बेसीशहर– लमजुङ अस्पतालको व्यवस्थापन समितिले आफ्नो स्वामित्वमा रहेको जग्गाको खोजबिन सुरु गरेको छ । सेवा विस्तारको क्रममा रहेको अस्पतालले पुरानो भवन जीर्ण भई नयाँ मात्र नभई आधुनिक र सुविधा सम्पन्न बनाउनु पर्ने चुनौति थपिएसँगै जग्गाको खोजबिनमा अस्पताल व्यवस्थापन समिति जुटेको हो ।
लमजुङ अस्पताल यतिबेला प्रदेश सरकार मातहतमा आएको एक वर्ष हुने क्रममा छ । समितिको सक्रियताका कारण सरकार मातहतमा जानासाथ यो निकम्बा हुन्छ भन्दै प्रचार गर्नेहरूको मुखमा यतिबेला बुजो लागि रहेको छ । लमजुङ अस्पताल व्यवस्थापन समितिको निरन्तरको खटाईले त्यो सम्भव भएको हो । अस्पताललाई सरकारी घोषणा गर्दै गर्दा त्यो समयमा प्राप्त सेवा सुविधालाई घट्न नदिइने प्रतिवद्धता व्यक्त गरिएको थियो । सरकारको घोषणा कहिले, के पो पुगेको छ र ? यो पुग्छ ? भन्ने कतिको धारणा थियो र प्रचारसमेत त्यसै अनुरुप हुन थाल्यो ।
तर लमजुङ अस्पतालको व्यवस्थापन समितिले आफ्नो कामबाट सरकार मातहतमा आएको वर्षदिन नहुँदै आम अनुमान तथा गलत भ्रमहरू चिर्न सफल हुँदै आएको छ ।
लमजुङ अस्पतालको मातहतमा दुई कित्ता गरी रहेको स्वामित्व अनुसार किनं ८२ मा २६ रोपनी, एक आना आठ दाम रहेको छ भने किनं ८३ मा सात रोपनी, चार आना एक दाम क्षेत्रफल रहेको देखिन्छ । तर त्यस जग्गा भित्र स्वास्थ्य कार्यालय लमजुङ र नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखा कार्यालय भवनसमेत सञ्चालनमा रहेको पाइएपछि अस्पताल व्यवस्थापन समितिले गत जेठ महिनाको अन्तिम सातामा ‘जग्गा खोजबिन तथा एकिन समिति’ गठन गरी जग्गा खोज्ने काममा जुटेको हो । व्यवस्थापन समितिका सदस्य वासु थापाको संयोजकत्वमा समिति गठन गरी जग्गा छानबिन थालेको अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी आदि कार्यालयको समेत प्रतिनिधि रहेको पाँच सदस्यीय समितिले उक्त जग्गा अस्पताल मातहतमा ल्याउनका लागि प्रयास गरेको सो समितिका संयोजक थापाले बताउनु भयो ।
थापाका अनुसार समितिले स्वास्थ्य कार्यालय र रेडक्रस शाखालाई पत्राचार गरी प्राप्त जवाफी पत्रका आधारमा प्रतिवेदन बनाई व्यवस्थापन समितिका अध्यक्षलाई पेश गरिसकेको छ । उहाँले भन्नुभयो, ‘अब थप कदम चाल्ने तयारी हुँदैछ ।’ आफ्नो स्वामित्वको जग्गा आफैले उपभोग गर्न पाउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो थापाले बताउनुभयो ।
यसबारेमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा सम्पर्क गर्दा शाखालाई १३ आना, तीन पैसा, दुई दाम क्षत्रफलको जग्गा २०४५ चैत ३ गतेका दिन तत्कालीन श्री ५ को सरकार सचिवस्तरीय निर्णयबाट स्वामित्व अस्पतालमै रहने गरी ब्लड बैंक सञ्चालनका लागि दिइएको रेकर्डमा देखिन्छ रेडक्रस शाखामा निवर्तमान अध्यक्ष दीपक बरालले बताउनु भयो । उहाँका अनुसार त्यो बेलामा भवन निर्माण गरी ब्लड बैंक सञ्चालनमा पनि ल्याइएको हो तर रगत कम खपत हुने र खर्च बढी हुने हुँदा करिब डेढबर्ष सञ्चालन गरी खर्च व्यवस्थापन गर्न नसकेकै कारणले ब्लड बैंक बन्द गर्नु परेको हो, हाल स्टोर सहितका कार्यालय सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, ‘रगत आवश्यक पर्दा करि डेढ सय व्यक्तिको ब्लड ग्रुप समेतको रेकर्ड राखिएको छ र आवश्यक पर्दा ती व्यक्तिहरूलाई बोलाएर तत्कालै रगत दिन लगाई खाँचो पूर्ति गर्ने गरिएको छ ।’
यतिबेला रेडक्रस भवन जीर्ण पनि भइसकेको छ । अब १, २ वर्षभन्दा बढी त्यो भवन चल्दैन पनि होला । अस्पतालको सेवा समेत विस्तार हुने चरणमा रहेकोले आफ्नो जग्गा अफैलाई चाहिने भएको हुँदा हामीले प्रोसेस अघि बढाएका हौं लमजुङ अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनुभयो । उहाँका अनुसार रेडक्रस गैरसरकारी संस्था हो, जिल्ला अदालतको हातामा बनाइएको बाल हेरचाह केन्द्र पनि त सर्दैछ । त्यसैले रेडक्रसले पनि समयमै विकल्प खोजोस् भन्ने हाम्रो आग्रह हो तामाङले भन्नुभयो ।
यसैगरी, स्वास्थ्य कार्यालयले पनि मन्त्रालय यौटै हो, भन्दैमा अस्पतालको जग्गा कब्जा गर्न वर्तमान कानुन अनुसार पनि मिल्दैन । हिजो को कहाँ थियो ? भन्नु को अर्थ रहन्न । उहाँहरू(स्वास्थ्य कार्यालय)ले पनि समयमै विकल्प खोज्दा हुन्छ । कुनै दिन रेडक्रसको त्यही भवनमा भाडा तिरेर पनि त उहाँहरू बसेकै हो तामाङले उल्लेख गर्नु भयो । उहाँले थप भन्नुभयो, ‘जिल्ला सदरमुकाम यहाँ आउँदा अग्रजहरू त्यो बेलामा जुन सोच र योजनाका साथ अस्पतालका लागि ३५ रोपनी जग्गा छुट्याउनु भयो, आजको आवश्यकता त्यो जग्गा पनि कम हुने स्थितिमा छ तर पनि उहाँहरूको त्यो दुरदर्शिताको सम्मानका लागि पनि अस्पतालले आफ्नो जग्गा आफैले उपभोग त गर्नु पर्यो नि !’
प्रकाशित मिति २०८० भाद्र १७, आईतवार १०:४४ गते