
पुरानो सिनामंगल(काठमाडौं)– मनोहरा साहित्य समाज पुरानो सिनामंगलको ८० औं काव्यशृङ्खलाका साथमा मुक्तक संग्रह ‘पर्ततकिन्नरी’को विमोचनका साथ सम्पन्न भएको छ । ग्लोबल पब्लिक स्कूलको सभा हलमा आयोजित सो कार्यक्रम भदौ ९ गते भएको हो ।
प्रमुख आमन्त्रितमा गजलका मसीहा ज्ञानुवाकर पौडेल तथा विशेष आमन्त्रितमा समालोचक/कवि कृष्ण प्रधान हुनुहुन्थ्यो । सो अवसरमा पर्वत जिल्ला पैंयुँ निवासी शर्मिला कार्की ‘शरु’को मुक्तक सङ्ग्रह ‘पर्वतकिन्नरी’को मञ्चासिन व्यक्तित्वहरूबाट उक्त कीर्तिको विमोचन गरिएको थियो । विमोचित कीर्तिकाबारेमा विशेष व्यक्तित्व कृष्ण प्रधानले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
विमोचनका लागि शर्मिला कार्कीले मनोहरा साहित्य समाज र यसका विभिन्न सदस्यहरूलाई, प्रमुख आमन्त्रित र विशेष आमन्त्रित लगायत सम्पूर्ण उपस्थितमा हार्दिक धन्यवाद अर्पण गर्नुभएको थियो भने ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की, ज्येष्ठ नागरिक समाजका अध्यक्ष वसन्तराज कार्की, गीतकार रमेश कार्की र दामोदर न्यौपाने र कृष्ण मर्सानीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सभाध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्यका साथै एक श्लोक कविता वाचनबाट उद्घाटन गरिएको रचनावाचनमा विभिन्न व्यक्तित्वबाट आ–आफ्ना रचना वाचन गरिएको थियो । रचना वाचकहरूमा– खोलाघरे साहिंलो, लीलाराज दाहाल– लघुकथा ‘सम्मान’, अनुराग अरूण– मुक्तकहरू, टी. पी. बराकोटी, रचना दाहाल– गद्यकविता, भोजराज मुखाले– मुक्तकहरू, रवीन्द्र आशीष शैली– कविता ‘एक निमेष समय’, पार्वती भट्ट– देउडा २ हरफ गाएर थप केही देउडा वाचन, शम्भु गजुरेल– ‘मृत बाँदर’ तोटकमा, निर्मलरमण पराजुली– ५ वटा मुक्तक, टीएन भट्ट विश्वामित्र ‘कवि १,२,३,४,५’, अविरल साहित्य यात्राका रुद्र अधिकारीद्वारा ४ मुक्तकहरू, गणेश खतिवडा– ३ वटामुक्तक– भुजङ्गप्रयात, उपजाति र अनुष्टुपमा, बुद्धिसागर पौडेल– मुक्तक, रत्ननिधि रेग्मी– जाउँ अब बेलैमा चाइना रेलैमा … व्यंग्यगीत गायन गर्नु भयो ।
यसैगरी, भुवन शिवाकोटी चौघरे– गद्यकविता, मधुसूदन लामिछानेले ‘व्यथा छ चर्को’ इन्द्रवज्रा, उपजातिमा, अप्सरा पोख्रेल– गजल, दिल पौडेल– ‘मुर्रा राँगा’ गद्यकविता, नूरदेव खनाल ‘किसानको गुनासो’ तीज गीति लयमा, रमेश कार्की– शुभकामना र ‘आऊ बैनी फर्केर, दुख्छ यो छाती चर्केर …. तीज गीत, सूर्यप्रसाद डुम्रे– संस्मरण र कवितारहेका थिए । त्यस्तै, शिवराम खँडका, डा. योगेन्द्र अधिकारी, पुष्पा खनाल अधिकारी, विष्णु थापा विछोड, शर्मिला पोख्रेल, उषा चापागाईं, रेखा चापागाईं, युनिशा कार्की, देवज्ञ अधिकारी, देव्यानी अधिकारी, नागेन्द्रप्रसाद आचार्य, नमराज घिमिरे शिखर, पवन कार्की, कपिल अर्याल लगायत ६५ जना स्रष्टाको सहभागिता र प्रस्तुतिबाट कार्यक्रम निकै रोचक रहेको थियोे ।
उक्त स्कूलको सभाहलमा भएको सो कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभएको थियो । संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विमोचित कीर्तिका स्रष्टा मुक्तककार शर्मिला कार्कीले धन्यवाद मन्तव्य अर्पण गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० भाद्र ११, सोमबार ०७:४२ गते