अदभूत स्मरण शक्तिका ७५ वर्षीय व्यक्तित्व

अदभूत स्मरण शक्तिका ७५ वर्षीय व्यक्तित्व

नवराज पहाडी

@antaranganews

२०८० साउन १९ गते शुक्रबार ०८:५९

विश्वनाथको गृहस्थी जीवन साच्चिकै गर्व गर्न लायक रहेछ, हिजोआजको जमानामा त्यस्तो बन्दोबस्तको प्रवन्ध सायदै देख्न पाइन्छ ।

उहाँसँग भेट नभएको करिब ३८ वर्ष भएको अड्कल मैले गरे । तर मेरो स्वरले नै उहाँले चिन्नु भयो ।

रामबजार(लमजुङ)– अदभूत स्मरण शक्तिका ७५ वर्षीय व्यक्तित्वसँग भलाकुसारीको अवसर मिल्यो । उहाँ लमजुङको मध्यनेपाल नगरपालिका– ७ को भाटबेसी गाउँ निवासी विश्वनाथ घिमिरे हुनुहुन्छ । यो पंक्तिकारले साउन १४ गते साँझ उहाँलाई भेटेको हो ।
ईशानेश्वर महादेवको शक्तिकै कारणले हुन सक्छ त्यो क्षेत्रमा केही परम्परागत संस्कार संस्कृतिका कुराहरू बाँकी छन् । तीमध्ये बालुन एक हो । त्यसको संरक्षणका लागि ईशानेश्वर बालुन समूह नै गठन गरेर स्थानीयबासीहरू लागि पर्नु भएको छ । बालुनको प्रवद्र्धनका लागि सो समूहले साउन १५ गतेका लागि कार्यक्रम तय गरी यो पंक्तिकारले नेतृत्व गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपाललाई पनि निमन्त्रणा गरियो, त्यो निमन्त्रणा स्विकार गर्दै त्यहाँ पुगेको बेलामा ७५ वर्षीय विश्वनाथ घिमिरेसँग भलाकुसारीको अवसर मिलेको हो ।
हाम्रो टोलीमा त्यो दिन साँझ ठाडोभाकाका उदीयमान गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य नवीन बराल र म दुईजना मात्र थियौं । मलाई रामबजारबाट त्यो स्थानसम्म पशु सेवाका प्राविधिक भाइ अमृत अधिकारीले आफ्नो वाइगमा त्यहाँ पुर्याउनु भएको हो । बाटोमा जादै गर्दा अमृतले आफूलाई पनि ठाडोभाकाको गायक बन्न मन छ, यो क्षेत्रका सुवे. सन्तबहादुर गुरुङ वितेपछि को छ त यहाँ ? मलाई उहाँको बिडो थाम्नु पर्छ भन्ने लागेको छ भन्दै २, ३ चरण ठाडोभाका सुनाउनु भयो । म छक्क परे ! उहिलेको उखान ‘के खोज्छस् काना आँखो’झंै भयो ।
त्यसपछि अमृतलाई मैले भने सबैभन्दा ठूलो इच्छा शक्ति हो, त्यो र तपाईको स्वर पनि ठिकै रहेछ तपाईले अब हुने ठाडोभाकाको प्रशिक्षणमा भाग लिनु होला, म खबर गर्छु । अमृत भाइ खुशी हुनुभयो, उहाँले आफ्नै घरमा जाऔं(गाउँमा) भन्नु भयो, मैले हैन ! म एक्लै आएको बेलामा जान्छु, आज त आयोजकले जहाँ राख्नु हुन्छ त्यहाँ बस्ने हो, अर्को भाइ पनि हुनुहुन्छ भने । हामी विदा भयौं, उहाँ आफ्नो बाटो लाग्नु भयो ।
हामीहरूका लागि स्वागत, खानाको प्रवन्ध भाटबेसीको आमा मिलन समूहले आफ्नै भवनमा गरेको रहेछ । माथि सडकबाट झर्दै गर्दा शिक्षक विष्णुप्रसाद घिमिरेजीको घर पर्ने रहेछ, केही क्षणमा उहाँ पनि देखिनु भयो । आँगनमा बसेर केही गाउँलेहरू पाहुनाको प्रतिक्षामा हुनु हुँदोरहेछ । त्यहाँ चिनेका अनुहार नियाल्दै गर्दा कुसुमाकर माविका प्रधानाध्यापक ध्रुव घिमिरे देखिनु भयो । म नमस्कार ! सबैमा भन्दै त्यतै छिरे । उहाँहरूमध्ये एकजना भाइले कुर्ची छाड्दै बस्न भन्नुभयो । साँझको बेलामा अनुहार चिन्न कठिन हुने जस्तो भइसकेको थियो । पिंढीमा बलेको बत्तीले सबैको अनुहार देखिदैनथ्यो । म बत्तीतिर पिढ फर्काएर ध्रुव सर सहितका मान्यजन जस्ता लाग्ने व्यक्तिहरूतर्फ फर्केर बसें । ध्रुव सरले हालखबर सोध्न थाल्नु भो ! मैले जवाफ दिदै गएँ ।
त्यही क्रममा परिचित लाग्ने तर ठ्याक्कै भन्न नसक्ने यौटा अनुहारबाट आबाज आयो, ‘तपाई नवराज पहाडी हो ?’ मैले ‘हुँ हजुर !’ भन्दै उहाँलाई फेरि नमस्कार गरेँ । (पहिले सामुहिक रुपमा गरेको थिएँ) उहाँ हुनुहुँदो रहेछ– ७५ वर्षीय विश्वनाथ घिमिरे । उहाँले भन्नुभयो, ‘हाम्रो भेट नभएको त धेरै भयो नि !’ मैले ‘हो, हिजोआज कमै आउँछु यतातिर’ भने । उहाँले थप भन्नुभयो, ‘२५ वर्ष जति भयो होला, हाम्रो भेट नभएको तर स्वरले मैले चिने ।’ म छक्क परे । को को हुनुहुन्छ ? उहाँले भन्नुभयो । ‘एकजना भाइ हुनुहुन्छ ।’ भने । ‘ल त्यसो हो भने दुवै जना मकहाँ सुत्न जाने, खाना त यही बनेको छ ।’ उहाँले भन्नुभयो । मैले ‘हुन्छ’ भने । खाना सामुहिक र सुताईको काम घरघरमा हुने भन्ने दिउँसै मैले सुनिसकेको थिएँ । यति श्रद्धा गर्ने व्यक्तिलाई छाडेर अर्को घर किन खोज्नु ? भन्ने मलाई लाग्यो ।
जेष्ठ नागरिक भइसक्नु भएका विश्वनाथ घिमिरेको अनुमानमा २०५५ सालपछि हामी बीच भेट नभएको भन्ने रह्यो । त्यसपछि मैले गमे, म त यो क्षेत्रमा घुलमिल हुन नेविसंघको अध्यक्ष छाडेपछि २०४२ सालदेखिनै कम आएको छु । भनेपछि उहाँसँग भेट नभएको करिब ३८ वर्ष भएको अड्कल मैले गरे । यति लामो अवधिसम्म भेट नभएको मान्छेलाई त्यो पनि स्वरका भरमा चिन्ने साच्चै उहाँको व्यक्तित्व अद्भूत नै हो भन्ने ठम्याएँ ।
त्यसपछि कृष्ण कडेंलको टिम आइपुग्यो, आमा समूहबाट हाम्रो स्वागत र खानाको तरखर भयो, प्रजापतिको टिम, पोखराबाट बाटोमा आउँदै छ भन्ने खबर आयो । हामीले खाना खादै गर्दा प्रजापतिको टिम पनि आइपुग्यो ।
खानापछि प्रजापतिको टिमले भजन र चुड्कामा दोहोरी पड्काउनु भयो । हामीहरू पनि त्यसमा रमाउँदै रह्यौं । ११ बजेतिर विश्वनाथ दाजुले सुत्न जाने इसारा गर्नु भयो । १० मिनेटमा कार्यक्रम सकिन्छ भन्नुभएको छ प्रजापतिले त्यति पर्खौैैं मैले भने । कार्यक्रम सकेर उहाँको घरमा पुग्दा रातको ११.३५ बजेको थियो । म त बेलुका उस्तै परे विविसी सुन्दै गर्दा ९ बजेनै निदाउने मान्छे । भोलि विहान कुरा कानी गरौंला भने । उहाँले हामी दुई भाइलाई यौटा कोठा भूकम्प पीडितको सहयोगमा बनेको घरको कोठा देखाउनु भयो । आफ्नो घरमा सुतेको भन्दा पनि बढी आनन्दकासाथ निदायौं हामी दाजु भाइ अर्थात नवीन बराल र म । भाउजु सावित्राको बात्सल्यले पनि हामीलाई झनै पुलकित बनाएको थियो ।
बिहान उठेर नित्य कर्म सकेर घरको अगाडि, दायाँ बायाँ हेरें । त्यहाँ त अनौठो दृश्य पो देखिन्छ ! विश्वनाथ घिमिरे त स्थापित र प्रतिष्ठित व्यवसायिक किसानको झैं पो बस्नु भएको रहेछ । मैले उहाँको अन्य अनुभवका केही कुराको सोधखोज गरी समाचार बनाउने सोच बनाएको थिएँ । त्यो दृश्यले मेरो सोचनै परिवर्तन भयो । उहाँका अनुभवका कुरा त पछि सुन्दै गरौंला, नभए लेखेर पठाउन अनुरोध गरौला । उहाँको गृहस्थी जीवनका बारेमा केही टिपोट तयार गर्नु पर्यो भन्ने लाग्यो र सुरु गरेँ ।
उहाँको घर वरपर साढे पाँच रोपनी क्षेत्रफल रहेछ । त्यसमा उहाँको पुरानो घर, गोठ, भूकम्पको नयाँ घर र बाथरुम समेत बनेको रहेछ । बाँकीमा फलफूल, तरकारी आदि लगाउनु भएको रहेछ । उहाँले घिरौला र करेलाका लागि टाँड बनाउनु भएको रहेछ । दुईवटा कटहरका बोटमा मरिच समेत लगाउनु भएको रहेछ । दुई वर्ष अघि त एउटै बोटबाट चार पाथीसम्म उत्पादन भएको समेत उहाँले जानकारी दिनुभयो । प्रति के.जी. एक सय रुपैयाँका दरले विक्री गरेको उहाँले सुनाउनुभयो ।
त्यसैगरी, आठवटा आँपका बोट रहेछन् । त्यसका विरुवा पनि सिरहादेखि ल्याएको उहाँले बताउनु भयो । आँपले पहिलो वर्षदेखिनै उत्पादन दिन थालेको रहेछ । यो वर्ष असिनाले सखाप बनाएछ । गत वर्ष आँपबाट मात्रै चार हजार कमाइभएको थियो, उहाँले उल्लेख गर्नु भयो ।
उहाँहरू गाउँ चिसंकुबाट यहाँ बसाई सर्नु भएको २६ वर्ष भएको पनि उहाँले जानकारी दिनुभयो । सो स्थानमा केरा, काँक्रो, एभोकाडो(पाँच बोट), कागतीका तीनबोट, लिचीका दुई बोटका साथमा तरुल, भ्याकुर, आदिका बोट समेत देख्न पाइन्छ । केराको ३– ४ घरी पाक्न तयार रहेछन् । यौटामा त पहेलो कोसा समेत देखियो । तर त्यो दिन सोमबारको परेको हुँदा काट्ने आँट गर्न सकिन नत्र त विहानै देखेको थिएँ चखाएर पठाउँथें उहाँले सुनाउनु भयो । त्यति सुनेपछि त हामीलाई त्यो केरा खाए जत्तिकै भयो ।
उक्त स्थानमा उहाँले अम्बाको पनि ५– ७ बोट लगाउनु भएको रहेछ तर त्यसको फलमा खबटे(काठे) लागेर फल राम्रो नभएको हुँदा दुई वर्ष अघि सबै दाउरा बनाउन काटी दिएँ उहाँले सुनाउनु भयो ।
सो स्थानमा विश्वनाथले फलफूल र तरकारीमात्र लगाउनु भएको नभई सानो चिटिक्क परेको भैंसी समेत पाल्नु भएको रहेछ । ‘ऐले दोस्रो बेत ! आउँदो भदौमा ब्याउने हो, एक साता जति भयो दुहुन छाडेको’ उहाँले थप सुनाउनु भयो । उहाँले गर्वका साथ भन्नुभयो, ‘यो भैंसीलाई कार्तिकदेखि फागुनसम्म पुग्ने बडहरका रुख समेत हुर्काएको छु खेतभरी छन् ।’ उहाँको गृहस्थी जीवन साच्चिकै गर्व गर्न लायक रहेछ, हिजोआजको जमानामा त्यस्तो बन्दोबस्तको प्रवन्ध सायदै देख्न पाइन्छ ।
यस्तो बन्दोबस्तको गृहस्थ(घर)मा भने उहाँका सदम्पती (विश्वनाथ– सावित्रा) मात्र बस्नु हुँदोरहेछ यतिबेला । जेठोछोरा राजनबाबुलाई सशस्त्र द्वन्द्वकाल(२०५६ साल)मा दिदीलाई भेट्न दाङ्सिमराङ कास्की, गएको मान्छेलाई नेपाली सेनाले बाटोबाट साथमा लगेर वेपत्ता बनाएको रहेछ । ‘अब त के आउँला र ? आशा नै मरिसक्यो ।’ उहाँले दुखेसो पोख्नु भयो । कान्छो छोरा नरेन्द्रबाबु पनि सपरिवार पोखरा बस्नु हुने रहेछ । छोरी दुईवटाको पनि घरजम (विवाह गरिदिई सक्नु) भएको रहेछ ।

प्रकाशित मिति २०८० श्रावण १९, शुक्रबार २०:५९ गते
हजुरको प्रतिक्रिया