पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानन्यायाधीश समेत भएको उदघोष गर्नु भएको छ । ललिता निवास प्रकरणमा मुछिनु भएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको यहाँ आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उहाँलाई सीआईबीले निर्दोष सावित गरेको दावी गर्दै अब प्रश्न उठाउने ठाउँ रहेन भन्नु भएबाट भदौ १५ गते त्यस्तो पुष्टि भएको हो ।
लोकतन्त्रको मुल मर्म तथा सिद्धान्त शक्तिपृथकीकरणको समेत धज्जी उठाउँदै सभाको अन्तिममा सम्बोधन गर्नु भएका प्रचण्डले माधव नेपाललाई निर्दोष नै करार गर्नु भएको हो । ‘माधवजी यहीँ हुनुहुन्छ, उहाँको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो ? भन्ने भइराख्यो, उहाँ अहिले निर्दोष हो भन्ने साबित भइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘माधवजीको बारेमा पनि धेरै प्रश्नहरू उठे, के हो ? कसो हो ? भनिराखे, पहिलोचोटी अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो ।’ निर्दोष सावित भइसकेपछि अब प्रश्न उठाउने ठाउँ नै नरहेको र नेपाल निर्दोष सावित भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डले उल्लेख गर्नु भयो । उहाँले थप भन्नुभयो, ‘औपचारिक ढंगले सावित भयो, अब प्रश्न उठाउने ठाउँ रहेन । किनभने सीआईबीले अन्ततः के हो के हो ? भनेर बयान त लियो । बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखितरूपमा दिएपछि सधैँको टेन्सन सकियो । माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि ? भन्ने आशंका रहेको भन्दै उनले भने, ‘अब त्यो स्थिति रहेन ।’
त्यसो त, उहाँले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने र दोषीहरूलाई कारबाही हुने दोहोर्याउँदै भ्रष्टाचारविरुद्धको अभियान थालनी गर्दा सरकार दबाबमा रहेको समेत उल्लेख गर्नुभयो । ।
उहाँले थप भन्नुभयो, ‘विभिन्न प्रश्न उठाइएको छ, प्रचण्डले खुट्टा कमाउँछ होला, अन्तिममा भ्रष्टचारीहरूलाई त्यत्तिकै रफादफा गर्छ होला । आफ्ना मान्छेलाई चाहिँ बचाउँछ, अर्कालाई मात्रै पार्छ भन्ने भ्रमहरू धेरै छर्न कोसिस भएको तपाईंले सुन्नुभएको होला, मैले के भनेको छु भने यो अभियान सानो मनले, विचारले, उद्देश्यले महाअभियान सुरु गरिएको होइन ।’
उहाँले प्रहरीदेखि सेक्युरिटी फोर्स, अनुसन्धान विभाग सबैलाई निष्पक्ष, निःस्वार्थरूपमा काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
सुन काण्डमा माओवादीका नेताहरूको नाम पनि जोडिएको र सीआईबीको प्रतिवेदनमा पनि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोराको नाम उल्लेख भएको स्मरण गर्दै सीआईबीले पक्राउ नगरेर, बयान नलिएर त्यत्तिकै बस्दा जनतामा भ्रम पर्न गएको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘प्रतिवेदनमा नाम उल्लेख गरिदिने, त्यसपछि जनतालाई भ्रममा पार्ने, अनि सरकारलाई अप्ठ्यारोमा पार्ने आफू गिरफ्तार पनि नगर्ने बयान लिन पनि नबोलाउने । के गर्न खोजेको हो भन्ने सन्दर्भमा मैले भनेको छु, दोषी छ भने जोसुकै किन नहोस्, माओवादी, कांग्रेस, एमाले, समाजवादी कोही नछुटून् ।’
अध्यक्ष नेपालसँग सिआइबीले गत भदौ ३ गते बयान लिएको थियो । मन्त्रिपरिषदका नीतिगत निर्णयमा पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्रीहरू नेपाल र बाबुराम भट्टराईका निवासमै गएर सिआइबीले ललिता निवास जग्गा प्रकरणबारे बयान लिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणपछि एमालेले लगातार सदन अवरुद्ध गरेको विषयमा एमालेलाई कटाक्ष गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘भारत भ्रमणको बारेमा त्यत्रो ठूलाठूला कामहरू भए । तपाईंहरूले सदनमा हेर्नुभयो भने मलाई सकेसम्म एकथरि साथीहरूले बोल्नै नदिने । मैले यो गरेर आएको हुँ भन्नै नदिने । त्यत्रो पावर ट्रेड एग्रिमेन्ट भएको छ, त्यो सुन्नै नचाहने । सिमानाको समस्या हल गर्ने प्रतिबद्धता भएको छ सुन्नै नचाहने । पञ्चेश्वरको त्यत्रो परियोजना अगाडि बढ्दै छ भन्नै नदिने, बोल्नै नदिने र मुर्रा भैँसीमा संकुचित गर्ने, बद्नाम गर्ने हर्कत भए ।’
सो सभामा नेताहरूले प्रधानमन्त्री प्रचण्डको प्रशंसालाई प्राथमिकता दिएका थिए । सुरुमै सम्बोधन गरेका जसपाका थापाले अन्तिममा त पोखरा–काठमाडौं सडक बनाउन प्रचण्ड सरकारले प्रयास गरिरहेको भनेर तरिफ गर्न भुल्नु भएन ।
नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाकै कारण गणतन्त्र आएको र ठूलो उपलब्धि प्राप्त भएको दावी गर्दै भन्नुभयो, ‘यसको पछाडि यहाँ कमरेड प्रचण्ड हुनुहुन्छ, माधव नेपाल हुनुहुन्छ र हामी सबै छौँ । यो नेतृत्व पंक्ति र यसकै वरिपरिबाट नै यो देश यहाँसम्म आएको साँचो हो ।’
विप्लवले सम्बोधन क्रममा राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको तर त्यो सफल हुन दिइने छैन भन्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले साहसिक कामहरू गरेको र आफूहरूले स्वागत गरेको, समाजवादी मोर्चा नेपाल गठन इतिहासको एउटा आवश्यकता हो उहाँको तर्क थियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोलेर प्रशंसनीय काम गर्नुभएको छ भन्नुभयो ।
‘सरकारमा, संसद्मा र सडकमा क्रियाशील हुने संकल्पका साथ यो समाजवादी मोर्चा बनाएर अगाडि बढेका छौँ । कसैले पनि यसलाई नकरात्मक रूपमा लिन जरुरत छैन, सुन्ने गर्छु यो मोर्चा बनाएपछि पार्टीहरू विलीन हुने छन् । हाम्रै पार्टीमा पनि कतिपयलाई लाग्याछ माओवादीमा विलीन हुने हो कि ? भनेर । म हाम्रा कार्यकर्तालाई भन्न चाहन्छु, आफ्नो पार्टीलाई बलियो बनाउनुहोस् । समाजवादी मोर्चालाई गतिशील बनाउनुहोस् ।
स्मरणीय छ, संसद्मा ५४ सिटको गणित बनाएको समाजवादी मोर्चाबारे अनेकौँ चर्चा भइरहेको छन् । मोर्चाबारे सत्ता टिकाउने संयन्त्रदेखि पार्टी एकताको आधारका रूपमा व्याख्या भइरहेको छ । यसको आयुभने भोलिका दिनले नै निर्धारण गर्नेछन् ।
प्रकाशित मिति २०८० भाद्र १६, शनिबार ०८:४३ गते