मेयर बालेनद्वारा चीन भ्रमण नैतिकताको आधारमा स्थगितको घोषणा

मेयर बालेनद्वारा चीन भ्रमण नैतिकताको आधारमा स्थगितको घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १४ गते बिहिबार ०७:१६

मेयर बालेनले लेख्नु भएको छ, ‘नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

चीनले नेपाली भू–भाग भारतको भनी नक्शा निकालेको विरोधमा भ्रमण रद्द

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन सरकारको निमन्त्रणामा लागि आज तय भएको पाँचदिने चीन भ्रमण स्थगित गर्नु भएको छ । मेयर साहले आफूहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको बेवास्ता गर्दै चीनले नेपाललाई नै नसोधी ती भू–भाग भारतको भनी नक्शा निकालेका कारण आफूले भ्रमण स्थगित गरेका भदौ १४ गते जानकारी दिनु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेले चीनको सो कदमप्रति आपत्ति व्यक्त गर्नु भएको छ । नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम हो बालेनले उल्लेख गर्नु भएको छ ।
उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको छ । त्यसै सन्दर्भमा चीनले भदौ ११ गते मात्रै भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । चीनले उक्त नयाँ नक्सालाई ‘२०२३ को चीनको स्टान्डर्ड नक्सा’ बताएको छ ।
उता, भारतले चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको दावी गर्दै आएको छ ।
दुई देशबीच सीमा क्षेत्रलाईलाई लिएर बेलाबेलामा विवाद हुँदै आइहेको छ ।
यसअघि, दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सीमा विवादबारे छलफल भएको बताइएको थियो ।

प्रकाशित मिति २०८० भाद्र १४, बिहीबार १९:१६ गते
हजुरको प्रतिक्रिया