काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साहले भदौ १६ गते साँझको एक घट्नाले पञ्चायतकालको झल्को दिने काम गरेका छन् । उनको त्यो रबैयाले अब उनी साहबाट शाह बन्ने तयारीमा रहेको अडकलबाजी हुन थालेको छ ।
नागरिकले मतमार्फत गरेको विद्रोहको प्रतीक मानिन्छन् मेयर बालेन साह । तर उनलाई गैरकानुनी हरकत गर्ने छुट भने छैन र हुन सक्दैन । जति उपल्लो पद, उति उपल्लो जवाफदेही विधिको शासन(लोकतन्त्र)को सामान्य नियम हो ।
पछिल्ला समयमा राजनीतिक दल र तिनका नेताहरूले देश हितको काम गरेनन् निजी स्वार्थमा मात्र लागे त्यसैले राजतन्त्रको पुनःस्थापना हुनुपर्छ भन्ने स्वरहरू उठ्न थालेका छन् । यस्तो समयमा मेयर बालेन साह अब शाह हुने तयारीमा जुटेको अड्कलबाजी गरिन थालेको छ । मेयर भएपछि बानेल साहले केही राम्रा काम गरेर बाहबाही कमाएका उनको यो हदको हरकदले उनी अब नेपालको संविधानभन्दा माथि (पञ्चायतकालमा राजा र राज परिवारजस्तै) भएको प्रतीत हुन गएको छ ।
भदौ १६ गते शनिबार राति पौने ९ बजेतिर ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरको नियमित जाँच चलिरहेको थियो । त्यहीवेला बालकुमारीबाट कोटेश्वरतर्फ आउने सर्भिस लेनमा सरकारी नम्बर प्लेटको गाडी देखेपछि ड्यूटीमा रहेका प्रहरीले रोके ।
नियमित जाँचका क्रममा गाडी रोकेर सोधपुछ गरिएको थियो । त्यसमाथि सरकारी गाडी बिदाको दिन चलेपछि पास भए÷नभएको बारे सोधिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताउनु भयो । उहाँका अनुसार सोधपुछ अघि त्यो गाडी काठमाडौं महानगरपालिकाको भएको जानकारी थिएन । चालकले परिचय पत्र देखाउँदै पछाडि मेयर बालेन शाह पत्नी सविना काफ्ले रहेको बताए । सोधपुछपछि ट्राफिक प्रहरीले महानगरको गाडी छाड्यो ।
जब मेयर पत्नी काफ्ले घर पुगिन्, बालेनले ट्राफिक प्रहरीले रोकेको थाहा पाए । त्यसपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा राति साढे ९ बजे ‘आपत्तिजनक’ अभिव्यक्ति लेखे :
‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
आफ्नो स्वास्थ्य उपचार र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराएर फर्किने क्रममा राति ९ बजे कोटेश्वरमा प्रहरीले दुर्व्यवहार गरेको शाहको सचिवालयले भनेको छ । सचिवालयले यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिई समाचार सम्प्रेषण गरेको भन्दै खेद प्रकट समेत गरेको छ । प्रहरीलाई कर्तव्यपालन गर्न सुझाइएको छ ।
मेयर साहले पुत्री लाभ भएको समाचारमा समेत आउन दिएनन् । त्यो समाचार बन्दा उनलाई त्यत्रो घाटा हुने त केही थिएन होला, तर त्यो पनि कति दिन लुकाउन सके बालेन साहले ?
अर्को अहम् सवाल छ, महानगरको गाडी मेयर नचढेको समयमा उनकी श्रीमतीले चढ्न पाउने ऐन, नियम पारित गरेको छ महानगरले ? उनी कानुन नै मान्नु नपर्ने र व्यक्ति हुन् ?
एउटा चर्चित भनाइ नै छ, अवसर नपाउँदा सबै सदाचारी हुनसक्छन्, तर अवसर पाएपछि पनि स्रोत–साधनको दुरुपयोग नगर्ने मानिस मात्र सदाचारी हो ।
महात्मा गान्धीले आफ्नो डेरामा दुई वटा ढेब्रि(दियो) राखेका हुन्थे र निजी काममा निजी पैसाले किनेको तेल राखेको दियो बाल्ने र सरकारी काम गर्दा सरकारी पैसाले किनेको तेल राखेको दियो बल्ने गर्दथे भनिन्छ । सच्चा र इमान्दार जनप्रतिनिधिले गर्ने भनेको त्यही हो र बालेन पनि त्यो बाटोमा हिड्दैछन् भन्ने आम अड्कल थियो । तर उनले सर्वसाधारणको त्यो विश्वासमा तुषारापात गराउन पुगेका छन् ।
बुद्धले भनेका छन्– अहंकार कमजोर मानिसको हतियार हो । राजनीतिशास्त्रमा सामान्य विषय हो कि अहंकारले व्यक्तिवाद हुँदै फासीवादको यात्रा गर्छ ।
बालेनको त्यो शैली सबैले संविधानभन्दा माथि हुने चाहना बाहेक अर्थात साहबाट शाह हुन खोज्नु होइन ? भन्न नसकिने आधार देखिदैन उनका सुभचिन्तकहरू समेत बताउँछन् ।
बालेन साहको भनाइ प्रहरीद्वारा खन्डन ;
यसैबीच, मेयर बालेन शाहले आफ्नी श्रीमती चढेको गाडी प्रहरीले रोकेकोबारे दाबी गरेको दुइटा विषय सिडिओ र प्रहरीले खन्डन गरेका छन् । सुत्केरी अवस्थामा रहेकी सविना काफ्ले सवार गाडीलाई राति प्रहरीले जाँच क्रममा रोकेको बारे मेयर बालेनको सचिवालय जारी गरेको विज्ञप्तिमा मानवीय संवेदनशीलता ख्याल नराखी गाडी करिब ७ मिनेट सडक किनारामा राख्न लगाएको उल्लेख छ । तर यी दुवै तथ्य सम्बन्धित अधिकारीहरूले खण्डन गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले मेयर पत्नी सवार सरकारी गाडीले बिदाको दिनमा चलाउने अनुमति नलिएको बताउनु भएको छ । उहाँले सार्वजनिक बिदाको दिन सवारीसाधनको पास बोक्न अनिवार्य हुने बताउनु भएको छ ।
‘तैपनि मेयर पत्नी सवार गाडीलाई सामान्य सोधपुछपछि नै छाडिएकाले त्यहाँ पासको विषय नै भएन,’ प्रजिअको थप भनाई छ ।
त्यस्तै गाडी सात मिनेटसम्म रोकेको भन्ने बालेनको भनाइ पनि ट्राफिक प्रहरीले खण्डन गरेको छ । बालेनको सचिवालयले भनेजस्तो सात मिनेट गाडी रोकेको र अनावश्यक केरकार नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी पोषराज पोखरेलले बताउनु भएको छ । उहाँका अनुसार मेयर पत्नी सवार गाडी जाँचको क्रममा तीस सेकेन्डदेखि बढीमा साढे १ मिनेटसम्म मात्रै रोकिएको दाबी पोखरेलको छ ।
उक्त गाडी राति ८ः५० बजेतिर नियमित जाँचमा परेको र ड्युटीमा खटिएका प्रहरीले कुनै पनि किसिमको अनावश्यक प्रश्न नसोधेको पनि उहाँको भनाइ छ । ड्युटीमा खटिएका प्रहरीले महानगर प्रमुखको गाडी चिन्ने कुरा पनि नहुने उनले बताउँदै मेयर बालेन साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा ड्युटीमा मादक पदार्थ सेवन, सुपारीजन्य पदार्थ खाएर हप्काइ दप्काइको व्यवहार गरेको पनि उल्लेख छ । यदि यस्तो गतिविधि भएको भए, यस्ता गतिविधि गर्नेलाई प्रहरीले कारबाही गर्दै आएको डिआइजी पोखरेल बताउनु हुन्छ ।
बालेन दम्पतीकी ९ दिनअघि मेडिसिटी अस्पतालमा छोरीको जन्म ः
उता, मेयर बालेन साह पत्नी सविना काफ्ले दम्पतीको एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई मेडिसिटी अस्पतालमा जन्म दिएकी हुन् । तर, जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ । अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको छ । बच्चा अस्पतालमै राखेर सविनालाई दुई दिनअघि नै डिस्चार्ज गरिएको हो । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ ।
मेयर बालेन साहको फेसबुक स्टाटसले तत्कालीन नवयुवराज पारस शाहको झल्को दिएको पाइन्छ । नेपालमा लामो समय राजतन्त्र चल्यो । अन्तिम राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह अन्तिम राजकुमार थिए । राजतन्त्रको अन्त्यपछि पारस पूर्वराजकुमारमा सीमित भइसकेका थिए । उनीमाथि ड्युटीमा रहेका प्रहरीले रोकेर जाँच गरे जुन उनीहरूको घोषित दायित्व हो ।
तर, कुनै बेला देशको कानुन र संविधानमाथि रहेर ‘प्रजा’माथि शासन गरेका पूर्वराजकुमारलाई प्रहरी जाँच पचेन । उनले भने, ‘जाँच अघि तिमीहरूले म को हुँ भन्ने चिन्नुपर्छ/जान्नुपर्छ ।’ अर्कालाई कर्तव्य पालनाबारे सम्झाउने व्यक्ति आफूले कर्तव्यको पालना गर्नु पर्दैन ?
देशमा लोकतन्त्र आएको धेरै भइसकेको छ । यसबीचमा मर्स्याङदी लगायतका नदीमा धेरै पानी बगिसकेको छ । नेपालमा अहिले राजाको शासन पनि छैन ।
सिंहदरबारका धेरै समस्या छन् । बालेनलाई मात्र होइन, सिंहदरबार र यसका मातहत निकायबाट सेवा पाउन नसकेका लाखौं नेपालीलाई यससँग रिस छ ।
पारसले ट्राफिक उल्लंघन गरेको त्यो क्षण … : केही देशमा प्रधानमन्त्रीले पनि तिरेका छन् :
यसैबीच, सरकारी सुविधाभोगी वर्गले बिदाका पिकनिक, घुमफिर मोजमस्तीका निम्ति सरकारी साधन दुरुपयोग भएपछि रोक्ने कानुनी नियम लामो समयदेखि लागू भएको छ । गाडी नियम कडाईका साथ पालना नहुँदा केही वर्षअघि युवाहरूले सरकारी गाडी रोक्दै चाबीसमेत खोस्न थालेका थिए ।
ललितपुरको जावलाखेलतिरबाट काठमाडौंतर्फ हुँइकिएको बा १४ प २१३१ नम्बरको गाडी कुपन्डोल ट्राफिक लाइटमा रातो बत्ती बलिरहेकै अवस्थामा नरोकी दौडियो । त्यसो त, उक्त गाडी जावलाखेल क्षेत्रमै तीव्र गतिमा दौडिएको देखिएपछि प्रहरीले समाउन खोजे पनि सकेन । कुपन्डोलमा रहेका ट्राफिकलाई खबर गरियो तर त्यहाँ पनि उक्त गाडी रोकिएन त्यो घट्ना २०७५ जेठ २८ गतेको हो ।
थापाथलीबाट माइतीघरतर्फ जान लागेको उक्त गाडी रोकियो । गाडी रोकिएपछि चालक सिटबाट सीसा तल झारेर एक व्यक्तिले ट्राफिकलाई सोधे– ‘ह्वाट ह्यापेन्ड ?’ ट्राफिक प्रहरीले चेकिङ भइरहेको भन्दै डकुमेन्ट्स मागे । चालकले सहजै उपलब्ध गराए ।
डकुमेन्ट्स चेक गर्ने क्रममा ट्राफिकले ‘गाडीको नम्बर प्लेट राम्रोसँग नदेखिएको’ बताएपछि चालक ओर्लिएर पुछ्न थाले । त्यसबेलासम्म त्यहाँ जम्मा भएका मोटर साइकलवालाले ‘पारस शाह’, ‘पारस शाह’ भनेर चिच्याउन थाले ।
नम्बर प्लेट पुछेर गाडीमा बसेका पारस शाहले आफ्नो डकुमेन्ट फिर्ता मागे । प्रहरीले जवाफ दिए– एकछिन लाग्छ । फेरि केही बेरपछि पारसले त्यसैगरी डकुमेन्ट मागे प्रहरीको जवाफ थियो– एकैछिन समय लाग्छ ।
त्यसपछि रिसाएका पारस ट्राफिकसँग आक्रोशित हुँदै भने, ‘तैँले मलाई चिन्नुपर्छ ।’
पारसले आफ्नो डकुमेन्ट छाडेर माइतीघरतर्फ लागे । पछि उनका सहयोगी आएर जरिबाना बुझाएर डकुमेन्ट लगे । त्यसबेला नियम उल्लंघन गरेवापत पाँच सय रुपैयाँ जरिबाना गराइएको थियो ।
ट्राफिक नियम उल्लंघन गर्ने छुट कसैलाई नभएको ललितपुर ट्राफिक प्रमुख बताउछन् ।
पूर्वयुवराज पारस शाहले ट्राफिकसँग अर्को लफडा गरेका थिए । २०७८ साउन १५ गते हेलमेट नलगाई मोटरसाइकल चलाएका उनले मोटरसाइकल रोक्न नमानेपछि प्रहरीले शाह चढेको मोटरसाइकलको साँचो थुतेको थियो । लामै समय भनाभन भइरहेका बेला प्रहरीका माथिल्लो निकायका अधिकारीले छाडिदिन भनेर निर्देशन दिएपछि त्यसबेला भने प्रहरीले बिना कारबाही छाडिदिइएको थियो ।
त्यतिमात्रै होइन मन्त्री चढेको गाडीले नियम उल्लंघन गरेपछि ट्राफिक कारबाहीमा पनि परेका घटना छन् । २०७६ भदौ ११ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ चढ्ने गरेको गाडी कारबाहीमा परेको थियो ।
फुटपाथमा रोकेर राखिएको मन्त्री चढ्ने गाडी बा २ झ ४८६२ नम्बरको गाडी कारबाहीमा परेको थियो । पहिले ह्वील लकमात्रै गरिए पनि पछि चालकलाई एक हजार रुपैयाँ जरिबाना गरेर छाडिएको थियो ।
शनिबार बिदाको दिन नियमअनुसार सरकारी सवारी साधन चलाउन पाइँदैन । प्रहरी, दमकल र एम्बुलेन्सलाई भने छुट छ । त्यो बाहेकका सरकारी सवारी साधन चलाउनुपरेमा प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्छ ।
लामो समयदेखिको यो नियम भए पनि कडाई भने पछिल्लो समयमा बढी गरिँदै आएको हो ।
जहाँ प्रधानमन्त्रीले तिरेका छन् ट्राफिक प्रहरीलाई जरिबाना :
ट्राफिक प्रहरीले मेयरकी श्रीमती चढेको सरकारी गाडी रोकेको विषयले नेपालमा चर्चा पाइरहँदा केही सम्झनलायक भीभीआईपी व्यक्तित्वहरू कारबाहीमा परेका अन्तर्राष्ट्रिय घटनाहरू समेत छन् ।
गत जनवरीको यो घटनामा बेलायती प्रधानमन्त्रीको कार्यालय नम्बर १० ले कमजोरी स्वीकार गर्दै सुनकले माफी मागेको पुष्टि गरेको थियो । बेलायतमा चलिरहेको गाडीमा सिटबेल्ट नबाँध्दा सयदेखि पाँच सय पाउण्ड जरिबाना हुने कानुन छ ।
केही दिअघि मात्रै क्यानडाकी अर्थमन्त्री एवम् उपप्रधानमन्त्री क्रिस्टिया फ्रील्यान्डले तीव्र गतिमा गाडी चलाएपछि दुईसय अमेरिकी डलर जरिबाना तिरेकी छन् । रोयटर्सका अनुसार असस्टमा उनले दुईसय अमेरिकी डलर जरिबाना तिरेकी थिइन् ।
त्यस्तै, केही समयअघि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलिरहेको गाडीमा सिटबेल्ट नबाँधेको भिडियो खिचेपछि उनी ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए । त्यसपछि बेलायतका प्रधानमन्त्री सुनकले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका थिए ।
केही महिनाअघि बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिकलाई गति लिमिटको उल्लंघन गरेको अथवा तोकिए भन्दा तीव्र गतिमा गाडी चलाएपछि उनलाई गाडी चलाउन ६ महिना प्रतिबन्ध लगाइएको थियो । उनले १६३९ पाउण्ड जरिबानासमेत तिरका थिए ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले केही वर्षअघि हेलमेट नलगाएरै नम्बर प्लेट नभएको मोटरसाइकल चढ्दा माफी माग्नुपरेको थियो । माफी मात्रै हैन, प्रधानमन्त्री पदमै रहेका बेलाको यो घटनामा उनले कानुन अनुरुप झण्डै ११ अमेरिकी डलर जरिबानासमेत तिरेका थिए । – विभिन्न एजेन्सीको सहयोगमा ।
प्रकाशित मिति २०८० भाद्र १८, सोमबार ०९:४४ गते