जनैपूर्णिमा एवम् रक्षाबन्धन पर्व उल्लासपूर्वक मनाइयो

जनैपूर्णिमा एवम् रक्षाबन्धन पर्व उल्लासपूर्वक मनाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १४ गते बिहिबार ०८:०३

आज पनि दानवी शक्तिबाट रक्षित हुन वा हामी आफ्नो मन बिचलित नहोस, सधैं सत्कर्ममा मन गईरहोस, बिधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछौं ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावल । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

लमजुङ– प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीले जनैपूर्णिमा पर्व उल्लासपूर्वक मनाउने गर्दछन् । सोही क्रममा विश्वभर छरिएर रहेका तागाधारी हिन्दूहरूले आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व उल्लासपूर्वक भदौ १४ गते मनाइएका छन् ।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित र मन्दिरका पुजारीको हातबाट जनै फेर्ने र रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन भदौ १४ गते, २०८० सालको जनै पूर्णिमा । यस दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने कार्य गरिको हो ।
येन बद्धो वलीराजा दानवेन्द्रो महावल ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
यसको नेपाली भाषामा अर्थ हुन्छ, ‘जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँद्धछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्ने छ ।’
सत्य यूगमा दानवद्वारा लखेटिएका देवगणहरूलाई बचाउन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलिराजलाई बाधि देवगणहरूको रक्षा गरेका थिए । त्यसरी नै म तिमीलाई बाद्धछु सुरक्षित होऊ, बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा रक्षा बन्धन बाध्ने प्रचलन चलि आएको छ । सत्य यूगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो । त्यसैगरी आज पनि दानवी शक्तिबाट रक्षित हुन वा हामी आफ्नो मन बिचलित नहोस, सधैं सत्कर्ममा मन गईरहोस, बिधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछौं ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ ।
आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधिदिनाले मृत्यु पश्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेको छ ।
शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नु पर्ने र त्यसको समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
प्रायः पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गछौं । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनैपनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
यसै दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

प्रकाशित मिति २०८० भाद्र १४, बिहीबार २०:०३ गते
हजुरको प्रतिक्रिया