पोखरा– अबको युग साकाहारीहरूको हुने भएको ताइवानी ताओ गुरु छियन रमले बताउनु भएको छ । उहाँले नेपाल भेजिटेरियन सोसाईटीको दोस्रो अधिवेशनको यहाँ उदघाटन गर्नु हुँदै त्यस्तो साउन २६ गते बताउनु भएको हो ।
उहाँले विभिन्न उदाहरण दिदै ब्रोइलर कुखुरालाई ३५– ४० दिनमा नै खान योग्य बनाउनका लागि प्रयोग गर्ने गरिएका भिटामिन तथा प्रजनन रोक्नका लागि दिइने केमिकल(सुई)का कारणले मानिस प्राणघातक रोग क्यान्सरको शिकार हुने गरेका छन्, क्यान्सर रोग लागि सकेपछि कमै मानिस मात्र बाच्छन् तर उपचारको क्रममा उनले कमाएको मात्र नभई बाबु– बाजेले समेत कमाएर छाडेको सम्पत्ती भएमा त्यो समेत सिध्याउँछन् तर अन्तिममा न त धन रहन्छ न त जीवन, त्यसैले साकाहारी मानिसलाई क्यान्सर लाग्ने सम्भावना अत्यन्त न्यून हुने हुन्छ । यसैकारण पनि मानिसहरूलाई साकाहारी हुन बाध्यता छ ।
उहाँले मानिसका लागि प्राकृतिक रुपमा उत्पन्न भएका सेतो, रातो, हरियो, पहेलो आदि रङ्गका खानाहरू मात्र खान योग्य भएको बताउनु भयो । आफू विगतको ३१ वर्षदेखि नेपालमा आउने गरेको र विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढेको स्मरण गर्दै त्यो बेलामा आफूले नेपाली खानाको रुपमा दाल, भात, तरकारी र अचार भन्ने थाहा पाएको तर त्यसमा त मासु छैन नि ! भन्नुहुँदै यसबाट पनि मानिस मांसाहारी नभएको पुष्टि हुने उल्लेख गर्नुभयो । उहाँले साकाहार तरकारी, फलफूल, गेडागुडीहरूमा पनि उत्तिकै मात्रामा प्रोटिन पाइन्छ भन्दै साकाहारी खाना सरल र सहज उपलब्ध हुने हुँदा महंगो पनि नहुने र गरीबीबाट माथि उठ्नका लागि मद्दत गर्ने बताउनु भयो ।
उहाँले व्यङ्ग्यात्मक शैलीमा मानिसले उड्नेमा हवाईजहाज, समुद्रमा हिड्नेमा पानीजहाज र जमिनमा हिड्नेमा गाडीमात्र खान बाँकी छ भन्दै यसबाट अशान्ती फैलिने गरेको समेत उल्लेख गर्नु भयो । साकाहार व्यक्ति स्वभावैले शान्त, मिजासिलो शीलस्वभाव भएको हुने हुँदा मानिस राक्षस हुनबाट बच्नका लागि पनि साकाहारी हुन आवश्यक छ भन्नेमा जोड दिनुभयो ।
आध्यात्मले आत्मा अमर छ भन्ने सिद्ध गरेको सुनाउनु हुँदै उहाँले मांसाहारी व्यक्तिलाई उनीहरूले मासु प्रयोग गरेका जीवको आत्माले घेरेर पटक पटक जन्म मृत्युको चक्करमा फसाई रहने हुँदा अमरत्व प्राप्त गर्नका लागि पनि साकाहारी हुन आवश्यक रहेको औंल्याउनु भयो । त्यसैले आफू, आफ्नो परिवारका साथै छरछिमेक, इष्टमित्र, साथीसँगीलाई पनि साकाहार हुन उत्प्रेरित गरौं भन्ने उहाँले आह्वान गर्नु भयो ।
उहाँले ताओको पोखरा स्थित कार्यालय भेजिटेरियन सोसाइटीका लागि बैठक तथा कार्यक्रम गर्नका लागि सधैं खुल्ला छ भन्नुभयो ।
नेपाल भेजिटेरियन सोसाइटीका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोसाइटीका वरिष्ठ सल्लाहकार डा. नारायण शर्माले प्राणीहरू दुई प्रकारका छन्, तिनको दाँतको बनोटले पनि भिन्न बनाएको छ भन्नुभयो । उहाँले प्राणीमा मनको विकास भएको छैन तर पशुमा मनको विकास भएको छ त्यसैले पशुको हत्या गरेर खान हुँदैन भन्नुभयो ।
खाना बनाउनेको हातमात्र हैन मन पनि सफा हुनुपर्छ :
त्यस्तै, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रशिक्षिका बु्द्धिकुमारीले अब खानामा साकाहारले मात्र पुग्दैन त्यसमा सात्विक समेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले हाम्रो भाञ्साघरलाई भजन गृह किन नबनाउने ? भन्दै भजन सुन्दै पकाएको खाना, त्यो नसुनी पकाएको खाना र रिसाएर पकाएको खानाले शरीरमा पार्ने प्रभाव फरक हुने हुन्छ भन्नुभयो । उहाँले भाञ्सेको मनस्थितिले पनि खानाको स्तरमा फरक पार्छ भन्दै हामीले मन्दिरमा अर्पण गरेको चिज प्रसाद बन्ने हुँदा हामीले खानालाई प्रसाद किन नबनाउने ? भन्नुभयो । उहाँले खाना बनाउनेको हातमात्र हैन मन पनि सफा हुनुपर्छ भन्ने उल्लेख गर्नु भयो । उहाँले हामी बाँदरका सन्तान नभई देवीदेवताका सन्तान हौं भन्ने जिकिर गर्नुभयो ।
गीता अध्ययन केन्द्रकी प्रशिक्षक दुर्गा न्यौपानेले जस्तो अन्न उस्तै मन हुने हुँदा ईन्द्रीय कन्ट्रोल नगरी साकाहार बन्न नसकिने तर्क गर्नु भयो । उहाँले पशुहरूले आफ्नो धर्म छाडेका छैनन् भने हामी मानिसहरू पनि धर्म छाडा हुन हुँदैन भन्नुभयो ।
त्यस्तै, सोसाइटीका प्रवक्ता एवम् बौद्ध धर्म गुरु मीन गुरुङले स्वागत गर्दै उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले हामीले ‘सबैको मंगल होस्’ भन्ने नारा तय गरेका छौं भन्नुभयो ।
यसैगरी, सोसाइटीका केन्द्रीय सदस्य एवम् विज्ञान शिक्षक लक्ष्मीनन्दन ढकालले विज्ञानले समेत मानिस साकाहार प्राणी भएको सिद्ध गरेको विभिन्न उदाहरण सहित जानकारी दिनु भयो । उहाँले साकाहार प्राणी र मांसाहारी प्राणीमा दाँत, आन्द्रा आदिको बनोट समेत फरक भएको भन्दै मासु खानेको दाह्रा तिखा हुने आन्दा छोटो हुने उल्लेख गर्नु भयो । त्यस्तै, सबैभन्दा अग्लो जनाबर जिराफ, ठूलो जनावर हात्ती, छिटो कुद्ने जनावर घोडा तथा सय वर्षभन्दा लामो आयु भएको कछुवा आदि सबै साकाहारी भएको हुँदा साकाहार हुनु पर्ने तर्क गर्नु भयो । उहाँले घोडा(हर्स), विद्युतीय ईञ्जिनहरूमा मापन समेत हर्सपावरमा मापन कगर्ने गरिएबाट पनि साकाहारीहरू कमजोर हुँदैनन् भन्ने तर्क गर्नु भयो ।
लमजुङलाई आमन्त्रित सदस्य :
सोसाइटीको बन्द सत्रमा महासचिवले पेश गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्षले पेश गर्नु भएको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै निर्वाचन गरिएको थियो । नवनिर्वाचित समितिमा लमजुङले आमन्त्रित सदस्य पाएको छ । लमजुङ शाखाकी उपाध्यक्ष शारदा खनिया सो पदमा चयन हुनुभएको हो ।
अध्यक्षमा ऋषिराम सापकोटा पुनः चयन हुनुभएको छ भने उपाध्यक्षमा महेश पराजुली, महासचिवमा राममणि अधिकारी चयन हुनुभएको छ भने कोषाध्यक्षमा दुर्गा न्यौपाने, सचिव आनन्द दाहाल, सहकोषाध्यक्ष जयराम तिमिल्सिना हुनुहुन्छ । त्यस्तै समितिको प्रवक्तामा मीन गुरुङ, सदस्यहरूमा लक्ष्मी ढकाल, पृथ्वी पौडेल, शमशेर ढुंगाना र संगीता गौतम चयन हुनुभएको छ ।
उक्त अवसरमा नेपाल भेजिटेरियन सोसाइटीका विविध कार्यक्रममा सहयोग गर्ने नवज्योति जागरण आमा समूहलाई १० हजार नगदले सम्मान गरिएको थियो भने सो समूहका सदस्यहरूले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
प्रकाशित मिति २०८० श्रावण २८, आईतवार १५:४३ गते