हर्राबोट(लमजुङ)– गाउँ, गाउँबाट बजार र शहरीकरणतर्फ उन्मुख हुँदै गर्दा फेला पर्ने विशेषता भने ती ठाउँ प्रदुषण अर्थात फोहरले ढकमक्क हुनु हो भन्ने देखिदै र भोगिदै आएको छ । त्यस्तै हुन थालको छ स्थानीय क्षेत्रमा रहेको सर्वोदय आश्रम आसपासको क्षेत्र । त्यसो त त्यस्तो फोहर आश्रमबाट भएको भने होइन ।
लमजुङको राइनस नगरपालिका– ८ हर्राबोट, पाउँदी मर्स्याङ्दी नदीको झोलुङ्गे पुल तरेर मध्य पहाडी लोकमार्गमा करिब एक सय मिटर माथि चढ्दै गर्दा लोकमार्गको किनारबाट मर्स्याङ्दी नदीमा फोहर फाल्ने गरेका कारण (डम्पिङ साइड) जस्तै हुन लागेको (फोटोमा) छ ।
जुन सर्वोदय सेवाश्रम तिर जाने गोरेटो बाटो पर्दछ । त्यहाँ बस्ती पनि उति बाक्लो छैन तर फोहर भने टन्नै देखिन्छ । यो स्थानमा कस्ले कतिबेला ल्याएर फोहर फ्याँक्ने हो पत्तो हुँदैन स्थानीयको भनाई छ । तर फोहरले सर्वोदय बृद्धाश्रम जान पैदलबाटो मात्र हैन त्यस वरपर पैदल यात्रा नै गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको हुँदा यसको तत्कालै व्यवस्थापन हुनुपर्ने स्थानीयको माग समेत रहेको छ ।
यसबारेमा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियासँग सम्पर्क गर्दा विजोग छ नि ! कस्लाई भन्ने ? त्यहाँ मर्स्याङ्दी नदीको झोलुङ्गे पुल आसपासको आठ सय मिटर क्षेत्रमा महादेवको १२ फिट अग्लो प्रतिमा निर्माण भएको छ, अन्य धार्मिक महत्वका वस्तुहरूको समेत संरक्षणको प्रयास भएको छ । यो ठूलीएकादशी र शिवरात्रीमा ठूलो मेला लाग्ने स्थल बन्दैछ, जुन दक्षिण लमजुङका लागि पनि गौरव हो । यस्तो ठाउँमा यस्ता गतिविधि हुनु निन्दनीय हो भन्नुभयो । नगरपालिकाबाट फोहर व्यवस्थापनको काम हुनुपर्ने होइन ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘खै ! ऐलेसम्म त्यस्तो रचनात्मक काम गरेको थाहा पाइएको छैन, यो त राइनास र सुन्दरबजार दुवै नगरपालिकाले मिलेर गर्नु पर्ने देखिन्छ ।’ यो लमजुङको प्रवेश नाका पनि हो, यहाँ पहिलो पटक आउने मानिसले यस्तो स्थिति देख्दा उसको यो जिल्लालाई हेर्ने दृष्टिकोण कस्तो बन्ला ? भन्ने प्रतिप्रश्न समेत गर्नु भयो ।
त्यस्तै, सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीसँग सम्पर्क गर्दा हामीले फोहर व्यवस्थापनको काम नियमित गरेका छौं, यो हाम्रोतर्फको समस्या होइन भन्नुभयो ।
यसैगरी, सोही सन्दर्भमा राइनास नगरपालिका– ८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाटलाई सम्पर्क गर्दा उहाँले हो, फोहर फाल्ने गरेको देखिन्छ तर कस्ले भन्ने भेट्टाउन सकिएको छैन । रातको समयमा फ्याँक्ने रहेछन् भन्नुभयो । टाढाको मान्छेको त काम हैन होला नि ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘त्यो त पक्कै पनि हैन, पारी पाउँदीमा त फोहर उठाउने प्रवन्ध भइसकेकै छ भने त्यहाँकाले यहाँ आएर फ्याँक्न पर्ने हुँदैन, यतैका मानिसको काम हो, जिल्लामा समेत कुरा पुगेछ, मलाई पनि लागि रहेको हो, मर्स्याङ्दी नदीमा तथा सार्वजनिक स्थल, बाटो आदिमा प्रदुषण गर्न हुँदैन ।’
नगरपालिकाबाट फोहर व्यवस्थापनको काम भएको छैन ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘मैले नगरपालिकामा पनि पटक पटक यसबारेमा कुरा राखेकोछु । बल्ल नगरपालिकाले ल्याण्डफिल्ड साइड पाएको छ, वडानं– ४ र ५ को सीमा क्षेत्र अल्काटार, चेपे नदीको किनारमा, त्यो आउँदो बडादशैंसम्ममा बन्छ होला, म त्यहाँ वरपरका मानिसलाई एक पटक सम्झाउँछु, सड्ने फोहर घरमै सडाउने र नसड्नेलाई के कसरी व्यवस्थापन गर्ने हो, गरौं भन्नेछु उहाँले भन्नुभयो ।’
प्रकाशित मिति २०८० श्रावण १३, शनिबार ११:१० गते