैन ।’
बालुन पुरा देखाउन कम्तिमा पनि ३– ४ घण्टाको समय चाहिन्छ । तर हिजोआज सबैको व्यस्त समय हुने हुनाले करिब एक घण्टाको छायांकनको प्रवन्ध मिलाइएको गुरु वासुदेव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बालुन खेल्नका लागि पुराका पुरा गर्दा ४२ जना कलाकारहरू चाहिन्छ । तर पनि कसैले डबल रोलमा खेल्ने भएका पनि २५ जना अनिवार्य कलाकारको आवश्यकता पर्छ । बालुन बाहुन र क्षेत्री बाहेकका जातिले आजका दिनसम्म खेलेको पाइएको छैन ।
ठाडोभाका के हो ?
ठाडोभाका लमजुङको मौलिक लोक संस्कृति हो । यस भाकातर्फ जनजातिको बढी आकर्षण छ । यो गीतको गायनका बेलामा कार्यक्रम स्थलका देवीदेवता, सीमेभूमे, पृथ्वी दर्शकहरू आदिलाई सम्झदै उनीहरू प्रति समर्पण भाव अर्पण गर्दै थालनी गरिन्छ । ‘होला र यो यसो माया जाला … ’ भन्ने थेगो सहित केही लामो स्वरमा तर अन्य गीतभन्दा भिन्न लवजमा गायन, बाध्यवादन र नाचका साथ प्रस्तुत गरिन्छ । यसका सर्जक मध्यनेपाल नगरपालिका– १०को बर्धन गाउँका देउवहादुर दुरा हुन् । उनका दौतरी(गायन जोडी) पञ्चसुब्बा गुरुङलाई पनि मानिन्छ । देउवहादुर दुराको अल्प उमेरमै निधन हुन गयो । त्यसपछिका वर्षमा करापुटारको शिवरात्री मेलामा गाउनेहरूले ‘कहाँ गयो, देउबहादुर दुरा शून्य भयो करपुटार बजार … ’ भन्ने गरेको समेत पाइन्थ्यो ।
तथापि, पछिल्लो आधा दशक अघिसम्म ठाडोभाकाको पर्यायका रुपमा दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइँला रहनु भएको थियो । २०७४ सालमा उहाँको निधनासँगै यो गीत पनि हराउँछ भन्ने धेरैको आंकलन थियो । तथापि त्यस भाकाको संरक्षण र प्रवद्र्धनका लागि भेडीखर्के साइँलाकै संरक्षकत्वमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको स्थापना गरिएको थियो । उहाँको निधन पछि प्रतिष्ठानले ठाडोभाकाको जर्गेनाका लागि विभिन्न(प्रतियोगिता, प्रशिक्षण, छायांकन, पुराना ७० वर्ष उमेर पार गरेका गायक÷गायिकालाई सम्मान, छात्रवृत्ती प्रदान जस्ता विविध) कार्य सञ्चालन गरी जर्गेनाको कार्य गरिआएको छ ।
अन्त्यानुप्रास मिलाएर गाइने ठाडोभाकामा बीचमा जति धेरै फुदा गास्न सक्यो उति त्यो गीतलाई उत्कृष्ठ मानिन्छ । तर सुगम दोहोरी गीतका उत्ताउला,अश्लिल, भद्दा शब्द प्रस्तुति तथा प्रदर्शनमा रमाउने, मन पर्नेहरू तथा अभ्यासको कमी भएकाहरू र त्यसबाट प्रभावित भएकाहरूले लामो भट्याउन सक्दैनन्– हरूको दिल दिमागमा ठाडोभाकाको रस नघुस्न पनि सक्छ । तर जब यस भाकाको नसा बस्छ तब मानिसले अन्य गीत सायदै मन पराउँछन् भन्ने भुक्तभोगीहरूको अनुभव छ ।
ठाडोभाका गायनका लागि सामान्यतया (प्रतियोगितामा) महिला र पुरुषको ३/३ जनाको समूहलाई एक टोली मान्ने गरिएको छ । गायनका साथमा बाध्यवादन र नाचको समेत मूल्यांकन हुने गरिआएको छ । पछिल्ला दिनमा यसको पनि मौलिकता बचाउने चुनौति थपिएको रुपमा आफूले लिएको सो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार अन्य गीत जस्तो जसरी गाउँदा पनि ठाडोभाका हुने हुँदैन । उहाँले भन्नुभयो, ‘मनलागी ढंगले मादल ठोक्दैमा पनि यसको बाध्यबादन हुने अनि जसरी उफ्रे पनि ठाडोभाकाको नाच हुने भन्ने हुँदैन अब हामी यसको मानक छुट्याउने तयारीमा छौं ।’
पछिल्ला दिनमा ठाडोभाकाको मध्यकालीन अवधिमा जस्तै सबै जानजातिकाहरूले यो गीत गाउने गर्दछन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको पहिलो प्रतियोगितामा आशबहादुर विक, दोस्रो प्रतियोगितामा सावित्री शाही, चौथो प्रतियोगितामा राधा भण्डारी पहिलो भएबाट पनि त्यसको पुष्टि हुन्छ । पहिलो वर्षको प्रतियोगितामा पहिलो हुने जोडीमा काशीमाया तामाङ, दोस्रो वर्ष मानसिंह दुरा, तेस्रो वर्ष सुवे. स्व. सन्तबहादुर गुरुङ र बुद्धिमाया गुरुङको जोडी पनि पहिलो हुन सफल भएको हो । चौथो प्रतियोगितामा २४ वर्षीय नवीन बरालले दोस्रो स्थान हासिल गरेबाट ठाडोभाकामा नयाँ पुस्ता पनि आकर्षण बढेको पुष्टि हुन आएको छ ।
ठाडोभाकाका सर्जक देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङले सोही स्थान अर्थात करापुटारमा शिवरात्रीको अवसरमा लाग्ने मेलाबाट ठाडोभाका गाएर सार्वजनिक रुपमा प्रचार प्रसार गर्न थालेका हुन् । त्यसैले त्यो ऐसिहासिक सम्झनाका लागि पनि बालुनको साथमा ठाडोभाकाको समेत छायांकनको कार्य गर्न लागिएको सोही स्थान निवासी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो ।
साउन १५ गतेका दिन विहान करिब ४ घण्टा बालुन र ठाडोभाका छायांकनको काम हुने आयोजकको भनाई छ । सो अवसरमा दोहोरी गीतको समेत छायांकन हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति २०८० श्रावण १२, शुक्रबार ०५:४६ गते
हजुरको प्रतिक्रिया