सरकार रेमिट्यान्समा कहिलेसम्म रमाउला ? एक वर्षमा १२ सय बढी नेपालीले विदेशमा ज्यान गुमाए

सरकार रेमिट्यान्समा कहिलेसम्म रमाउला ? एक वर्षमा १२ सय बढी नेपालीले विदेशमा ज्यान गुमाए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ३० गते मङ्गलबार ०४:०९

वैदेशिक रोजगारीमा रहेकाहरू केहीको प्राकृतिक मृत्यु हुने गरेको भए पनि धेरैको तनाव, डिप्रेसन, सडक दुर्घटना, आत्महत्या, लगायतका कारण मृत्युवरण गर्न वाध्य छन् । धेरै तापक्रममा काम गर्ने अनि एकैचोटी न्यून तापक्रम भएको कोठामा बस्दा समेत धेरैले ज्यान गुमाउने गरेका छन् ।

रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रको सामाजिक मूल्य निकै महँगो बनिरहेको छ ।

काठमाडौं– वैदेशिक रोजगारीमा गएका एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा पछिल्लो एक वर्षमा ज्यान गुमाएका छन् । यो तथ्यले सरकार रेमिट्यान्समा कहिलेसम्म रमाउला ? भन्ने प्रश्न समेत टड्कारो बनाएको छ । गत आर्थिक वर्ष २०७९–८० मा वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएको साउन ३० गते खुलासा भएको हो ।
गत आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला रहेका थिए ।
वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले त्यस्तो खुलासा गर्नु भएको हो । उहाँका अनुसार गत आर्थिक वर्ष मृत्यु हुनेमा एक हजार १६३ जना पुरुष र ४५ जना महिला छन् । सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘सो अवधिमा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएकामध्ये ३४ जना महिला र ७८४ जना पुरुष गरी कुल ८१८ जनाको शव व्यवस्थापन (ढुवानी) गर्न दुई करोड ८५ लाख ८० हजार रुपैयाँ बोर्डले खर्च गरेको छ ।’
पौडेलले थप भन्नुभयो, ‘मृत्यु भएका व्यक्तिको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ ।’
यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न प्रकारका दुर्घटनामा परी अङ्गभङ्ग भएका तथा गम्भीर विरामी भएका ३८९ जनालाई पनि बोर्डले आर्थिक सहायता उपलब्ध गराएको सूचना अधिकारी पौडेल बताउनु हुन्छ । उहाँका अनुसार अङ्गभङ्ग तथा गम्भीर बिरामी भएकालाई नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको हो ।
उहाँले भन्नुभयो, ‘सोही अवधिमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको नेपालमा रहेका परिवारका ११२ जना सदस्यलाई स्वास्थ्य उपचार खर्च स्वरुप ५६ लाख रुपैयाँ प्रदान गरिएको छ ।’ छात्रवृत्ति सहायतास्वरुप गत वर्ष बोर्डले वैदेशिक रोजगारीका गएकाहरुको दुई हजार ९५७ जना छोराछोरीलाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ उपलब्ध गरेको सूचना अधिकारी पौडेलले उल्लेख गर्नुभयो ।
विदेशिक रोजगारीमा गएर विभिन्न कारणले अलपत्र परेका नेपाली कामदारको खोजतलास तथा उद्धारमा पछिल्लो एक वर्षमा ४३ लाख १० हजार आठ सय रुपैयाँ खर्च भएको बोर्डको भनाइ छ । यस्तै, विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउनको लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गराएको प्रतिवेदनमा अंकित भएको छ । रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रको सामाजिक मूल्य भने प्रतिदिन निकै महँगो बनिरहेको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरू केहीको प्राकृतिक मृत्यु हुने गरेको भए पनि धेरैको तनाव, डिप्रेसन, सडक दुर्घटना, आत्महत्या, लगायतका कारण मृत्युवरण गर्न वाध्य छन् । धेरै तापक्रममा काम गर्ने अनि एकैचोटी न्यून तापक्रम भएको कोठामा बस्दा समेत धेरैले ज्यान गुमाउने गरेका छन् ।
वैदैशिक रोजगारीमा जानेहरूलाई अभिमुखिकरण तालिमबापतको रकम गत वर्ष शोधभर्ना गर्दा तीन लाख ५४ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । ‘गत आर्थिक वर्ष समग्रमा कल्याणकारी कार्य अन्तर्गत ६ हजार ४६९ जनालाई आर्थिक सहायता स्वरुप कुल ८४ करोड ८० लाख १० हजार ७०० रुपैयाँ प्रदान गरिएको छ’ सूचना अधिकारी पौडेलले उल्लेख गर्नुभयो ।
यसैबीच, अन्तरङ्ग न्यूज डटकमलाई प्राप्त एक सरकारी एक तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा गएकामध्ये विगत आठ वर्षमा पाँच हजार आठ सय ३२ नेपाली बाकसमा फर्किएका छन् । ७८७ जना अङ्गभङ्ग भई घरमा फर्किएका छन् ।
यस प्रकार हजारौं सुन्दर सपना पूरा गर्ने उद्देश्यले विदेशीको भूमि पुगेका नेपाली युवायुवती बाकसमा फर्किने गरेका हुन् । आफू र आफ्नो परिवारको पेट पाल्नकै लागि विदेशिएका नेपालीले पठाएको रेमिटेन्सले नै देशको अर्थतन्त्र धानिएको छ । कोही अलिअलि धन कमाएर फर्किएका छन त कोही बाटोमै लुटिएर आएका समेत भेटिन्छन् । हरेक उपभोग्य सामग्री विदेशबाट आयात गरेर ‘परनिर्भर’ बन्नुपरेको देशमा केही वर्षयता लास आयात बढ्दो भनेर टिप्पणी हुन थालेको छ । बैदेशिक रोजगार प्रबद्र्दन बोर्डको तथ्यांक अनुसार विगत आठ वर्षमा ५ हजार ८ सय ३२ नेपाली बाकसमा फर्किएका छन् भने ७ सय ८७ जना अङ्गभङग भएर घर फर्किएका छन् ।

प्रकाशित मिति २०८० श्रावण ३०, मंगलवार १६:०९ गते
हजुरको प्रतिक्रिया