संस्कृतिसदन माविद्वारा ७२ औं वार्षिकोत्सवमा जिल्लास्तरीय कविता प्रतियोगिताको तयारी

संस्कृतिसदन माविद्वारा ७२ औं वार्षिकोत्सवमा जिल्लास्तरीय कविता प्रतियोगिताको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २१ गते बिहिबार ०९:०३

जिल्लास्तरीय बृहत् कवि सम्मेलनका साथ गरिने सो प्रतियोगिता देश, काल परिस्थितिको चपेटामा परेर आधुनिकताका नाममा आएका अनेक थरी विकारका कारण हाम्रा यी अमूल्य छन्दहरू लोपै हुन्छन् कि ! जस्तो देखिन थालेको हुँदा यो प्रतियोगिताको आयोजन गरिएको प्रायोजक पूर्वप्रअद्वय खनिया र पौडेलले बताउनु भएको छ ।

सो माविका पूर्वप्र.अ. द्वय देवेन्द्रप्रसाद खनिया, शिवराज पौडेलद्वारा प्रायोजन गर्नु हुने कविता प्रतियोगिताको शीर्षक ‘मेरो देश, नेपालीको देश’

दुराडाँडा(लमजुङ)– संस्कृति सदन मा. वि. अर्चल्यानी दुराडाँडाले आफ्नो ७२ औं वार्षिकोत्सवको पावन अवसरमा जिल्लास्तरीय बृहत् कवि सम्मेलन गर्ने भएको छ । आउँदो कार्तिक १८ गते सो गोष्ठी हुने तयारी गरिएको हो ।
उक्त प्रतियोगिता सो माविका पूर्व प्रधानाध्यापक द्वय देवेन्द्र खनिया र शिवराज पौडेलको विशेष रुचि तथा उहाँहरूकै प्रायोजनमा आयोजना गर्न लागिएको सो माविका प्रधानाध्यापक शिवशंकर तिवारीले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा पहिलो पुरस्कार– १० हजार, दोस्रो पुरस्कार– ६ हजार पाँच सय, तेस्रो पुरस्कार– तीन हजार पाँच सय र सान्त्वना पुरस्कार दुई हजार रुपैयाँका साथमा प्रमाण पत्र प्रदान गरिने छ । उहाँले भन्नुभयो, ‘यो कविता प्रतियोगितामा कुनै पनि लमजुङ पुख्र्याैली थलो हुने, हाल जहाँ, जता वसोवास भएको भएता पनि भाग लिन सक्ने प्रवन्ध छ ।’

कविता प्रतियोगिताका लागि शीर्षक र सर्त :
कविता प्रतियोगिताका लागि शीर्षक ‘मेरो देश, नेपालीको देश’ भन्ने दिइएको प्रअ तिवारीले बताउनु भयो । उहाँका अनुसार कविताहरू अधिकतम ४१४ अक्षरसम्म विस्तारित हुन सक्ने छन् । यो सीमा दिइएका अङ्क जोड्दा पूर्णांक ९ हुने गरी राखिएको हो ।
तोकिएको सर्तमा रचना गरिएका छन्दोबद्ध कविताको मात्र मूल्यांकन गरिने आयोजकको भनाइ छ । प्रतियोगी कविताको मूल्यांकन गर्दा शीर्षक अनुकूलको मूल भाव, छन्दका नियमको पूर्ण परिपालना, भाषिक शुद्धता र साहित्यिकता, प्रस्तुतीकरण वा वाचनकला, यी चारवटा पक्षलाई विशेषम महत्व दिइनेछ । तोकिएको म्याद वा सर्त नाघी प्राप्त भएका कवितालाई प्रतियोगितामा समावेश गरिने छैन प्रायोजक मध्येका खनियाले जानकारी दिनुभयो ।
नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएको हुनाले यसमा बढी मात्रामा संस्कृतमा रहेका विशेषताहरू मिल्दा जुल्दा रहेका पाइन्छन् । खासगरी संस्कृतका ग्रन्थ, पुराण, काव्य आदिमा प्रयोगमा ल्याइएका अनुष्टुप्, उपजाति आदि अनेक प्रकारका छन्दको उपयोग गरी कविता रचना गर्न सकिने मूलभूत विशेषतालाई नेपाली भाषाले जोगाइ राखेको प्रतित हुन्छ सो माविका पूर्वप्रअ खनिया बताउनु भएको छ ।
उहाँका अनुसार संस्कृतबाट विकसित मानिएका अन्य भाषाको दाँजोमा यस भाषामा छन्दोबद्ध रचना गर्न सकिने विशेषताहरू अधिक मात्रामा पाइन्छन् । संस्कृतमा मुख्यतः श्रीमद्भागवतको बाह्रौं स्कन्ध अध्याय १३ मा लेखिए अनुसार १८ पुराणहरूमा ४ लाख, महाभारतमा १ लाख २५ हजार, रामायणमा २४ हजार, देवीभागवतमा १९ हजार समेत गरी जम्मा ५ लाख ६८ हजार श्लोकहरू रहेका छन् । अझ नीतिपद्य र अन्य ग्रन्थका छन्दोबद्ध श्लोकको संख्या त गनिसाध्य छैन, कति हो कति छन्दोबद्ध रचनाहरू छन् । संस्कृतको विशालताको अनुसरण नेपाली भाषाले पनि गरेकाले यहाँ पनि अनेक काव्यहरू छन्दमा नै रचिएका पाइन्छन् खनिया बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, ‘श्रृंगार, करुण, हास्य आदि रसै रसले भरिएका अनि अनेक विम्ब, प्रतीक र अलङ्गार आदि सौन्दर्य तत्वले परिपूर्ण अमूल्य छन्दोबद्ध रचनाहरू संस्कृतमा विद्यामान छन् । यस्तो समृद्ध पौराणिक साहित्य लोपै हुन्छ कि जस्तो अवस्था देखिन थालेको छ । यिनै छन्दसागरबाट निस्केका रत्नको उपयोग गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरे आदिले नेपाली भाषामा छन्दमा नै अनेक सुन्दर कृति रचना गरेर कहिल्यै ननासिने सम्पत्ति हामीलाई जिम्मा लगाई नासोस्वरूप छाडेर जानु भएको छ ।’
यसैगरी, देश, काल परिस्थितिको चपेटामा परेर आधुनिकताका नाममा आएका अनेक थरी विकारका कारण हाम्रा यी अमूल्य छन्दहरू लोपै हुन्छन् कि ! जस्तो देखिन थालेको अनुभूति हुन थालेको अर्कापूर्व प्रअ पौडेलले दुःखेसो गर्नु भयो । उहाँका अनुसार संस्कृतको अध्ययन अध्यापन हुने संस्कृत मावि र महाविद्यालयमा छन्दोबद्ध विषय र तिनका शास्त्रीय सिद्धान्तको अध्ययन अध्यापन हुने गरेको भए पनि अन्य विद्यालयका पठ्यक्रममा बहुतै निम्न अंशमा मात्र रहेको स्थितिलाई ध्यानमा राख्दै यो प्रतियोगिताको आयोजन गरिएको हो ।
यो भनिरहँदा छन्दोबद्ध रचनाहरू बाहेक अरू रचनाको अपमान गर्न खोजेको कत्ति पनि होइन । तर, छन्दोबद्ध कविताहरू नै हाम्रो संस्कृति र मर्यादामा खरो उत्रिएका र जुनसुकै विषय पनि छन्दमा रचना गरएिको छ भने पढ्दा आनन्द लाग्ने, कण्ठस्थ गर्न सजिलो हुने र स्मृतिमा लामो समयसम्म टिकिरहने भएकाले यसको मूल्यवत्ता उच्च रहेको हो । छन्दको मान्यता पनि भिन्नै छ । छन्दको यही महनीय पक्षलाई उच्च स्तरमा स्थिर बनाइराख्ने मूल ध्येयले यो बृहत् कवि सम्मेलन गर्ने विचार आएको हो । त्यसैले यो लमजुङ जिल्लास्तरीय बृहत् कवि सम्मेलनको रुपमा तयारी गरिएको हो प्रअ द्वय खनिया र पौडेलले उल्लेख गर्नु भएको छ । ह
कवि सम्मेलनको संहिता :
उक्त बृहत् कवि सम्मेलन प्रतियोगितात्मक छन्दोबद्ध कविता महोत्सव हो । यस सम्मेलनमा शास्त्रीय छन्दमा नेपाली भाषामा रचित छन्दोबद्ध कवितालाई मात्र प्रतियोगी कविताका रूपमा समावेश गरिनेछ । छन्ददेखि भिन्न लोकगीत, आधुनिक गीत, गजल र गद्य कविता प्रतियोगितामा समावेश गरिने छैन । यस कवि सम्मेलनमा यिनलाई वाचनका लागि पनि स्थान दिइने छैन आयोजकको भनाइ छ ।
उक्त प्रतियोगितामा भाग लिन कविता आइपुग्नु पर्ने अन्तिम आगामी असोज १० गते निर्धारण गरिएको छ ।
उक्त कविता महोत्सव आउँदो कार्तिक १८ गते सम्पन्न गर्ने तयारी छ ।

प्रकाशित मिति २०८० भाद्र २१, बिहीबार ०९:०३ गते
हजुरको प्रतिक्रिया