पाँच सय रुपैयाँको लगानीमा सुरु गरेको केरा खेतीबाट रेशमले गाउँलेलाई समेत आत्म निर्भर बनाउँदै

पाँच सय रुपैयाँको लगानीमा सुरु गरेको केरा खेतीबाट रेशमले गाउँलेलाई समेत आत्म निर्भर बनाउँदै

नवराज पहाडी

@antaranganews

२०८० भदौ ११ गते सोमबार ०३:५१

‘मलाई सानो पाठी चाहिन्छ’ भन्दै जिद्धि कसेर आजका दिनमा बाबु– आमालाई बाख्रा पालकको समेत पहिचान दिने छोरी रेणुका ऐले बेसीशहर स्थित भूपू सैनिक बोर्डिङको कक्षा– ९ मा अध्ययनरत रहिछन् ।

सुरुका दिनमा यो पेशा प्रति के कसरी रुचि जाग्यो र लाग्नु भयो ? भन्ने जिज्ञासामा रेशमले ठट्टा गर्दै भन्नुभयो, ‘खान नपाएर ।’

भाचचोकबेसी(लमजुङ)– विगतको ३० वर्ष अघिदेखि कृषि पेशामा चुर्लुम्म डुबेका एक किसानले पछिल्ला वर्षमा लगाएको केरा खेतीले आफू व्यवसायिक किसान बनेका मात्र नभई गाउँलेलाई समेत केरामा आत्म निर्भर बनाउनेतर्फ प्रेरणाको स्रोत बन्नु भएको छ । उहाँ गाउँघरमा रेशम नामले चिनिने लमजुङको बेसीशहर नगरपालिका– १० को भाच्चोकबसी निवासी रुद्रबहादुर थापा हुनुहुन्छ ।
सुरुका दिनमा भैंसी पालन व्यवसाय अपनाएका रेशमले पछिल्ला वर्षमा भने केरा खेती र बाख्रा पालन व्यवसाय उनको रोजाइमा परेको छ । २०४९ सालमा एक भैंसी र तीनवटा खसी बोकाबाट किसानी पेशा अंगाल्नु भएका उहाँ भैंसीको स्याहारमा समय दिन नसकेको हुँदा भैंसी घटाएर केरा खेती र बाख्रा पालन गरेको बताउनु हुन्छ । त्यसो त उहाँको घरमा किराना पसल र मिल समेत छ ।
उहाँको यो पेशालाई उहाँकी श्रीमती सुमित्रा थापाले पनि भरपुर सहयोग गर्दै आउनु भएको छ । उहाँको बाख्रा फार्ममा यो पंक्तिकार पुग्दा सुमित्रा २, ३ वटा सुत्केरी बाख्रा र स– साना पाठापाठीको स्याहार गर्दै हुनुहुन्थ्यो । उहाँका अनुसार पहिले पहिले खसीमात्र पाल्ने गरेका थियौं । पछि, कान्छी छोरी रेणुका हुर्कदै गर्दा उसले ‘मलाई सानो पाठी चाहिन्छ’ भन्ने जिद्दी गरी त्यसैले यौटा पाठी ल्याइयो । त्यसैबाट बढ्दै बढ्दै ऐले यतिका बाख्रा भएका हुन् । उहाँले भन्नुभयो, ‘हामीले बाख्रामा खासै लगानी गरेनौं, ऐले साना ठूलो गरेर गोठमा ४२ वटा बाख्राका माउ पाठा छन् ।’ ‘मलाई सानो पाठी चाहिन्छ’ भन्दै जिद्धि कसेर आजका दिनमा बाबु– आमालाई बाख्रा पालकको समेत पहिचान दिने छोरी रेणुका ऐले बेसीशहर स्थित भूपू सैनिक बोर्डिङको कक्षा– ९ मा अध्ययनरत रहिछन् ।
सुरुका दिनमा यो पेशा प्रति के कसरी रुचि जाग्यो र लाग्नु भयो ? भन्ने जिज्ञासामा रेशमले ठट्टा गर्दै भन्नुयो, ‘खान नपाएर ।’ उहाँका अनुसार त्यसताका बजारमा दूध बेच्ने चलन सुरु भइसकेको थिएन । ती दिन सम्झदै उहाँले भन्नु भयो, ‘दूधबाट घिउ बनाएर बेचिन्थ्यो र खसीबोकाको मासु ।’ उहाँले थप भन्नुभयो, ‘मैले नै मासु घिउ बेच्न थालेपछि प्रति माना घिउ दुई सय रुपैयाँ र मासु एक सय १० रुपैयाँ बनाएको हुँ ।’ उहाँका अनुसार गाउँघरमा त्यो बेलामा तेलमासम्म लिटरको चलन थियो, नभए अन्य वस्तु सबै माना पाथीमा बिक्री गरिन्थ्यो । मासु पनि त्यस अघिसम्म भाग लगाएर बेच्ने चलन थियो । ‘माना पाथी विस्थापित गरेर ढक तराजुको प्रवन्ध गर्ने म नै पहिलो व्यक्ति हुँ’ उहाँले गर्वका साथ सुनाउनु भयो ।
यतिबेला घिउको मूल्य प्रतिमाना एक हजार र दूध प्रति लिटर ८० रुपैयाँ छ भन्ने उहाँले जानकारी दिनुभयो ।
त्यो बेलामा भैंसी पालन सुरु गर्दा १३ हजार पाँच सयमा किनेर ल्याएको मुर्रा भैंसी ऐले भए एक लाख ३० हजार पथ्र्यो– बाट पेशाको थालनी गरेको रेशमले बताउनु भयो । त्यही यौटा भैंसीबाट बढाउँदै बढाउँदै लगेर १० वटासम्म पुर्याएँ । जत्ति गरेपनि सरकारबाट पनि प्रोत्साहन भएन र काम गर्न गाह्रो भएको हुँदा बाख्रा बढाए , केरा खेती थालेँ । ऐले दूध खानका लागि यौटामात्र भैंसी पालेको छु पसल र मिल चलिरहेको छ रेशमले जानकारी दिनुभयो ।
यतिबेला रेशमको मात्र हैन बेसीभाचोक गाउँका सबै घरमा ४– ६ बोट केराको बोट भेटिन्छन् भने ३– ४ जनाले व्यवसायिक रुपमै केरा खेती सुरु गरेका छन् । बेसीभाचोक गाउँमा ७२ घर रहेका उहाँको भनाइ छ । बेसीभाचोक गाउँका चन्द्रबहादुर घिमिरे र सुकबहादुर गुरुङले एक रोपनीभन्दा बढी जग्गामा केरा खेती सुरु गर्नु भएको छ ।
रेशमले सुरुमा झापाली मनभोग जातको केरा लगाएको जानकारी दिनु भयो । त्यसमा रोग लाग्यो र राम्रो फल दिएन । त्यसलाई मासेर पाँच वर्ष अघि रोग कम लाग्ने केरा पोखराको लामाचौरमा ससुराली जाँदा त्यहँको कृषि कार्यालयबाट प्रतिगोटा ५० रुपैयाँका दरले पाँच सयमा १० वटा विरुवा किनेर ल्याएको उहँले बताउनु भयो । उहाँका अनुसार १० वटा विरुवा ल्याएकोमा सात वटा मात्र हुर्के । पछि त्यसैबाट बढाउँदै बढाउँदै लगेर ऐले करिब तीन रोपनी जग्गामा लगाएको छु । दिनको एक घरी केरा पाकोस् भन्ने उद्देश्यले आफूले चार सय बोट केरा लगाएको उहाँले उल्लेख गर्नुभयो ।
अहिलेको यो केराको जात झापाली मालुवासँग वन केरामा क्रम गराइएको पोखरेली जात हो रेशमले भन्नुभयो । उहाँका अनुसार वन केरासँग क्रस गरिएको हुँदा खासै रोग लाग्दैन । उहाँले भन्नुभयो, ‘यसको कोसा पनि पाकेको एक सातासम्म रहन्छ, केही हुँदैन ।’ त्यसैले यो केरा मन प¥यो उहाँ बताउनु हुन्छ । केराको बोट अलिक अग्लो हुने भएको हुँदा गत वर्षको चैतमा भने ठूलो हुरी बतास आएको बेलामा भरखर पसाएका केरा ८० बोट जति नोक्सान गर्यो भन्ने दुखेसो गर्नु भयो । गुनासो शैलीमा उहाँले भन्नुभयो, ‘बीमा गर्नु पर्ने रहेछ, गरिनँ । निकै नोक्सान सहन गर्नु पर्यो ।’
केरोको बजारका बारेमा राखिएको जिज्ञासमा उहाँले भन्नुभयो ‘कुनै समस्या छैन आजका दिनसम्म ।’ एक घरीमा पाँच सय १७ कोसासम्म फलेको पाइएको उहाँले जानकारी दिनुभयो । जत्ति भए पनि घरबाटै बिक्री हुन्छ । दर्जनको कसरी दिने चलन छ ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘दर्जन भन्दा पनि एक काइयोमा १५ वटा कोसाभन्दा माथि २० वटासम्म हुन्छ । कोसा जति भए पनि एक सय रुपैयाँ हो प्रति काइयाको ।’
रेशमले केराको विरुवाप्रति आफ्ना गाउँलेलाई प्रति गोटा २० रुपैयाँमा दिने गरेको बताउनु भयो । ‘केराको विरुवा उखेल्ने भाइले प्रतिगोटा १५ रुपैयाँ लिन्छ, हामी पाँच रुपैयाँ लिन्छौं, गाउँलेले आफै उखेलेर लग्ने भए भने पाँच रुपैयाँमा पाउँछन्’ उहाँले भन्नुभयो । उहाँका अनुसार एक हजारभन्दा माथिकै संख्यामा केराका विरुवाहरू विक्री भयो होला ।
गोडमेल, मलजलका बारेमा राखिएको जिज्ञासामा ‘हिउँदका दिनमा गोडमेल गर्छु । मल भने, मलखादबाटै पुग्ने गरेको छ ।’ उहाँले भन्नुभयो, ‘भैंसीको पिसाव र गोबरग्यासको लेदोलाई पाइपबाट अलिक तल केरोबारीको बीचसम्म पु¥याएको छु अन्य मल प्रयोग गर्ने गरेको छैन ।’ उहाँले परोक्ष रुपमै आफ्नो केरा अर्गानिक उत्पादन भएको पुष्टि गर्नु भयो ।
यतिको राम्रो काम(कृषि पेशा) गर्नु भएको व्यक्तिले त सरकारी अनुदान पाउनु भएको होला ? के कति पाउनु भएको छ कृषि, भेटनरीबाट ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘हामी जस्ता मान्छेका लागि पनि हुन्छ र अनुदान ?’ भन्दै प्रति प्रश्न गर्नुभयो । ‘दश थरीका कागज पु¥याउँदै हैरान हुन्छ बरु त्यसको आशै नगर्यो ढुक्क’ गुनासो शैलीमा उहाँले सुनाउनु भयो ।
४२ वटा बाख्रा पाल्ने किसान, तीन रोपनीभन्दा बढीमा केराको व्यवसायिक खेती गर्ने, कुनै दिन १० वर्षसम्म दुधालु भैंसी पाल्ने व्यक्ति(किसान)ले पनि अनुदान नपाए कस्ले पाउँछ होला ? धन्य छ हाम्रो देशको कृषि प्रणाली र कर्मचारीतन्त्र ?’ जस्ता प्रश्नहरू आफ्नो मनमनै खेलाउँदै यो पंक्तिकार रेशमको केराबारीबाट आफ्नो कार्यालयतर्फ फर्कियो ।

प्रकाशित मिति २०८० भाद्र ११, सोमबार १५:५१ गते
हजुरको प्रतिक्रिया