काठमाडौं– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनको अघिल्लो दिन भदौ १२ गते काठमाडौँ आउने क्रममा अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी यहाँ आएको बताइएको छ । करीब ७० करोड डलरको एमसीसी परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्यामरुन अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको १३ गते घोषणा गर्ने तयारी गरिएको छ ।
आयोजनाहरूको ठेक्काको प्रक्रिया र जग्गा अधिग्रहणका सूचना प्रकाशित गर्ने क्रम शुरु भएको छ ।
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि हस्ताक्षर भएको एमसीसी कम्प्याक्टको एमओयूअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ । नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने छ ।
सो घोषणा सँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनु पर्नेछ सहमति छ ।
सो सम्झौतामा नेपालको सदनबाट पारित हुनुपर्ने उल्लेख भएपछि विवाद उत्पन्न भएको थियो । लामो समय विवादमा फसेको एमसीसी नेपालको संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जाने भएको हो ।
नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्रीसहित दलका नेताहरूलाई भेट्न कार्यक्रम समेत रहेको बताइन्छ ।
यसैबीच, नेपालको नेतृत्वदायी भूमिका रहेको एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । उसले भनेको छ, ‘नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो । यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए– नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ ।’
दूतावासले एमसीसी सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेको पनि जनाएको छ ।
‘एमसीसी परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सञ्चालक समितिको बैठकले ‘इन्ट्री इन्टु फोर्स’को मिति तय गरेको थियो । एमसीएको बोर्डमा पर्यवेक्षक रहेका एमसीसीका प्रतिनिधि पनि सकरात्मक भएपछि लेटर अफ एक्सचेन्ज’ मार्फत एमसीसी कार्यन्वयनको घोषणा हुन लागेको हो,’ उच्च कूटनीतिक स्रोतले भन्यो, ‘त्यसका लागि एमसीसीको मुख्यालयबाटै परियोजना अघि बढाउँदा हुन्छ भन्ने सकारात्मक सन्देश आएको थियो ।’
यसअघि गत जुलाईको दोस्रो साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु पनि नेपाल आएका थिए ।
एलर्फोडले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित एमसीसी र अन्य परियोजना तथा स्थानीय सांस्कृतिक महत्वका क्षेत्रमा भ्रमण गर्नेछन् ।
उनी फर्किएलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भएको छ ।
उनी १५ भदौमा कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको छ ।
को हुन् क्यामरुन ?
एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष अल्फोर्ड आर्थिक वृद्धिमार्फत गरिबी घटाउनका लागि एमसीसीको हस्ताक्षर अनुदान लगानी वाहक सबै कम्प्याक्टहरूको निरीक्षण गर्छन् । अल्फोर्डले निजी र सार्वजनिक क्षेत्रमा २० वर्षभन्दा लामो समय काम गरिसकेका छन् ।
उनी फेब्रुअरी, २०२१ देखि अप्रिल, २०२२ सम्म एमसीसीको उपाध्यक्षसँगै जनरल काउन्सिल र कर्पोरेट सेक्रेटरी हुनुका साथै, कानुनी र नीतिगत मामिलाहरूको निर्देशक बोर्ड र वरिष्ठ व्यवस्थापनका सल्लाहकारको भूमिकामा समेत काम गरेका थिए ।
त्यसअघि उनले अमेरिकी बैंकमा अन्तर्राष्ट्रिय बैंकिङका लागि वरिष्ठ सल्लाहकारका रूपमा काम गरेका थिए । यस भूमिकामा उनले ग्लोबल बैंकिङ समूहलाई कानुनी समर्थन र नीति निर्देशन गर्ने गर्थे ।
अमेरिकी बैंकमा काम गर्नुअघि अल्फोर्डले अमेरिकी सरकारको विकास वित्त संस्था ओभरसीज प्राइभेट इन्भेस्टमेन्ट कर्पोरेशनका महत्वपूर्ण भूमिकाहरूमा काम गरेका थिए ।
यो क्षेत्रमा आउनुअघि उनले अल्फोर्ड अन्तर्राष्ट्रिय कानूनी फर्म ‘जोन्स डे’मा वकीलको रूपमा काम गरेका थिए ।
स्मरणीय छ, गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ गतेलाई कार्यान्वयन मिति तोकेको थियो ।
अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लागेको छ । अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।
सहयोगका नाममा चीनलाई घेराउ गर्ने योजना स्वीकार्य हुन्न : माधव नेपाल
उता, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीमा केही अनुचित कुराहरू बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गर्नु भएको छ । समाजवादी मोर्चाले बुटवलमा आज आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताउनुभएको हो ।
‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । एमसीसीलाई आईपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौँ, त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’ नेता नेपालले भन्नुभयो ।
नेता नेपालले नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गरेको भन्दै त्यसमा नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको उल्लेख गर्नुभयो । नेता नेपालले भन्नुभयो, ‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ, अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’
एमसीसी : अहिलेकै अवस्थामा कार्यान्वयन हुन दिन्नौं : विप्लव
यसैगरी, अर्का कम्युनिष्ट नेता नेत्रविक्रम ‘विप्लव’ले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा कार्यान्वयन हुन नदिने बताउनु भएको छ । बुटवलमै भएको समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने प्रधानमन्त्री प्रचण्ड सामु बताउनु भएको हो ।
उहाँले ‘नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौँ। नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर सर्तसहितको सहयोग हामीलाई चाहिँदैन । समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’ उल्लेख गर्नु भयो । नेता विप्लवले देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन मोर्चा बनेको जिकिर गर्दै आफूहरूमा सरकारमा जाने लोभ नभएको दावी गर्नु भयो । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने भएको उहाँको धारणा थियो ।
प्रकाशित मिति २०८० भाद्र १२, मंगलवार २०:२२ गते