काठमाडौं– पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्ने आवाज उठिरहेका बेला नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विद्रोहको पुष्टि गर्दै सात तर्क अघि सानु भएको छ । उहाँले पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमार्फत भदौ ५ गते विभाजनको पुष्टि गर्नु भएको छ ।
विद्रोहबाट प्रतिगमन परास्त भएको दाबीसमेत गर्दै नेपालले भन्नुभएको छ, ‘हामीले मुलुकलाई प्रतिगमनको भुमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवाद विरुद्ध विद्रोह गरेका थियौँ । अर्को शब्दमा भन्नुपर्दा हामीले विद्रोह प्रतिगमनविरुद्ध गरेका थियौँ ।’ अध्यक्ष नेपालले ‘प्रतिगमन परास्त गरी जनवादी क्रान्तिका उपलब्धिका रूपमा रहेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधिसभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहको मुख्य लक्ष्य थिए ।’ भन्ने उल्लेख गर्नु भएको छ । उहाँले हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन्। यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ भन्ने दावी समेत गर्नु भएको छ ।
अध्यक्ष नेपालले आफ्नो दल र नेकपा एमालेबीचको भिन्नता पनि प्रतिवेदनमा समावेश गर्दै उल्लेख गर्नु भएको छ । सात फरक विषयमा एमालेभन्दा एकीकृत समाजवादी अग्रगामी रहेको दाबी अध्यक्ष नेपालले देखाउनु भएका सात भिन्नताहरू–
१. हामी २०६/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौँ भने एमाले यो मान्दैन ।
२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन।
३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन ।
४. हामी मार्क्सवाद– लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।
५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन ।
६. हामी समाजवादी कार्यदिशा अंगाल्ने भन्छौँ भने एमाले यो मान्दैन ।
७. हामी प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्त्वसँग सहकार्य गर्न चाहन्छ ।
सांगठनिक संरचना :
प्रतिवेदनमा नेपालले केन्द्रमा केन्द्रीय कमिटी, तीनवटा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद्, केन्द्रीय विभाग, प्रदेश तहमा भूगोलका सातवटा प्रदेश कमिटी र स्थानीय तहमा सतहत्तर जिल्ला कमिटी, अधिकांश पालिका कमिटी र आधाभन्दा बढी वडामा वडा कमिटी गठन भएको उल्लेख गरेका छन् । यसैगरी, गैरभूगोल क्षेत्रका विशेष प्रदेश कमिटी, विशेष जिल्ला कमिटी, सम्पर्क कमिटी, विशेष इलाका र सम्पर्क मञ्च तथा प्रवासमा समेत हाम्रो पार्टी फैलिएको उल्लेख छ । उपर्युक्त पार्टी कमिटीहरूका अतिरिक्त जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरूमा पनि ठूलो संख्या पार्टीका सदस्य एवं समर्थकहरू संगठित भएको नेपालले उल्लेख गर्नु भएको छ ।
नेपालले पार्टी चाहेअनुसार अगाडि बढ्न नसकेको स्वीकार गर्दै त्यसका कारण औंल्याउनु भन्नुभएको छ, ‘आत्मविश्वासको कमी छ, पार्टी सानो छ भन्ने लघुताभाष छ, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि छ, विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभाव र हाम्रो प्रचार कार्य कम भएको छ ।’ अब यस कमी कमजोरीहरूलाई हटाउँदै निराशालाई चिर्ने, आशा र उत्साह जगाउने, प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने खाँचो रहेको उहाँको भनाई छ ।
चीनको प्रसस्ती तर अमेरिकाको भने आलोचना :
यसैबीच, नेपालले आफ्नो प्रतिवेदनमा चीनको प्रसस्ती गाउनु भएको छ भने अमेरिकाको आलोचना गर्नु भएको छ । उहाँले साम्राज्यवादकै कारणले आजको अन्तर्राष्ट्रिय परिस्थिति तनावपूर्ण बनेको र शीत युद्धको समाप्तीपछि एकछत्र ठानिएको विश्व पूँजीवादी साम्राज्यवादले आफ्नै आन्तरिक आर्थिक सङ्कटहरूलाई व्यवस्थापन गर्न नसेको ठहर अध्यक्ष नेपालको छ ।
चीनको उदयले पश्चिमी मुलुकहरूको प्रभुत्वमा आधारित विश्व व्यवस्था हल्लिन थालेको तर्क गर्दै उहाँले अहिले साम्राज्यवाद हडबडाएको तर्क गर्दै भन्नुभएको छ, ‘अर्कोतिर आर्थिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा समाजवादी चीनले गरेको योजनाबद्ध विकास र अन्तर्राष्ट्रिय सहयोगले विश्वका कैयौँ मुलुकहरूका लागि नयाँ सम्भावनाका ढोका खुल्दै गएका छन् ।’ भन्दै राजनीतिक प्रतिवेदनमा चीनको प्रशंसा उहाँले गर्नु भएको छ ।
अध्यक्ष नेपालले अमेरिकाको आलोचना गर्दै भन्नुभएको छ, ‘चीनको उदयलाई रोक्न त्यसले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) बनाएको छ, क्वाड जस्ता गठबन्धन बनाएको छ, एमसीसीजस्ता संयन्त्रहरूलाई समेत पुनः परिभाषित गर्दैछ । ताइवानमा तनाव बढाउँदै छ, भारतलगायत यस क्षेत्रका अन्य देशहरूलाई नजिक्याउँदै छ । र, जसरी हुन्छ चीनको उदयलाई रोक्ने प्रयास गर्दै छ ।’
हालै अमेरिकाको क्याम्प डेविडमा अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिपक्षीय रणनीतिक साझेदारीको घोषणा गरिएको स्मरण पनि प्रतिवेदनमा गरिएको छ । यसले गर्दा एसिया विश्वव्यापी तनावको मुख्य क्षेत्र बन्दै गएको उहाँको तावी छ ।
साम्राज्यवादी तथा पुँजीवादी शक्ति राष्ट्रको हस्तक्षेपकारी कार्यका बावजुद चीनले समाजवाद निर्माणको कार्यदिशालाई अनवरत रूपमा अगाडि बढाइरहेको उहाँले उल्लेख गर्दै भन्नु भएको छ । ‘विकासशील राष्ट्रहरूसँग बहुपक्षीय र दुईपक्षीय सहयोग अभिवृद्धि गर्दै चीनले विश्व शक्ति सन्तुलनमा नयाँ गति दिन प्रयत्न गरिरहेको छ ।’ उहाँले राष्ट्रपति सी चिनपिङको नेतृत्वमा चीनले अर्थव्यवस्थालाई अझ बढी उत्पादक तथा जनमुखी बनाउन प्रयन्त गरिरहेको विश्वास व्यक्त गर्नु भएको छ ।
चीन एउटा विश्व शक्ति भइसकेको र केही वर्षमा संसारकै ठूलो आर्थिक शक्ति बन्ने उहाँले तर्क छ । भारत पनि आर्थिक विकासको दर, प्राकृतिक स्रोतको प्रचुरता, सस्तो श्रम आदि कारणले गर्दा भविष्यको एउटा मुख्य आर्थिक शक्ति बन्ने उहाँको भनाइ छ ।
चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दै छ भन्ने जिकिर गर्दै अध्यक्ष नेपालको शब्दमा चीन अहिले अमेरिकी नेतृत्वको विश्व पुँजीवादी दुनियाँमाथि चुनौती खडा गरेको समाजवादी मुलुक हो । सम्पूर्ण पुँजीवादी दुनियाँ अहिले चीनको उदयलाई रोक्न आर्थिक, राजनीतिक, कूटनीतिक, सामरिक तथा जासुसी उपायहरू केन्द्रित गरिरहेको छ ।
नेपालले पार्टी चाहेजसरी अघि बढ्न नसकेको स्वीकार गर्नु भएको छ । प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र पार्टीलाई एउटा असल क्रान्तिकारी कम्युनिष्ट पार्टीको रूपमा अगाडि बढाउने ठोस योजना र दृढ अठोटका साथ अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति २०८० भाद्र ५, मंगलवार २१:१८ गते