एमाले लुम्बिनी अधिवेशन : प्यानल बनाएर मत माग्दै उम्मेदवारहरू

एमाले लुम्बिनी अधिवेशन : प्यानल बनाएर मत माग्दै उम्मेदवारहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १९ गते मङ्गलबार १०:१८

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध हुनु भएको छ । उहाँ अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा हुनुहुन्थ्यो ।

प्रदेशको यो अधिवेशनमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा झनै पेचिलो बनेको छ ।

बुटवल– नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनले नेतृत्वका चयनको लागि हुन लागेको निर्वाचनमा पदाधिकारीमा दुई प्यानल देखिएका छन् । पार्टीका अध्यक्ष केपि ओलिको समहति गर्नु भन्ने निर्देशनको अवज्ञा गर्दै प्यानलसहितको निर्वाचन भदौ १९ गते विहान सुरु भएको हो ।
निर्वाचन हिजै साँझ ८ बजे गरिने भनिएको थियो । तर तयारी नपुगेका कारणले आज विहानका लागि मतदान सारिएको थियो । यहाँ स्थित अन्तर्राष्ट्रिय सभाहलमा निर्वाचन जारी छ । कुल १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने तालिका छ ।
प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ । सहमतिको प्रयास भन्दै चारदिन लम्बिएको अधिवेशन अन्ततः निर्वाचनमै जानु पर्ने स्थिति बन्यो । त्यसपछि उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।
पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिवमा १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गर्नु भएको छ । उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन रहेको छ । योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत कँडेल र रिजाल पक्षमा विभाजित भएको देखिन्छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा खुलेर लाग्नु भएको छ ।
सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध हुनु भएको छ । उहाँ अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा हुनुहुन्थ्यो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिनु भएको छ ।
महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिनु भएको छ । त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिको उम्मेदवारी छ । २०० जना सदस्यका लागि ३०५ जनाले उम्मेदवारी दिएका छन् ।
भदौ १६ गतेदेखि सुरु भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै १८ गते दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो । सहमति जुट्न नसकेपछि हिजो साँझ सातबजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा हुन सकेन । त्यसपछि राति १० बजे सूचना गरेर आज बिहान ८ बजेका लागि समय सारिएको हो ।
स्मरणीय छ, लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा झनै पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति २०८० भाद्र १९, मंगलवार १०:१८ गते
हजुरको प्रतिक्रिया